काठमाडौं- झकिझकाउ बत्ती। भिडभाड। चौतर्फी गडिरहेका आँखा। उत्सुकता। जिज्ञासा। विलासी नजर। कतिपय हेयको त्यो भाव। तर बाहिरी चमक र प्रदर्शनभन्दा माथि लगन, आत्मविश्वास र पेसागत गरिमा। मुस्कानपछाडि लुकेको मेहनत र संवेदशीलता।
उनीहरू कुनै कृत्रिम वस्तु होइनन्, कृत्रिम वस्तुलाई जीवन्त ढंगले प्रस्तुत गर्ने ‘मोडल’ हुन्। जहाँ कला र प्रविधिको संयोजन भइरहेको छ। सशक्तीकरणको शक्तिशाली माध्यम बनिरहेको छ। उनीहरूको आत्मविश्वास र प्रस्तुति कौशलले ‘ब्रान्ड’को सन्देशलाई जीवन्त बनाइरहेको छ।
काठमाडौं भृकुटीमण्डपमा चलिरहेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा सवारी पारखीहरूको बाक्लो उपस्थितिबीच मोडल सुप्रज्ञा शर्माको कानमा पर्यो, ‘गाडीलाई हेर्नु कि तिमीलाई हेर्नु?’
एक्स्पोमा ओमोडा/जेइको ब्रान्डसँग जोडिएकी सुप्रज्ञाले जस्तै अनावश्यक प्रश्नको सामना अन्य मोडलहरूले पनि गरिरहेकै छन्। सुप्रज्ञा भन्छिन्, ‘हामीलाई कसैले हेरोस् भनेर हामी यहाँ बसेको होइन। हामी आफ्नै लागि बसेको हो। यो हाम्रो काम हो। हाम्रो व्यक्तित्व विकास, आफ्नो ज्ञान बढाउन बसेको हो।'
अटो एक्स्पोमा मोडलहरुले ब्रान्डको मार्केटिङ र बिक्रीमा महत्त्वपूर्ण सहयोग त गरेकै छन्, त्यससँगै आफ्नो व्यक्तित्व विकास र महत्त्वपूर्ण पेसागत अनुभव पनि लिइरहेका छन्। उनीहरूले आफ्नो पेसागत पहिचान बलियो बनाउँदै कला प्रदर्शन गर्ने मञ्च पाएका छन्। जहाँ मेहनत र परिश्रमले ‘संसार जित्न’ लम्किरहँदा मान्छेका आँखा र त्यससँग जोडिएका सोच जित्न मुस्किल नै छ।
‘म आईटीमा काम गर्छु, म नर्स हो, म डाक्टर हो भन्नु र म मोडल हो भन्नुमा यहाँ धेरै भिन्न रुपमा लिइन्छ। मोडलिङ अरुजस्तै एउटा पेसा हो भन्ने सोचबाट हेरिएको पाइँदैन’ निशान ब्रान्डलाई प्रस्तुत गरिरहेकी मोडल जेनिफर डोटेलले सुनाइन्।
मोडलिङ कुनै विचार, डिजाइन वा वस्तुलाई आकर्षक, प्रभावकारी र व्यवस्थित तरिकाले प्रस्तुत गर्ने प्रक्रिया हो। जसको क्षेत्र निकै व्यापक छ। बाहिरबाट हेर्दा मोडलिङमा जुन सहज चमक देखिन्छ यो संसारभित्र उति नै कडा परिश्रम लुकेको छ। लामो अभ्यास, मानसिक दबाब र प्रतिस्पर्धा यति सजिलो छैन।
‘मोबिलिटी एक्स्पोमा जति पनि ग्राहकहरू आएर सोध्नुहुन्छ उहाँहरूलाई हामीले गाडीको बारेमा बताइदिनुपर्ने हुन्छ। त्यसको विशेषतादेखि सबै कुराबारे हामीलाई जानकारी हुनुपर्छ। हामीले गाडीको बारेमा सकेसम्म राम्रोसँग प्रस्तुत गर्न सकौँ भन्नेमा विचार गरेका हुन्छौँ’ एक्स्पोमा जिकर नेपाललाई प्रस्तुत गरिरहेकी मोडल श्रद्धा अधिकारीले भनिन्।
श्रद्धा काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी पनि हुन्। उनले सोखको रुपमा मोडलिङ पेसा अपनाएकी छिन्। ‘म पहिले त अन्तरमुखी स्वभावको मान्छे हुँ तर मोडलिङमा आएपछि खुलेर राम्रोसँग बोल्न सक्ने भएकी छु। व्यक्तित्व विकासमा पनि यसले मद्धत गरिरहेको छ। आफ्नो नेटवर्क बढाउन पनि सहयोगी भइरहेको छ’ उनले भनिन्।
श्रद्धाको जस्तै अनुभव छ निरुता चापागाइँको पनि। अमोडा जेइको ब्रान्डलाई प्रस्तुत गरिरहेकी निरुता आफ्नो व्यक्तित्व विकासमा एक्स्पो सहयोगी भइरहेको बताउँछिन्। ‘नयाँ मान्छेसँग भेट्नु, कुरा गर्नु, नेटवर्क विकास गर्नु धेरै नै सहयोग भइरहेको छ। व्यक्तित्व विकाससँगै व्यावसायिक अवसरको विकासमा पनि एक्स्पोले सहयोग गरिरहेको छ’ आईटी स्नातक विद्यार्थी निरुताले सुनाइन्।
कृत्रिम पुतलीहरूमा लुगा लगाइदिएर भइरहेको विज्ञापनको कामलाई सन् १८०० को मध्यतिर फ्रान्समा बसोबास गर्ने बेलायतका चार्ल्स फ्रेडरिक वर्थले जीवित मानिसमार्फत पहिलोपटक गरेका हुन्। सन् १९२० मा पहिलो मोडलिङ एजेन्सी नै खुलेर अघि बढेको यो पेसा आज अर्बौँ डलरको उद्योगमा रूपान्तरण भइसकेको छ। जहाँ मोडलहरुले उत्पादन र उपभोक्ताबीच पुलको काम गरिरहेका छन्।
प्रविधिको नयाँ युगमा नेपाल विश्व मोडलिङ उद्योगबारे बेखबर छैन। यहाँ नै पनि फेसन शो, सौन्दर्य प्रतियोगिताहरूमा मात्र होइन पत्रपत्रिका, म्यागेजिन र टेलिभिजनलगायतका विज्ञापनमा मोडलहरुको लामै इतिहास बनिसकेको छ।
सन् १९९४ मा पहिलोपटक ‘मिस नेपाल’ जस्तो प्रतियोगिता आयोजना भएयता त नेपालमा यसले उद्योगकै रुप लिइसकेको छ। हिजोआज सोसल मिडिया र डिजिटल प्लेटफर्म मोडलिङको नयाँ रंगमञ्च बनेका छन्। टिकटक, इन्स्टाग्राम ‘एन्फ्लुएन्सर’ का नाममा प्रभावशाली बनिरहेका मोडलहरु नै दर्जनौँ भइसकेका छन्।
मोबिलिटी एक्स्पोमा भइरहेको जस्तो ‘प्रमोशनल’ मोडलिङको बहुआयाम छ। एचटीएफ मार्केट इनसाइट्सका अनुसार २०२४ मा विश्व अटो शो प्रोमोशनल मोडलिङ सेवाको वार्षिक मूल्य १.२ अर्ब अमेरिकी डलरभन्दा बढी रह्यो। जुन केवल फोटोको लागि ‘पोज’ दिने पेसा होइन, ब्रान्डको शैली र संस्कृतिको वाहक हो।
डिजिटल युगको रूपान्तरणसँगै मोडलिङ फेरिएको छ। व्यवसाय, प्रविधि र बजारमा त्यसको प्रभाव स्पष्ट देखिन्छ। हिजोआज अटो एक्स्पोहरुमा महिला र पुरुष दुवै मोडलहरू ब्रान्ड एम्बासेडरको रूपमासमेत काम गर्छन्, जानकारी दिन्छन् र सोशल मिडिया कन्टेन्टका लागि सहयोगी हुन्छन्। नेपालमै पनि खेलाडी, कलाकार र अन्य 'सेलेब्रिटी'को प्रयोग 'ब्रान्ड प्रमोशन' का लागि मोडलका रुपमा भइरहेको छ।
‘मोबिलिटी एक्स्पोजस्ता शोहरुले नयाँ अवसर सिर्जना गर्ने काम गरिरहेका छन्। हामीलाई आफ्नो क्षमता विकासमा पनि यसले निकै सहयोग गरिरहेको महसुस गरेकी छु। गाडीको बारेमा मात्र होइन मान्छेहरु पनि चिनिन्छ यहाँ। मानिसहरुसँग बोल्न सहज रुपले सक्नु पनि निकै महत्त्वपूर्ण कुरा हो’ फिल्म स्टडिज अध्ययनरत मोडल सुप्रज्ञाले सुनाइन्।
कस्तो छ नाइमा एक्स्पोमा मोडलहरूको अनुभव?
यो हाम्रा लागि अवसर हो : श्रद्धा अधिकारी (मोडल/एमबीबीएस विद्यार्थी)
नाइमा नेपाल जस्तो एक्स्पोमा मेरो पहिलो अनुभव हो। अहिले नयाँ कुराहरू सिक्ने अवसर पाइरहेकी छु। यहाँ सेल्सको बारेमा पनि कुराहरू सिक्छु र यसले मेरो आत्मविश्वास बढाउन पनि सहयोग गर्छ भन्ने ठानेकी थिएँ त्यस्तै नै भइरहेको छ। मानिसहरूसँग कुराकानी गर्दा आफ्नो आत्मविश्वास बढ्ने रहेछ।
मोडलिङ व्यावसायिक रुपमा नै गर्नका लागि हरेक पटक क्यामेरासँग फेस गर्न तयार हुनुपर्यो। मोडलिङ गोज वियोन्ड ग्ल्यामर र फेस। हामीले बाहिरबाट हेर्दा ग्ल्यामर र फेसमात्र देखे पनि यसलाई गहिरोगरी विचार गर्ने हो भने आफैलाई हरेक कुरामा निखार्नुसँग सम्बन्धित छ। हामीभित्र कति असुरक्षाका भावहरु हुन्छन्, त्योसँग लड्न पनि मद्धत गर्छ।
नेपालमा मानिसहरूको सोचमा धेरै परिवर्तन आएको छैन। मोडल भएर नांगो लुगा लगाएर हिँड्छ भन्ने मैले पनि सुनिरहेकै हुन्छु। त्यसमा मानिसहरूले आफ्नो सोच धारणामा सुधार गर्नुपर्छ भन्ने लाग्छ। यो अवस्था छिटै नै परिवर्तन भइहाल्छ भन्न पनि सकिँदैन। हाम्रो पुस्ताका मान्छेले बिस्तारै बुझ्दै पनि आउनुभएको छ।
गाडीमा बसेर ब्रान्डलाई रिप्रिजेन्ट गरिरहँदा कसैले मलाई नराम्रो भन्छ भने उहाँको सोच त मैले परिवर्तन गर्न सक्दिनँ तर मैले यो अवसर उपयोग गरेको केही सिक्नका लागि हो। मलाई धेरै मानिसहरुसँग कुराकानी गर्न उनीहरुको कुरा बुझ्न राम्रो पनि लाग्छ। नेटवर्क र कनेक्सनको कुराहरू भनेको पब्लिक प्ल्याटफर्मले दिने हो।
फाइनान्सिएल रुपमा हेर्दा भर्खर भर्खर करिअर सुरु गर्दा मोडलिङमा धेरै सजिलो त हुँदैन तर काम गर्दै जाँदा धेरै कुरा बुझ्दै गइन्छ, राम्रो हुँदै जान्छ, मान्छेहरू पनि चिनिन्छ। क्यामराअघि सहज महसुस हुन्छ।
व्यक्तित्व विकास भइरहेको छ : जेनिफर डोटेल (मोडल/नर्सिङ विद्यार्थी)
मोडलिङको काम पनि गरिरहेको र अहिले फुर्सदको समय भएकाले नाइमा एक्स्पोमा काम गर्न आएँ। मोडलिङमा काम गर्न थालेको एक वर्ष जति भयो।
यहाँ थोरै कुरा सिक्ने अवसर यहाँ पाइरहेकी छु। कारको बारेमा पनि धेरै कुरा बुझेँ। अरुको दृष्टिकोणबाट हेर्दा ‘सेल्स गर्ल’ कस्तो हुने रहेछ भनेर पनि बुझ्ने मौका पाइयो। तर अब बिहानदेखि बेलुकासम्म उभिनु पर्छ त्यो चाहिँ अलि गाह्रो छ। सुरु सुरुमा यस्तै हो पेनले नै हुने हो गेन पनि। जे होस् सोचेभन्दा राम्रो भइरहेको छ। मेरो लक्ष्यभन्दा पनि यो एउटा शोखजस्तो हो।
नयाँ कुरा सिक्न बुझ्न यस्तो एक्स्पोहरूले धेरै नै सहयोग गरिरहेको हुन्छ। अनुशासन र समयको महत्व सिकिन्छ। मोडलिङ भनेको मेकअप गर्ने र फोटो खिच्नेमात्र नभएर आफ्नो व्यक्तित्व विकासको विषय हो।
सहज रुपले बोल्न सक्नु पनि निकै महत्त्वपूर्ण छ : सुप्रज्ञा शर्मा (मोडल/फिल्म स्टडिज विद्यार्थी)
जस्तो फिल्डमा हामी छौँ यसमा निर्धक्क कुराकानी गर्न सक्नु एकदम महत्त्वपूर्ण हुन्छ। यहाँ खुलेर कुराकानी गर्न सकिरहेकी छु। मोडलिङको कामले आत्मविश्वास बढाउन, व्यक्तित्व विकासमा सहयोग गर्छ भने किन नगर्ने त भनेर यहाँ काम गरेँ।
मोडलिङमा मात्रै काम गरेर पनि नेपालमा राम्रो गर्न सकिन्छ। अवसरहरू आफैले सिर्जना गर्न सक्नु पर्छ। मैले यहाँ गरेको कामले अब थप कामहरु पाउन सक्छु। मानिसहरुसँग चिनजान बढाउन सक्छु। यो पेसाबाट जीवनयापन राम्ररी गर्न सकिने अवस्था भइसकेको छ।
मोबिलिटी एक्स्पोजस्ता शोहरुले नयाँ अवसर सिर्जना गर्ने कामहरु गरिरहेका छन्। हामीलाई आफ्नो क्षमता विकासमा पनि यसले निकै सहयोग गरिरहेको महसुस गरेकी छु।
गाडीको बारेमा मात्र होइन मान्छेहरु पनि चिनिन्छ यहाँ। मानिसहरुसँग बोल्न सहज रुपले सक्नु पनि निकै महत्त्वपूर्ण कुरा हो। सपना ठूलो छ त्यहाँसम्म पुग्छु होला एकदिन।
व्यावसायिक अवसर विकास हुन्छ : निरुता चापागाइँ (मोडल/आईटी विद्यार्थी)
मलाई यो एक्स्पो हुँदै छ भनेर थाहा पाएदेखि नै यहाँ संलग्न हुन मन थियो। यहाँ पाइरहेको अनुभव कति त शब्दमा व्यक्त गर्न पनि मुस्किल हुन्छ। नयाँ मान्छेसँग भेट्नु, कुरा गर्नु, नेटवर्क विकास गर्नु धेरै नै सहयोग भइरहेको छ। व्यक्तित्व विकाससँगै व्यावसायिक अवसरको विकासमा पनि एक्स्पोले सहयोग गरिरहेको छ।
मोडलिङलाई लिएर मानिसहरूको धारणा बिस्तारै फेरिँदै गइरहेको छ। मोडलिङभित्र पनि धेरै फिल्डहरु छ। टेलिभिजनदेखि अन्य सबैतिर विज्ञापनमा मोडलको प्रयोग त भएकै हुन्छ। समय बढ्दै जाँदा सकारात्मक प्रतिक्रिया आउँदै गइरहेका छन्।
करिअर नै मोडलिङमा बनाउन नेपालमा सम्भव भइरहेको छ। त्यस्ता धेरै उदाहरणहरु छन्। नयाँनयाँमा अलि कठिन भए पनि बिस्तारै राम्रो हुँदै जान्छ।