बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धूमधामसँग खुलेका दुई रिसोर्ट कसरी भए गुमनाम?

सोमबार, भदौ ९ २०८२
धूमधामसँग खुलेका दुई रिसोर्ट कसरी भए गुमनाम?

गाई फार्म बन्द गरेर सञ्चालन गरेको गोकर्णमा पनि नयाँ सञ्चालकको प्रवेश भएको छ। भवन भट्टले ३३ करोडमा खरिद गरेको रिसोर्ट दयनीय अवस्थामा चलिरहेको छ।

विराटनगर- संविधान निर्माण प्रक्रियाको दश वर्षमा घरजग्गा कारोबार अनियन्त्रित तरिकाले वृद्धि भएको थियो। तराईका बजार छेउछाउमा प्लटिङ गरेर कारोबार गर्ने क्रम अत्यधिक भयो। राजमार्ग आसपासका जग्गाहरू माओवादी आन्दोलनबाट विस्थापितहरूको रोजाइमा परे।

त्यही समयमा जग्गा व्यापार चलाउने नयाँ तरिकास्वरूप सुन्दरहरैँचा-४ मा गोकुलम महोत्सव आयोजना भयो। महोत्सवमा दैनिक हजारौँ आगन्तुक सहभागी भए। दैनिकजसो राष्ट्रियस्तरका कलाकारको प्रस्तुति भयो। एक महिनासम्म चलेको महोत्सवमा कहिल्यै सहभागीको कमी भएन। जग्गाको कारोबारमा हरियाली छाइरहेको बेला महोत्सवले ठाउँ चिनायो। गोकुलम महोत्सव जसले त्यस क्षेत्रको पहिचानमात्र होइन मूल्य नै फेरिदियो।

मुख्य राजमार्गबाट एक किलोमिटरभित्र जग्गाको कारोबार बढाउने प्रयोजनको महोत्सव सफल भयो। राधेश्याम पौडेललगायत अन्य व्यवसायीलाई लगानीअनुसारकै नाफा भयो। ठूलो क्षेत्रमा फैलिएको प्लटिङका धेरै जग्गा बिक्री भए। ओरालो र खोला छेउको जग्गामा भने रिसोर्टको तयारीमा लागे पौडेल। पौडेलले विभिन्न नयाँ सोचमा रिसोर्टको संरचना निर्माण गरे।

विभिन्न कलाकृतिको आकर्षक रिसोर्ट तयार भयो। पोखरीमाथि पानीजहाजजस्तै देखिने संरचना निर्माण भयो। जसमा केही वर्ष होटेल सञ्चालनमा आयो। त्यसबाहेक पुरानो हवाईजहाज किनेर उनले म्युजियम नै बनाउने तयारी गरे। जुन सफल हुन सकेन। आइफल टावरदेखि ताजमहलसम्मका संरचना निर्माण भए।

gokulam.jpg

२०७० को दशकको सुरुवातमा रिसोर्ट सञ्चालनमा आयो। महोत्सवबाटै राम्रै चर्चा पाएको गोकुलममा दैनिक हजारौँ आगन्तुकले टिकट काटेर प्रवेश गर्न थाले।

नयाँवर्ष र बिदाको दिनमा ट्राफिक व्यवस्थापन नै हम्मेहम्मे पर्नेगरी भिडभाड भयो। दैनिक दुई ट्रकसम्म चिसो पेयपदार्थ बिक्री गर्ने गरेको अनुभव सुनाउँछन् गोकुलमका पूर्व सञ्चालकमध्येका एक सतिश पोखरेल।

Gokulam3.jpg

त्यो रौनक र उत्साहले भरिएको रिसोर्ट अहिले रंग उडेको फूलजस्तो भएको छ। त्यहीबीचमा सुनसरीको सप्तकोसी कटान क्षेत्रमा पौडेलले नेपाल विच एण्ड डेजर्ट सफारी (एनबीडीएस) रिसोर्टको तयारी गरे।

रिसोर्ट खोलेर आसपासको जग्गा बिक्री गर्ने योजना बनाएका पौडेलले बालुवामा तीन करोड लगानी गरेका थिए। जुन हाल अलपत्र अवस्थामा छ।

Gokulam1.jpg

गोकुलममा भने यही बीचमा तीनवटा सञ्चालक टिम परिवर्तन भइसक्यो। तर रिसोर्टको अवस्था झनै बिग्रिँदै गएको छ। रेस्टुरेन्ट र होटेल दुवै बन्द अवस्थामा छ। केही बोटबिरुवा हुर्किएका छन् तर त्यसको संरक्षण भएको छैन। स्विमिङ पुल निर्माणाधीन अवस्थामा छ। धेरै भित्रसम्म प्रवेश गर्दा सर्पलगायत जीवजन्तुको डर हुनेगरी झाडी फैलिएको छ।

१८ करोडमा खरिद गरेर गोकुलम रिसोर्ट रमेश कार्कीसहितको टिमले सञ्चालन गरिरहेको छ। हाल कार्की सम्पर्कमा छैनन्। तथापि उनले थप लगानी बढाएर सञ्चालनको तयारी गरेका छन्। केही ऋण लिएर भए पनि रिसोर्ट चलाउने उनको योजना छ तर बैंकले आम्दानीको ठोस आधार नदेखिएको भन्दै ऋण स्वीकृत गरेको छैन।

Gokulam2.jpg

गोकुलमको गेट आसपास नयाँ होटेल र रेस्टुरेन्ट खुल्ने क्रम जारी छ। ठूलो लगानीमा होटेलहरू खुलिरहेका छन्। केही राम्रोसँग सञ्चालनमा छन् भने धेरैले गोकुलमको पुनर्जीवन पर्खिरहेका छन्।

गोकर्ण रिसोर्टको आफ्नै दु:ख

गोकुलमकै सञ्चालकमध्येका एक थिए रमेश आचार्य। गाई फार्मसहित गहना गृहसमेत सञ्चालन गरेका आचार्य मुख्यतः जग्गा कारोबारी हुन्। जग्गा कारोबारमा राम्रो प्रभाव बनाइसकेका उनी अहिले व्यावसायिक सम्पर्कबाहिर छन्।

गोकुलममा गरेको लगानी फिर्ता लिएर उनले आफ्नै नयाँ रिसोर्ट खोल्ने योजना बनाए। केही वर्षमै तयार भयो गोकर्ण रिसोर्ट। गोकर्ण तयार हुँदासम्म गोकुलमको आकर्षण कम भएको थिएन। दुवै रिसोर्ट एकैसाथ चलायमान भइरहेका थिए। जसले त्यसआसपासको बजारमात्र होइन जग्गाको कारोबार पनि निकै बढायो। त्यसको प्रभाव दुई किलोमिटर टाढाको इटहरीसम्म पर्‍यो।

Gokarna.jpg

गोकर्णको आकर्षण बढिरहेको बेला आचार्यले अर्को पनि रिसोर्टको तयारी गरे। अन्य लगानीकर्तासँगको सहकार्यमा त्रिवेणी रिसोर्ट सञ्चालनमा आयो। आचार्यले त्यसलाई बिक्री गरिसकेका छन्। त्रिवेणी हाल गोदावरीको नयाँ स्वरूपमा सञ्चालन भइरहेको छ।

गाई फार्म बन्द गरेर सञ्चालन गरेको गोकर्णमा पनि नयाँ सञ्चालकको प्रवेश भएको छ। भवन भट्टले ३३ करोडमा खरिद गरेको रिसोर्ट दयनीय अवस्थामा चलिरहेको छ।

रिसोर्टमा कार्यरत २५ जना कर्मचारी प्रत्येक महिना तलब पाउने वा नपाउने भन्ने दोधारमा हुन्छन्। भट्टले यसअघि नै धुलिखेल माउन्टेन रिसोर्ट बिक्री गरिसकेका छन्। धुलाबारीमा सञ्चालनमा आउन लागेको पाँचतारे होटेल इस्टर्नबाट पनि उनी बिदाइ भइसके।

sakura1.jpg

धनकुटामा सञ्चालित प्रिन्सेस वाइन खरिद गरेका उनले त्यसलाई पनि सञ्चालनमा ल्याउन सकेका छैनन्। गोकर्ण रिसोर्टलाई साकुराको एडभान्चरको रूपमा चलाउने प्रयास सुरुवातमै अलपत्र परेको हो।

Sakura.jpg

साकुराका म्यानेजर ज्ञानेन्द्र आचार्यका अनुसार २०८१ असोज १८ गते भट्टले लिएपछि थप लगानीको तयारी भएको उनले बताए। अहिले बजारमा देखिएको मन्दीको प्रभावले व्यापार नभएको उनको भनाइ छ।


प्रकाशित : सोमबार, भदौ ९ २०८२१७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend