सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

सफल उद्यमी आदित्य झाको पाठ : असफलताबाट सिकेरै अब्बल बन्ने हो

images
सोमबार, साउन १९ २०८२
images
images
सफल उद्यमी आदित्य झाको पाठ : असफलताबाट सिकेरै अब्बल बन्ने हो

'हरेक व्यक्ति असफलताबाट सिकेर अब्बल बन्ने हो। मेरो जीवनमा पनि सफलताभन्दा धेरै असफलता छन्। तर हामी त्यसको चर्चा गर्दैनौँ। मानिसहरू असफलताको कुरा गर्न चाहँदैनन्।'

images
images

काठमाडौं- तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी हुन्। नेपाली मुलका क्यानडेली व्यवसायी। ‘अर्डर अफ क्यानडा’ का सफल उद्यमी। डिजी मार्केट इन्टरनेसनलका संस्थापक। महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका झालाई धेरैले प्रश्न गर्छन्, 'गाउँको मान्छे तपाईँले कसरी यस्तो अवसर पाउनुभयो?'

images

झाले यो प्रश्न धेरै पटक सुनेका छन्। कति ठाउँमा वक्ताका रूपमा आफै यसबारे बोलेका छन्। उनलाई लाग्छ, मानिसहरू प्रायः परिस्थितिले अल्झिन्छन् र परिस्थितिबाटै सफलताको खुड्किलो चढ्छन्।

images
images

उनका बुबा वकिल थिए। मधवामा करिब ९० बिघा जमिन थियो। शिक्षित र सम्पन्न परिवार भएकाले उनले फरक अवसर पाए। 'मेरो फाइदा के भयो भने मैले राम्रो शिक्षा पाएँ। जवारलाल नेहरू विश्वविद्यालय पीएचडी गरेँ। जब तपाईँ यस्ता उत्कृष्ट संस्थामा जानुहुन्छ, तपाईँको भेट ठूला मानिससँग हुन्छ, तपाईँको दृष्टि फराकिलो हुन्छ', झा सुनाउँछन्।

images
images
images

उनले दिल्ली विश्वविद्यालय हंसराज कलेजबाट स्नातक र कुरुक्षेत्र विश्वविद्यालयबाट गणित विषयमा एमएससी पास गरे। सन् १९७९ देखि १९८४ सम्म जवाहरलाल नेहरू विश्वविद्यालयमा कम्युटर विज्ञानको शोधकर्ताका रूपमा काम गरे र पीएचडी उपाधि हासिल गरे। त्यसपछि उनको यात्रा, फ्रान्स, सिंगापुर, अष्ट्रेलिया हुँदै क्यानडातर्फ मोडियो।

उद्यमामा कसरी मिल्यो सफलता? उनी भन्छन्, 'यसको जवाफ म धेरै बुद्धिमान भएर होइन, तर सही वातावरण र परिस्थिति पाएर हो। मानिसहरू प्रायः यो कुरा राम्रोसँग बुझ्दैनन्। तपाईँको सफलता केवल तपाईँको कारणले होइन। यो त सामाजिक परिस्थिति कस्तो छ त्यसमा निर्भर गर्छ।

पीएचडीपछि झाले सिंगापुरमा पाँच वर्षसम्म एक अमेरिकी कम्पनीको परामर्शदाताको रूपमा काम गरे। त्यहाँको नेशनल युनिभर्सिटी अफ सिंगापुरमा उनले ‘भिजिटिङ फ्याकल्टी’का रूपमा कम्प्युटर साइन्स पढाउँथे। सिंगापुरमै हुँदा उनले क्यानडाको स्थायी बसोबासका लागि आवेदन दिए र तीन महिनामा नै अनुमति आयो।

क्यानडा पुगेको दुई महिनामा झा एक कम्पनीमा निर्देशकका रूपमा नियुक्त भए। दुई वर्षमै त्यही कम्पनीको जनरल म्यानेजर भए। करिब पाँच वर्षपछि उनले त्यो कम्पनी छोडे।

एक हजार डलर लगानी गरेर आफ्नै कम्पनी खोले - आइसोपिया इन्क। करिब अढाइ वर्षपछि त्यो कम्पनी १० करोड अमेरिकी डलरमा बिक्री भयो। ‘आइसोपिया इन्क’ क्यानडाको ऐतिहासिक सफल स्टार्टपको रूपमा गनिन्छ। यसलाई सन् २००१ मा अमेरिकी प्रविधि कम्पनी सन माइक्रोसिस्टम इन्कले खरिद गरेको थियो।

अरूले जहाँ असफलता देख्छन्, झाले त्यहीँ अवसर देखे। कसैले उनलाई टोरोन्टोमा क्याडबरीको चकलेट कारखाना बन्द हुँदैछ भनेर सुनाए। पचास वर्ष पुरानो त्यो कारखाना घाटामा थियो। जसकारण क्याडबरीले बन्द गर्दै थियो। त्यतिबेला झाले सोचे, 'म किन्छु।'

तर उनका साथीहरूले भने, 'तिमी कसरी चलाउँछौँ? क्याडबरी नै बन्द गर्दैछ। तिमीले कसरी नाफामा लैजाने?' झाको जवाफ थियो, 'म चतुर छु, विश्वासी छु। म सक्छु।'

त्यो कम्पनी खरिद गरेको एक वर्षमै नाफामा आयो। साढे दुई वर्षपछि त्यो कारखाना बिक्री गरिदिए। त्यो सन् २००७ देखि २०१० तिरको हो। त्यसपछि वासिङ्टन डिसीको सफ्टवेयर कम्पनी डिजी मार्केटमा झाको दृष्टि पर्‍यो। त्यो कम्पनी विश्व बैंकको लगानीमा चलेको थियो तर बन्द हुने अवस्थामा थियो।

डिजी मार्केट किन्दै गर्दा उनलाई लागेको थियो, 'यो कम्पनीबाट म १० करोड डलर वा सायद एक अर्ब पनि कमाउन सक्छु, वा केही नकमाउन पनि सक्छु। तर एउटा क्षेत्रमा त हात हाल्नैपर्छ।' उनले त्यो क्षेत्र रोजे।

झाले ‘पोआ एजुकेसन फाउन्डेसन’ मार्फत धेरै परोपकारी र समाजसेवी काम गरिरहेका छन्। यसै फाउन्डेसनले झाको पहलमा सन् २००४ मा स्थापना भएको ‘नेपाल लाइब्रेरी फाउन्डेसन’ मार्फत नेपालमा पुस्तकालयको प्रवर्द्धन र विशेषगरी इन्टरनेट नपुगेका ठाउँहरूमा विद्युतीय पुस्तकालय स्थापना गर्ने महत्त्वपूर्ण काम गर्‍यो। त्यसरी नै २०२० तिर काठमाडौंका १० वटा विद्यालयमा कम्युटर वितरण गर्ने अभियानमा पनि झाले सहकार्य गरेका थिए।

यस्ता परोपकारी र सामाजिक योगदानका कारण झालाई थुप्रै सम्मान र उपाधि प्राप्त भए। उनले सन् २०१२ मा क्यानडाको सबैभन्दा ठूलो नागरिक सम्मान ‘अर्डर अफ क्यानडा’ पाए। त्यस्तै, सन् २००९ मा टोरन्टो मेट्रोपोलिसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी पाए। त्यसबाहेक टोरन्टो विश्वविद्यालयको स्कुल अफ बिजनेसमा ७२ मिलियन डलर बराबरको पुँजी संकलन अभियान तथा युनिसेफ क्यानडाका विभिन्न अभियानमा समेत झाको उल्लेखनीय भूमिका रह्यो।

स्वाभाविक प्रश्न थियो- 'यी सबै अनुभव सँगालेको व्यक्तिको जीवनमा कस्ता उतारचढाव भए होलान्?'

'धेरै उतारचढाव भए। म विभिन्न बिजनेस स्कुलहरूमा बोल्न जान्छु। त्यहाँ म आफ्ना अनुभव सुनाउँछु। एउटा साँचो कुरा के भने मलाई ‘सफल’ भन्ने शब्द खासै मन पर्दैन। किनभने हाम्रो जीवनमा सफलताभन्दा धेरै असफलता हुन्छ', उनी भन्छन्, 'प्रायः सबै मानिसको जीवनमा यस्तै हुन्छ। त्यसैले हामीले सफलताभन्दा असफलतालाई बुझ्न सिक्नुपर्छ।'

झालाई लाग्छ, सफलता भनेको कुनै स्थायी कुरा होइन, बरु एउटा क्षणिक घटनामात्र हो। उद्यम गर्न चाहने मानिसले त झन् धेरै उतारचढाव भोग्नुपर्छ। 'हरेक व्यक्ति असफलताबाट सिकेर अब्बल बन्ने हो। मेरो जीवनमा पनि सफलताभन्दा धेरै असफलता छन्। तर हामी त्यसको चर्चा गर्दैनौँ। मानिसहरू असफलताको कुरा गर्न चाहँदैनन्,' झाले हाँस्दै सुनाए।

'कहीँकतै नेपालका धनाढ्यहरूको सूचीमा मेरो नाम पनि देखिन्छ। तर त्यो साँचो होइन। धनी ठानेर वा नमानेर खासै के फरक पर्छ र?', उनको प्रश्न थियो, 'मुख्य कुरा के हो भने, तपाईँले कमाएको पैसाले के गर्नुभयो? बच्चाहरूका लागि राख्यौँ, बिहेमा खर्च गर्‍यौँ, त्यसको खास अर्थ भएन। मेरा छोराछोरी आफ्नै पेसा व्यवसायमा छन्। मेरो सम्पत्ति उनीहरूका लागि होइन। अब म धेरै व्यवसाय गर्न पनि चाहन्नँ।'

उद्यमशीलता गर्न जागिरको भर पर्नै पर्दैन, डिग्रीको प्रमाणपत्रको पनि खाँचो पर्दैन। केवल व्यवसाय कसरी चलाउने भन्ने सीप र सल्लाह चाहिन्छ। त्यसका लागि मोबाइल एपमार्फत उनीहरूलाई प्रशिक्षित गर्ने, व्यवसायको खातापाता राख्नेदेखि वित्तीय अनुशासन र बचतको बानी बसाल्नेसम्मका योजना छन् झाका।

'हरेक दिन कति कमाइ भयो भनेर रेकर्ड राख्न, बैंक र वित्तीय संस्थासँग कसरी पहुँच राख्ने र त्यसबाट लाभ लिने भन्ने पनि सिकाउन सकिन्छ। स्वरोजगार हुनु आफैमा सम्मानको कुरा हो', उनी भन्छन्।

त्यसका लागि कति समयको योजना हो? कैले सुरु हुन्छ? झाले सरल जवाफ दिए, 'जब मेरो बैंक खातामा त्यसका लागि पैसा हुनेछ।'

झा अब आफ्नो जन्म गाउँ जनकपुरमा बनाएको एउटा फार्म हाउसमा बसेर बाँकी जीवन त्यहीँ रमाउन चाहन्छन्। 'त्यहाँ १२५ वटा आँपका बोट छन्, ५० लिची, ७५ कागती र ५० हाराहारी अमलाका बोट छन्। त्यही मेरा लागि अहिलेको खुसी हो', झाले आफ्नो योजना सुनाए। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend