काठमाडौं- कतै पहिरोमा परेर अड्कियो, कतै बाढीमा फस्यो या त गुड्दा गुड्दै समस्या आएर गाडी बाटोमै रोकियो! यस्ता भवितव्यमा के गरौँ, कसौँ गरौँ भइरहँदा सेवा दिनेहरू पनि छन्।
कल्पना र अनुमानभन्दा बाहिरका ती आकस्मिक अवस्थामा ‘टोइङ नेपाल’ ले मद्धत गर्दै आइरहेको छ। यसैले त टोइङ नेपालले आफ्नो नारा बनाएको छ, ‘दु:ख पर्दाको साथी।'
आफ्नो गाडी लिएर कतै निस्कँदा बीच बाटोमा समस्या आएर गाडी चलेन भने टोइङ नेपालले उक्त गाडीलाई सर्भिस सेन्टरसम्म लगिदिन सहयोग गर्छ। बाँसबारीमा केन्द्रीय कार्यालय रहेको टोइङ नेपालको विभिन्न पाँच जिल्लामा शाखा कार्यालय छन्।
किलोमिटरको हिसाबमा शुल्क लाग्ने हुँदा गाडी बिग्रिएको स्थानबाट सबैभन्दा नजिक पर्ने शाखामार्फत टोइङ नेपालले सेवा दिँदै आइरहेको छ। ‘मानवको लागि एम्बुलेन्स भएजस्तै गाडीको लागि टोइङ नेपाल छ’ टोइङ नेपालका झलकराज पौडेलले भने, ‘सकेसम्म त त्यस्तोखाले दु:ख आपत कसैलाई नपरोस्, यदि त्यस्तो समस्या आइपरेमा टोइङ नेपाललाई सम्झन सक्नुहुन्छ।'
काठमाडौं भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२५’ को अवसरमा विशेष अफरहरू पनि रहेको पौडेलले सुनाए। ‘काठमाडौं उपत्यकाभित्र रहेका ग्राहकका लागि एक हजार रुपैयाँ सदस्यता शुल्क लिएर एक वर्षसम्म नि:शुल्क सेवा दिने योजनामा जोडिरहेका छौँ। हाम्रो सेवा २४ घण्टा नै उपलब्ध रहेको छ’ उनले भने।
अहिले काठमाडौंसहित विराटनगर, चितवन, भैरहवा र पोखरामा रहेको टोइङ नेपालको देशभर शाखा पुर्याउने योजना रहेको छ। सरकारसँग समन्वय गरेर बाँकी जिल्लाहरूमा पनि काम गर्ने प्रयास भइरहेको पौडेलले सुनाए।
गएको तीन वर्षयता सेवा गरिरहेको टोइङ नेपालले ग्राहकहरूबाट राम्रो प्रतिक्रियासमेत पाइरहेको छ। विशेषगरी ईभी गाडी बिग्रिँदा पाङ्ग्रा पूरै लक हुने हुँदा त्यसका प्रयोगकर्ताका लागि यो सेवा फलदायी बनिरहेको पौडेल बताउँछन्। ‘हाइड्रोलिक गाडी प्रयोग गरेर सजिलोसँग त्यसमाथि राखि कतै असर नपारीकन चारवटा टायरमा फिता लगाएर सकुशल वर्कसपसम्म लगिन्छ’ उनले भने।
टोइङका लागि चाहिने सवारी उपत्यकाभित्र नै पाँचवटा रहेको टोइङ नेपालमा कर्मचारीहरू हरबखत तयार अवस्थामा रहन्छन्। गाडी नदी, खोल्सामा खसेको अवस्थामा उद्धार गर्न आवश्यक पर्ने क्रेनसमेत टोइङ नेपालसँग रहेको छ।
किलोमिटरका हिसाबले शुल्क लाग्ने यो सेवामा काठमाडौं उपत्यकामा ३० किलोमिटरभित्र ७ हजार ५ सय रुपैयाँजति खर्च लाग्छ। सडकको अवस्था, गाडीको तौल र दुरीअनुसार शुल्क फरक-फरक हुन्छ। अहिलेसम्म एक हजारभन्दा बढी गाडीलाई सेवा दिइसकेको कम्पनीले देशमा गाडीको संख्या बढेसँगै यस्ता सेवाको आवश्यकता अझ बढिरहेको महसुस गरेको छ।
000
लमजुङ जितादेउरालीमा किसान परिवारमा अघि बढिरहेका झलकराज पौडेलका छोरा प्रवेश मेकानिकल इन्जिनियर हुन्। सानो उमेरदेखि गाडीप्रति चासो देखाएका प्रवेश अहिले नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटमा कार्यरत छन्। उनकै योजना र सोचअनुसार टोइङ नेपाल सुरु भएको हो। जहाँ शिक्षकबाट अवकाश जीवन बिताइरहेका ६३ वर्षका झलकराजले व्यवस्थापन सम्हालिरहेका छन्।
टोइङ नेपालले गरिरहेको कामप्रति झलकराज सन्तुष्ट छन्। उनीजत्तिकै सन्तुष्ट सुनिन्छन् आबद्ध कर्मचारी र सेवाग्राही पनि। ‘टोइङ नेपालमा काम गरेर खुसी छु। एक हिसाबले हेर्दा सेवा गर्न पनि पाएको छु। कम्पनीमा पनि सबै कुरा राम्रो छ’ टोइङ नेपालमा कार्यरत सुन्दरीजलका प्रदीप तामाङले सुनाए।
नेपालमा यस्तो कामको महत्त्व बढिरहेको भन्दै यस्ता कम्पनीको क्षेत्र अझ विस्तार हुनुपर्ने उनी बताउँछन्।
‘अहिले बर्खाको बेलामा खोला छेउछाउ पार्किङ गरिराखेका गाडी थाहै नपाइ डुबानमा समेत परिरहेका हुन्छन्। त्यस्तोमा मानिसहरूले हामीलाई नै सम्झनुहुन्छ। गएको वर्ष त यस्तो समस्या निकै थियो। यो वर्ष पनि त्यस्ता केही उद्धार गर्यौँ’ उनले सुनाए।
टोइङ नेपालमा कार्यरत कर्मचारीलाई राम्रो सेवा सुविधा दिइरहेकाले पनि आफ्नो कामहरू राम्रो भइरहेको झलकराज सुनाउँछन्। समूहगत काममा सबैजना खुसी हुन आवश्यक रहेको उनको भनाइ छ। अहिले अटो शोको स्टलमा पनि कम्पनीमा कार्यरत ड्राइभर र सहयोगी कर्मचारीहरू नै रहेका छन्।
टोइङ नेपालजस्ता कम्पनीबारे जानकारी लिन र त्यसमा जोडिने अवसर मिल्नु नाडा अटो शोको भिन्न विशेषता पनि हो। नयाँ गाडी र प्रविधिबारेको जानकारीमात्र होइन गाडी बिग्रिएर पर्ने समस्या समाधान गर्न सहयोगी हुने ‘टोइङ नेपालजस्ता साथी’बारे पनि अटो शोले विशेष स्थान दिएको छ।
