काठमाडौं- बीवाईडीका गाडी राम्रा भए पनि नियत भने ठीक देखिएको छैन। विद्युतीय सवारीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको बीवाईडीले साना र कमजोर मुलुकमा सवारी निर्यात गर्दा केही घृणित काम गरिरहेको पाइएको छ।
बीवाईडीले चीनमा उत्पादिन विद्युतीय कार निर्यात गर्दा त्यसमा चीनकै टेलिकम कम्पनीको सिम कार्ड राख्ने गरेको पाइएको छ।
बिजनेस न्युजले नेपालमा आयात भएका बीवाईडीका विद्युतीय कारमा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड राखेर ल्याएको तथ्य सार्वजनिक गरेको छ। यस्तै काम इजरायलमा पनि भइरहेको पाइएको हो।
इजरायलको एक सञ्चार माध्यमका अनुृसार बीवाईडीले त्यहाँ बिक्री गरेको विद्युतीय कारमार्फत महत्वपूर्ण व्यक्तिहरूको डेटा चोरी गरिरहेको उल्लेख गरेको छ। त्यसरी डेटा चोरी गरेको पाइएपछि त्यहाँको रक्षा मन्त्रालयले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीका कार प्रयोग नगर्न निर्देशन दिइसकेको छ।
बीवाईडीले इजरायल पठाएका गाडीमा ‘इन बिउल्ड’ सिम कार्ड राखेर पठाएको र त्यसबाट आफ्ना देशका नागरिकको प्रत्यक्ष डेटा जस्तै लाइभ लोकेसन, अडियो तथा भिडियोलगायत सिधै चीन गइरहेको छ। यसले नागरिक र सुरक्षा निकायका अधिकारिकहरूको डेटा चीन गइरहेकाले बीवाईडीका गाडी प्रयोग नगर्न रक्षा मन्त्रालयले भनेको हो।
चिनियाँ कम्पनी बीवाईडीका विद्युतीय गाडी प्रयोग नगर्न इजरायल रक्षा बल (आईडीएफ)ले निर्देशन दिएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार बीवाईडीका गाडीमा जडान गरिएको सञ्चार प्रणाली र सेन्सरमार्फत संवेदनशील डेटा चोरी भएको हुनसक्ने र हुने जोखिमका कारण यस्तो निर्णय गरिएको उल्लेख गरेका छन्।
यसअघि साइबर सुरक्षा विज्ञहरूले पनि चिनियाँ बीवाईडीका गाडीहरू जासुसीका उपकरणका रूपमा प्रयोग हुन सक्ने चेतावनी दिएका थिए। इजरायली रक्षा मन्त्रालयले यसअघि नै सयौँ चिनियाँ गाडीहरू खरिद गरी आईडीएफका अधिकारीहरूले प्रयोग गर्दै आएको छ। तर हाल आईडीएफका लेफ्टिनेन्ट कर्नेल तहका अधिकारीहरूका लागि भनि ल्याइएका नयाँ बीवाईडी एटो थ्री गाडीलाई सुरक्षा संवेदनशील हुने ठहर गर्दै प्रयोग नगर्न निर्देशन दिएका हुन्।
संवेदनशील डेटा चुहिने जोखिम कम गर्न यस्ता गाडीमा रहेको ‘ई-कल’ प्रणाली (आपतकालीन अवस्थामा स्वचालित रूपमा सेवा प्रदायकसँग सम्पर्क गर्ने सुविधा) बन्द गरिएको बताइए पनि विशेषज्ञहरूले यो पर्याप्त नभएको चेतावनी दिँदै बीवाईडीका गाडी नै प्रयोग नगर्न भनेका हुन्।
इजरायली सुरक्षा एजेन्सी ‘शिन बेट’का साइबर सुरक्षा विभागका संस्थापक डा हरेल मेनाश्रीका अनुसार बीवाईडीका गाडी सवारी मात्रै नभइ ‘मोबाइल इन्टेलिजेन्स प्लेटफर्म’को रुपमा प्रयोग हुने अनुमान गरिएका छन्। उनको भनाइमा बीवाईडीका गाडीले अडियो, भिडियो, स्थान (जियो-लोकेसन) र बायोमेट्रिक डेटा संकलन गरी चीनस्थित सर्वरमा पठाउने क्षमता राख्ने गर्दछ। त्यसैले बीवाईडीका गाडीको प्रयोग उच्च पदस्थमा मात्र नभइ सम्पूर्ण नागरिक तहमै रोक लगाउने तयारीमा इजरायल सरकार रहेको छ।
यता नेपालमा भने बीवाईडीले प्रत्यक्ष रुपमा चीनकै टेलिकम नेटवर्कको सिम कार्ड ल्याएर प्रयोग भइरहँदासमेत नेपालका सुरक्षा अंगहरू र नियामक निकायहरू मौन देखिएका छन्।
नेपालमा पनि सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, राजनीतिक नेताहरू, उच्च पदस्थ सरकारी कर्मचारीहरूले पनि चिनियाँ टेलिकम कम्पनी चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड प्रयोग भएका बीवाईडीका विद्युतीय कार चढ्दै आइरहेका छन्। जसका कारण उनीहरूको सम्पूर्ण डेटा ‘लाइभ’ चीन पुगिरहेको छ।
बीवाईडी बिक्रेता साइमेक्स इंकले नेपालमा तेस्रो पक्षसँग भएको जीएसएम डिभाइस आयातको अनुमति देखाएर सिम कार्ड आयात गरेर डेटा निर्यात गरिरहेको छ।
साइमेक्स इंकले २०२४ मार्च २६ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट एमटीसीएफ थ्री मोडल नम्बर उल्लेख भएको उपकरणको टाइप अप्रुभल स्वीकृति देखाएर सिम कार्ड आयात गरेको बारेमा पनि बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।
उक्त स्वीकृति देखाएर बीवाईडी बिक्रेता साइमेक्स इंकले चाइना मोबाइल हङकङको सिम कार्ड चीनबाट आयात गरेर नेपाली उपभोक्तालाई बिक्री गरिरहेको छ। जीएसएम डिभाइस आयातको स्वीकृति बीवाईडी बिक्रेता साइमेक्स इंकले नभइ डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेड र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडबीच सम्झौता भएको दूरसञ्चार प्राधिकरणको स्वीकृति पत्रबाट देखिन्छ।
यसरी कानूनले परिकल्पना नै नगरेको सक्रिय अवस्थाको विदेशी टेलिकम कम्पनीको सिम कार्ड आयात गरेर बिक्री भइरहँदा दूरसञ्चार प्राधिकरण मौन छ।
त्यस्तै राष्ट्रिय सुरक्षामाथि नै गम्भीर असर गर्नेगरी बीवाईडीका कार चढ्ने उच्च पदस्थ र नागरिकको डेटा प्रत्यक्ष रुपमा चीनले ‘चोरी’ गरिरहँदा नेपालका सुरक्षा निकाय र अनुसन्धान गर्ने निकायले कुनै प्रतिक्रिया नै नजनाउनु आश्चर्यको विषय हो।
हाल नेपाली बजारमा बीवाईडीका १० हजारभन्दा बढी विद्युतीय कार गुडिरहेका छन्। इजरायलमा जस्तो डिडभाइसबाट डेटा चारी भइरहेको हो भने सिम कार्ड आयात गरेर बिक्री गर्नुपूर्वको बीवाईडी प्रयोगकर्ताको डेटा चीन गइरहेको छ।
साइमेक्सले सिम कार्ड आयात गरेर बिक्री गर्न थालेयता त सम्पूर्ण प्रयोगकर्ताको डेटा ‘साइमेक्स इंक प्रालि’को माध्यमबाट चीनले नै चोरी गरिरहेको छ। यसरी भइरहेको डेटा चोरीको मतियार सम्पूर्ण रुपमा साइमेक्स इंक रहेको छ।
साइमेक्स इंकले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य २ हजार ३ सय चिनियाँ युआन रहेको छ। साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापन पत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ। सिम कार्डमा सरकारले भन्सार नलाग्ने व्यवस्था गरेको छ।
साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरेको छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ। यसरी अर्कै दूरसञ्चार प्रयोजनका लागि ल्याइने सिम कार्डमार्फत डेटा चीन निर्यात भइरहेको छ।
उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?
जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन
बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?
नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड
बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?
बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

.jpeg)