काठमाडौं- नेपालीको सौखको गौरवगाथा व्यापक छ। सडकको पहुँचमा नजोडिँदै बोकाएर गाडी ल्याएर चढ्ने शासकीय अभिलाषाको व्याख्या वर्तमानमा कथानक लागेपनि त्यसमा उक्त समयको भयानक राजनीतिक, सामाजिक र आर्थिक चित्र देखिन्छ।
‘जोड गर हैँसा, भनभन भाइ हो… देउसिरे!’ को लयमा कठिन बाटोबाट नोल लगाएर गाडी बोकिएको पुराना कथाहरू शासकनजिकको व्याख्याभन्दा भिन्न हुन पनि सक्छ। भीमफेदी हुँदै भरियाले काँधमा बोकेर नेपाल खाल्डोमा गाडी ल्याउनु वर्तमान ऐनामा जस्तो देखिए पनि ती सम्झना जोगाउनुपर्ने खालका नै हुन्।
गाडी बोकेर ल्याइएका लेखोटसँगै त्यसका तस्बिर, भिडियोहरू पनि संग्रहित नै छन्। रोमाञ्चक लोककथा लाग्ने ती यथार्थले अहिले विगत चिह्याउने आँखीझ्याल दिएको छ।
त्यसरी ल्याइएका गाडी अहिले कहाँ होलान् त? भावी पुस्ताका लागि सम्पदा बनेका ती केही ‘भिन्टेज कार’ अहिलेसम्म पनि जोगिएका छन्। राणा, राजाको रवाफ र सानसौकत देखाउने ती गाडी केही सौखिनले करोडौँ खर्चिएर जोगाएका हुन्।
इतिहासको खोजीका लागिमात्रै होइन पुराना वस्तुको गौरव, सौन्दर्य र परम्पराको निरन्तरताको ठूलो महत्त्व छ। कोही पुराना किताब संकलन गर्न रुचाउँछन्, कोही पुराना संगीत त कोही पुराना तस्बिर। पुराना मुद्रादेखि जुत्ताचप्पल र मदिराका बोतलसम्म संकलन गर्ने सौख राख्नेहरू धेरै छन्। यस्तै एक सौखिन हुन् व्यवसायी राजबहादुर शाह।
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले जोगाएका ती भिन्टेज कार अहिले काठमाडौं भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा अवलोकन गर्न पाइन्छ। जहाँ कतिपय मृत भइसकेका ती पुराना गाडीलाई राजबहादुरले दिएको जीवन्तता देख्न सकिन्छ।
राजबहादुर शाह नेपालका सबैभन्दा ठूला व्यक्तिगत आयकरदातामध्ये एक हुन्। उनको परिवार छ पुस्तादेखि मदिरा व्यवसायमै संलग्न रहेको छ। पुराना गाडी जोगाउनु पर्छ भन्ने मान्यता राख्ने शाह आफ्नो निकै समय र ठूलो लगानी गाडीमै खर्च गर्छन्। बोकेर ल्याइएका पुराना कार संरक्षण गरिरहेका शाहलाई नेपालमा पहिलो उड्ने कार किन्ने इच्छासमेत छ।
पुराना गाडीहरू जोगाएर तीनलाई फेरि जीवन दिनु शाहको आफ्नै व्यक्तिगत लक्ष्य नै बनिरहेको छ। ती गाडी जोगाउन सकिएन भने ५/१० रुपैयाँ किलोको भाउमा बिक्री होला भन्ने डर उनलाई लागिरहन्छ। त्यसैले तीनलाई पुनर्जीवित पार्दा उनी आनन्द महसुस गर्छन्। उनका अनुसार यो ठूलो धैर्यता र समय चाहिने ‘पजल’ जस्तै हो।
शाहले अहिले ती भिन्टेज र क्लासिक कारहरू रेखदेख गर्न तीनजना पूर्णकालीन कर्मचारी राखेका छन्। जसमा करोडौँ रुपैयाँ वार्षिक मर्मतसम्भार र सरकारलाई कर तिर्दा खर्च हुन्छ। यी पुराना सम्पदा बनेका गाडीहरू संरक्षण गर्दा सरकारले कर छुट दिनसके तीनलाई जोगाउन अझ सहयोग मिल्ने थियो।
शाहले अहिले संरक्षण गरिरहेका ५० वटामध्ये ३६ वटा क्लासिक कार हुन् भने बाँकी भिन्टेज हुन्। तीमध्ये ९ वटा सन् १९२०-१९३० को दशकका गाडी हुन्, जुन सबै बोकेर नै उपत्यका ल्याइएका हुन्। हिजोआज धेरैले त आफ्ना पुराना गाडी जोगिन्छ भन्ने आशमा तीनको संरक्षण गर्न शाहलाई नै जिम्मा लगाएका हुन्छन्। किनकि तीनलाई बर्सेनि मर्मत र करमा रकम खर्चिएर पुनर्जीवित गर्नु कठिन छ। यसैले त कति पुराना गाडी स्क्र्यापको मूल्यमा बिक्री भइ विदेशी मुलुकतिर लगिएका छन्।
नेपाल विश्वका केही देशहरूमध्ये एक हो जहाँ यी भिन्टेज क्लासिक कारहरूको पहिचान र सुरक्षा गर्ने नीति छैन। जहाँ राजबहादुर शाह केवल कार प्रेमीमात्र होइनन्, यी सम्पदा जोगाउने अभियन्ता नै हुन्। यसमा उनले आफ्नो व्यापक समयका साथै मर्मत र सरकारलाई तिर्ने करमा गरेर करोडौँ लगानी गरेका छन्।
जोगाइएका यी गाडी
अहिले राजबहादुर शाहले नै संरक्षण गरेर नाडा अटो शोमा प्रदर्शनीमा राखिएका हरेक भिन्टेज कारको आफ्नो बेग्लै कथा छ। त्यसमा सन् १९२८ को ‘फोर्ड मोडेल ए’ र १९३३ को ‘फोर्ड मोडेल बी’ राणाकालीन गाडी हुन्। जुन भरियाहरूले काँधमा बोकेरै काठमाडौं ल्याएका थिए।
यस्तै सन् १९४४ को ‘सिंगर एबी रोडस्टर’ आफ्नो समयमा इंग्ल्याण्डमा लोकप्रियमध्येको कार थियो। जसको उच्च गति एक सय किलोमिटर प्रतिघण्टा थियो। पछिल्लो समय राजीव शाहको स्वामित्वमा रहेको यो कार भारत बेलायतको शासनमा रहेकै समयमा नेपाल भित्रिएको बताइन्छ।
सन् १९५६ को रातो मर्सिडिज र १९६५ को सेतो मर्सिडिज दुवै राजा महेन्द्रको स्वामित्वमा थिए। ती गाडी राजाले शासन हातमा लिँदा प्रधानमन्त्री बनाइएका तुलसी गिरीलाई दिइएको थियो। त्यसपछि पनि त्यसका केही मालिक फेरिए। त्यसमध्येको सेतो मर्सिडिजलाई त्यस समय प्यागोडा भनेर पनि चिनिन्थ्यो।
यी मर्सिडिज कारको उच्चतम गति २ सय किलोमिटर प्रतिघण्टाभन्दा बढी छ। यी दुवै कार अन्तर्राष्ट्रिय क्लासिक कार बजारमा अत्यधिक मूल्यवान र सम्मानित छन्। यिनीहरूको मूल्य अंकमा भन्दा ज्यादा प्रशंसामा छ।
सन् १९६० को रातो क्राइस्लर न्यू योर्करमा ६८ सय सीसीको ८ सिलिन्डर इन्जिन छ, जुन सम्भवतः नेपालमै भएको सबैभन्दा ठूलो कार इन्जिन हो। यसले १ किलोमिटर चलाउन २ लिटर पेट्रोल खान्छ। स्वीट्जरल्यान्डबाट आएको यो कार पनि कुनै समय दरबारको कार थियो।
नाडा अटो शोमा नै राखिएको सन् १९५५ को अस्टिन प्रिन्सेस डीएम फोर भ्यान्डेन प्लास जावालाखेलका मधुकर शमशेर जबराको स्वामित्वमा थियो। यस्ता दुईवटा कार नेपाल आएका थिए। तीमध्ये एउटा कार अझै दरबारको ग्यारेजमा नचल्ने अवस्थामा पुगेको छ।
सन् १९६७ को फोर्ड मस्टाङ भने एक दूतावासको कार थियो। यो कार केही समय पहिले निम्बस समूहका आनन्द बगरियाको स्वामित्वमा रहेको थियो। यो कारलाई आफ्नो समयमा एउटा रेसिङ कारको रूपमा हेरिन्थ्यो।
सन् १९७० को सेतो मर्सिडिज सुरुमा अन्नपूर्ण होटलमा रहेका राजपरिवारको स्वामित्वमा थियो। जुन त्यसपछि निकै पटक किनबेच भयो। यो कार नेपालमा त्यही समयमा आयात गरिएको थियो जतिबेला सिक्किमका राजाले पनि यही मोडलको मर्सिडिज मगाएका थिए।
सन् १९७० को दशक र त्यसअघि बनेका करिब दुई सयभन्दा बढी कारहरू नेपालमा छन् तर तीमध्ये धेरैजसो चल्ने अवस्थामा छैनन्। कतिपयको कर पनि तिरिएको छैन। राजबहादुरजस्ता केहीले भने यस्ता भिन्टेज र क्लासिक कार करोडौँ खर्चिएर जोगाउँदै भावी पुस्ताका लागि गुन लगाइरहेका छन्।
यी दुर्लभ गाडीको आर्थिक मूल्यसँगै यसको ऐतिहासिक महत्त्व व्यापक छ। यी गाडीहरुले गएको युगको कथा भनिरहेका छन्। तीनका बनावट, इन्जिनियरिङ र डिजाइन अध्ययन गर्नलायक छन्। जहाँबाट विगत चियाउन सकिन्छ।
