काठमाडौं- झन्डै दुई दशकपछि ऊर्जा क्षेत्रमा फर्किएका सिप्रदी समूहका अध्यक्ष सिद्धार्थ शमशेर राणाले जलविद्युतमा आक्रामकरुपमा लगानी विस्तार गर्दै छन्।
यसअघि भोटेकोशी पावरमा लगानी गरी ऊर्जा क्षेत्रमा प्रवेश गरेका राणाले पछिल्लो समय तारा इनर्जी कम्पनीमार्फत नयाँ आयोजना थप गर्दै ऊर्जा व्यवसायलाई प्राथमिकतामा ल्याएका हुन्।
तारा इनर्जीमार्फत जलविद्युत क्षेत्रमा तत्काल २५ अर्ब रुपैयाँ लगानी गर्न लागेका राणाले सौर्य उर्जामा समेत चासो दिएका छन्। राणा हाल जलविद्युत्, प्रिमियम अपार्टमेन्ट र पाँचतारे होटलसँगै नेपालको ऊर्जा र आतिथ्य व्यवसायलाई नयाँ अध्यायतर्फ लैजाने तयारीमा छन्।
हाल तारा इनर्जीले ७८ मेगावाट क्षमताको 'त्रिवेणी भेरी नदी जलविद्युत् आयोजना'को लाइसेन्स ४० करोड रुपैयाँ खर्चेर खरिद गरेको छ। उक्त आयोजना जाजरकोट र रुकुमपश्चिममा निर्माण हुने छ। यसअघि तारा म्यानेजमेन्टसँग ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन अमेरिकन पाण्डा पावरको लगानीसहित २०६३ सालमा खरिद भएको थियो।
यही क्रममा तारा इनर्जीले हुम्ला जिल्लामा ४९.५ मेगावाट क्षमताको लोती कर्णाली अर्धजलाशययुक्त आयोजना पनि अघि बढाउने भएको छ। जलविद्युत् विकास विभागले बुट मोडेलमा बनाउनका लागि आवेदन माग्दा अपी पावरसँग प्रतिस्पर्धा गर्दै तारा इनर्जी लाइसेन्सका लागि अन्तिम प्रतिस्पर्धामा छ।
सिद्धार्थ राणाले हालैमात्र साना जलविद्युत् आयोजनामै २५ अर्ब रुपैयाँबराबरको लगानी विस्तार गर्ने योजना बनाएका छन्। अधिकांश आयोजना खरिद तथा लाइसेन्स स्वामित्वमा केन्द्रित हुँदै तारा इनर्जीले विशेषगरी जलाशययुक्त ठूला आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ।
राणाले यसका लागि अन्तर्राष्ट्रिय साझेदारीको खोजीसमेत गरिरहेका छन्। विशेषगरी भारतीय टाटा पावरसँग सहकार्य गरी १ हजार ९ सय मेगावाट क्षमताको मुगु कर्णाली आयोजना अघि बढाउने तयारी भएको स्रोत बताउँछ। यसले तारा इनर्जीलाई साना आयोजनादेखि ठूला जलाशययुक्त आयोजना निर्माणतर्फ अग्रसर बनाएको छ।
यसरी पछिल्लो समय ऊर्जा क्षेत्रमा कदम चालेका राणाले सिप्रदी समूहलाई सवारीसाधन व्यापारमात्र नभइ नेपालको प्रमुखमध्येको एक ऊर्जा व्यावसायिक घराना बनाउने संकेत देखाएका छन्।
जलविद्युतका अतिरिक्त राणाले काठमाडौंको कालीमाटी-सोल्टीमोड क्षेत्रमा प्रिमियम अपार्टमेन्ट निर्माण गर्ने योजना बनाएका छन्। १५ रोपनी क्षेत्रफलमा बन्ने अपार्टमेन्टमा पाँच ब्लक रहनेछन्, जसको निर्माणमा १० देखि १२ अर्ब रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ। २१ तले अपार्टमेन्टमा स्वीमिङपुल, जिम, रुफटप रेष्टुरेन्ट, वाकिङ पार्क, चिल्ड्रेन गार्डेनलगायत आधुनिक सुविधा समावेश गरिनेछ। कम्पनीकी निर्देशक निलिमा राणाले परियोजनाको जिम्मेवारी सम्हालिरहेकी छिन्।
‘द ओबराय काठमाडौं’ पाँचतारे होटल
राणाले आतिथ्य क्षेत्रमा समेत ठूलो लगानी अघि सारेका छन्। रविभवनस्थित ४६ रोपनीभन्दा बढी जग्गामा भारतको प्रतिष्ठित होटल चेन ‘ओबराय’सँग सहकार्यमा पाँचतारे डिलक्स होटल निर्माण भइरहेको छ।
‘द ओबराय काठमाडौं’ नाम दिइएको होटलमा १६० कोठा रहने छन्। ८ ब्लकमा विभाजित भवनलाई अन्तर्राष्ट्रिय मापदण्डमा तयार पारिनेछ। प्रारम्भिक अनुमानअनुसार होटलमा जग्गासहित १३ अर्बदेखि १५ अर्ब रुपैयाँसम्म लगानी हुने देखिएको छ। २०२९ भित्र होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सिप्रदी ट्रेडिङमार्फत अटोमोबाइल व्यवसायमा परिचित राणा हस्पिटालिटी, जलविद्युत्, उत्पादनमूलक उद्योग, ट्राभल एण्ड टुरिज्मदेखि लगानी कम्पनीहरूसम्म सक्रिय छन्। सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अटोपार्ट्स, हिमालयन इन्टरनेशनल इनर्जी, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप र सूर्य नेपाललगायत कम्पनीमा उनको लगानी छ।

.jpeg)