काठमाडौं- विदेशबाट सामान आयात गर्न हरेक कम्पनीले विदेशी मुद्रा सटहीको सुविधा लिनुपर्छ। यसका लागि कम्पनीको उद्देश्य र के सामान आयात गर्न लागेको हो प्रष्टरुपमा खुलाउनु पर्छ। तर आयात गर्न नपाइने र कम्पनीको उद्देश्यमै नभएको सिम कार्ड आयातका लागि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले कसरी सटही सुविधा पायो? गम्भीर प्रश्न उठेको छ।
साइमेक्सले चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड आयात गरेको विवरणसहित बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। सवारीसाधन आयात गर्ने कम्पनीले विदेशी सिम कार्ड नै ‘आधिकारिक बिक्रेता’को रुपमा आयात गरेर बिक्री गरिरहेको छ।
साइमेक्स इंकले खुलेआम अवैध रुपमा सिम कार्ड आयात गर्दा भन्सार विभाग र विदेशी सिम कार्ड बिक्री भइरहँदा नेपाल दूरसञ्चार प्राधिकरण मौन देखिएका छन्।
विदेशी मुद्रा सटहीको सुविधा साइमेक्सले सवारीसाधन र त्यससँग सम्बन्धित सामग्री आयातका लागिमात्र पाएको हो। यो उक्त कम्पनीको उद्देश्यअनुरुप राष्ट्र बैंकलगायत निकायबाट पाएको छ। तर सिम कार्ड आयात गर्न टेलिकम्युनिकेसन लाइसेन्स पाएको कम्पनी र जीपीएस सर्भिस दिने अनुमति पाएको कम्पनीले मात्रै पाउँछन्। तर बीवाईडी बिक्रेता साइमेक्स इंकले यी दुवैको अनुमति पाएको छैन र सो कम्पनीको उद्देश्यमा यो विषय समावेश पनि छैन।
यो सन्दर्भमा साइमेक्सले सवारीसाधन आयातका लागि पाएको विदेशी मुद्रा सटहीको सुविधा दुरुपयोग गरेर सिम कार्ड आयात गरेको प्रष्ट हुन्छ। उद्देश्य र प्रयोजनविपरीत विदेशी मुद्रा सटहीको सुविधा नेपालमा पाइँदैन। साइमेक्स इंकले मोबाइलमा प्रयोग हुने सिम कार्डकै एचएस कोडमा चाइना मोबाइल हङकङको सिम कार्ड आयात गरिरहेको छ।
दूरसञ्चार प्रयोजनमा प्रयोग हुने सिम कार्ड आयातमा सरकारले कम आयात कर तोकेको छ। यस्ता सिममा भन्सार लाग्दैन भने १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरिएको छ।
साइमेक्स इंकले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य २ हजार ३ सय चिनियाँ युआन रहेको छ। साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ।
सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा नेपाल टेलिकम र एनसेलले आयात गरेको सिम कार्डको भन्सारसहित ६२ देखि ६५ रुपैयाँ प्रतिगोटामा आयात भएको छ। तर साइमेक्सले ल्याएको सोही एचएस कोडमा पास भएको सिम कार्डको मूल्य भने अस्वाभाविक देखिएको छ। यस्तो अस्वाभाविक मूल्यमा आउँदासमेत भन्सारले सोधीखोजी नै नगरी आँखा चिम्लिएर जाँचपास गरिदिएको पाइएको छ।
साइमेक्स इंकले जीएसएम-डिभाइस आयातको स्वीकृति लिएको डकुमेन्ट केही सरकारी निकायमा पेस गरेको छ। तर उक्त स्वीकृति पनि बीवाईडी बिक्रेता साइमेक्स इंकले नभइ डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेडले लिएको छ। बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले उत्पादन गरेको जीएसएम डिभाइसको टाइप अप्रुभल ५ वर्षको अवधिका लागि स्वीकृत गरिएको छ। यसरी उपकरणको अनुमति लिएर विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर साइमेक्सले नेपाली उपभोक्ताको डेटा ‘चीन निर्यात’ गरिरहेको छ।
दूरसञ्चार ऐन २०५३ अनुसार कुनै पनि विदेशी वा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाप्रदायकले नेपालमा सेवा दिँदा नियामकबाट अनुमति लिनुपर्नेदेखि नेपालमै सर्भर राख्नुपर्ने व्यवस्था गरेको छ। कानूनले सिम कार्ड र ई-सिम कार्डलाई एकै रुपमा हेरेको छ। साइमेक्स इंकले त चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड नै आयात गरेर बिक्री गरिरहेको छ।
यता व्यक्तिगत गोपनियता ऐन २०१८ ले नेपाली नागरिकको डेटा सुरक्षाको ग्यारेन्टी गरेको छ। साइमेक्सले चाइना मोबाइल हङकङको सिम कार्ड ल्याएर बिक्री गरेका उपभोक्ताले चलाएको बीवाईडीका कारको डेटा सिधै चीन पुगिरहेको छ। नेपाली नागरिकले प्रयोग गरेका बीवाईडीका गाडीको डेटा सिधै चीन पुग्दा व्यक्तिगत गोपनियता ऐनको उल्लंघन भएको छ।
साइमेक्सले दूरसञ्चार ऐनका अन्य प्रावधान तथा रेडियो ऐन २०१४ ले तोकेको व्यवस्थासमेत लत्याएर विदेशी सिम कार्ड आयात गरेर बिक्री गरिरहेको छ।
विदेशी विनिमय सटहीका लागि के गर्नुपर्छ?
नेपालको कानूनअनुसार कार आयात गर्ने उद्देश्य भएको कम्पनीले सिम कार्ड आयात गर्न पाउँदैन। कुनै पनि कम्पनीले नेपालमा आयात गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट आयातकर्ता इजाजतपत्र लिनुपर्छ। यो इजाजतपत्र कम्पनीको मुख्य उद्देश्य र व्यवसायको प्रकृतिमा आधारित हुन्छ।
सिम कार्ड आयात गर्ने कम्पनीले सिम कार्ड र अन्य दूरसञ्चार उपकरणहरू आयात गर्नका लागि दूरसञ्चार क्षेत्रसँग सम्बन्धित इजाजतपत्र वा अनुमतिपत्र आवश्यक हुन्छ। यो विशिष्ट प्रकृतिको व्यवसाय हो।
सामान्यत: जुन कम्पनीले जे वस्तुको आयातका लागि लाइसेन्स लिएको हुन्छ, त्यसैको आयात गर्न पाउँछ। एउटा उद्देश्यको लागि लिएको इजाजतपत्रले अर्को फरक प्रकृतिको वस्तु आयात गर्न अनुमति दिँदैन।
सिम कार्ड आयात गर्ने कार्य दूरसञ्चार क्षेत्रसँग सम्बन्धित भएकाले यो नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नियमनअन्तर्गत पर्छ। सिम कार्ड आयातको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने हुन्छ। यो स्वीकृतिबिना कुनै पनि कम्पनीले सिम कार्ड आयात गर्न पाउँदैन।
त्यसैले कार आयात गर्ने कम्पनीले सिधै सिम कार्ड आयात गर्न खोजेमा उसले आयातकर्ता इजाजतपत्रको दायरा र नियामक निकायको नियमन दुवैको उल्लंघन गरेको ठहरिन्छ।
साइमेक्सले कुन-कुन कानूनको उल्लंघन गरेको छ?
दूरसञ्चार ऐन २०५३ : सिम कार्ड दूरसञ्चार सेवाको एक महत्त्वपूर्ण अंग हो। नेपालमा दूरसञ्चार सेवा र उपकरणसम्बन्धी सबै कुराको नियमन नेपाल दूरसञ्चार प्राधिकरणले गर्छ।
दूरसञ्चार ऐन २०५३ अनुसार कुनै पनि दूरसञ्चार उपकरण वा सामग्री आयात गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्छ। बिनास्वीकृति सिम कार्ड आयात गर्नु यस ऐनको ठाडो उल्लंघन हो।
यस्तो अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले आयात गरिएको सामान जफत गर्न सक्छ र दोषीलाई जरिवाना तथा कैद दुवै सजाय हुन सक्छ। यस्तो कार्यलाई दूरसञ्चार ऐनले दण्डनीय अपराध मानेको छ।
भन्सार ऐन २०६४ : उद्देश्यविपरीत आयात गरिएको सामानलाई सामान्यत: अवैध आयात मानिन्छ। भन्सार जाँचपासको क्रममा आयातकर्ताले आफूले आयात गरेको वस्तुको सही विवरण दिनुपर्छ।
एउटा काम गर्ने उद्देश्य भएको कम्पनीले अर्कै उद्देश्यमा प्रयोग हुने सामान ल्याउँदा गलत घोषणा गरेको ठहरिन्छ। यस्तो अवैध आयातमा संलग्न व्यक्ति वा कम्पनीलाई सामान जफत गर्नुका साथै सामानको मूल्यबराबरको जरिवाना हुन्छ। यसबाहेक त्यस्तो कार्यमा संलग्न कम्पनीको आयातकर्ता इजाजतपत्र पनि खारेज हुन सक्छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ : आयात कारोबारमा विदेशी मुद्राको प्रयोग हुने भएकाले विदेशी विनिमयसम्बन्धी कानून पनि समइमेक्सको गरेको कुकृत्यमा आकर्षित हुन्छ। साइमेक्सले कानूनी रुपमा ल्याउन नपाउने सिम कार्ड ल्याएकाले विदेशी मुद्राको दुरुपयोग गरेको ठहरिन्छ।
आयातकर्ताले कुन वस्तुका लागि विदेशी मुद्रा सटहीको सुविधा लिएको हो, सोही वस्तुको लागिमात्र प्रयोग गर्नुपर्छ। यदि कार आयातको लागि लिएको विदेशी मुद्रा सिम कार्ड आयातमा प्रयोग गरिएको प्रमाणित भएमा यो विदेशी विनिमयको दुरुपयोग भएको मानिन्छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ ले यस्तो गैरकानूनी काम गर्ने व्यक्ति वा संस्थालाई जरिवाना र कैदको व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले यस्तो गतिविधिमाथि निगरानी राख्छ र कारबाहीका लागि सिफारिस गर्न सक्छ।
साइमेक्स इंकले नेपालमा पछिल्लोपटक गरेका अधिकांश कामहरु सन्देहपूर्ण देखिएका छन्। विगतमा पनि साइमेक्सले पुरानो मोडलको ई सिक्स आयात गर्दा करछली भएको प्रमाणित भइसकेको छ। राजस्व न्यायाधीकरणले भन्सार जाँचपास कार्यालयले निर्धारण गरेको करमा केही उल्टी हुने फैसला गरेकाले कार्यालय उक्त फैसलामा चित्त नबुझाएर सर्वोच्च अदालत गएको हो। जुन मुद्दा अहिले पनि विचाराधीन नै छ।
त्यस्तैगरी साइमेक्सले गत महिना आयात गरेको सिलायन सेभेन कारको पनि कागजातमा खोट देखिएपछि पूर्णरुपमा आयात अनुमति पाइसकेको छैन। यसका साथै पछिल्लो पटक आयात गरेको एटो वानसमेत प्रदर्शनी प्रयोजनमा ल्याएर मूल्य घोषणा गरेको थियो।
जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन
बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?
नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड
बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?
बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

.jpeg)