बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धरानमा २३ करोडको बसपार्कले पूरा गर्‍यो २३ बर्से सपना, बजार विस्थापनको खतरा

सोमबार, साउन ५ २०८२
धरानमा २३ करोडको बसपार्कले पूरा गर्‍यो २३ बर्से सपना, बजार विस्थापनको खतरा

सडक सञ्जालको विकासले धरानलाई एक्लो बनाउँदै लगेको छ। मध्य पहाडका फैलिएका राजमार्गहरूले काठमाडौंसँगको पहुँच नजिक बनायो।

विराटनगर- व्यवस्थित सहरको पहिचान बनाएको धरानले आफ्नो परिचय बदल्न थालेको छ। सुन्दर र सफा सहरको रूपमा चिनिन्छ धरान। फेसन, कला, खेलकुद र स्वास्थ्योपचारले धरानको गरिमा बढायो। ब्रिटिस तथा इन्डियन लाहुरेले धरानलाई जुरुक्क उचाले।

पूर्वी पहाडको प्रमुख व्यापारिक नाकाको रूपमा धरानले लामो समय राज गर्‍यो। भौगोलिक हिसाबमा चुरेको फेदमा रहेको धरान हरियो वनले घेरिएको छ। लामो समयदेखि धरानको छुट्टै सान छ।

पछिल्लो समय राजनीतिकरूपमा निकै तरंगित धरान आर्थिक हिसाबमा शिथिल बन्दै छ। आर्थिक शिथिलताका पछाडि अनेक कारण छन्। संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ताप्लेजुङ, पाँचथरसम्मको व्यापारिक केन्द्र थियो धरान। सडक सञ्जालको विकासले धरानलाई एक्लो बनाउँदै लगेको छ। मध्य पहाडका फैलिएका राजमार्गहरूले काठमाडौंसँगको पहुँच नजिक बनायो।

अहिले धरानको मुख्य बजारभन्दा बाहिरबाटै मदन भण्डारी राजमार्ग बन्दैछ। रानी, विराटनगर, इटहरी, धरान (६ लेन) सडक आयोजनाको काम धरानको तीनकुनेबाट रोकियो। जुन धरानको मुख्य बजारभन्दा १.५ किलोमिटर टाढा पर्छ।

dharan - purano buspark.jpg

मुलघाटदेखि पाँचथरसम्मको अर्को राजमार्गले केही राहत दिने अपेक्षा गरिएको छ। निर्माणाधीन भेटडार-रवि-राँके सडकले धरानलाई फाइदा हुने व्यवसायीहरू बताउँछन्।

तर चतरादेखि मुलघाटसम्मको सडकको काम सुरु भएको छ। चतराबाट लेगुवासम्मको अर्को सडकको ट्रयाक खुल्दैछ। जसले धरान प्रवेश नगरी भोजपुर, सङ्खुवासभा, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लाबाट इटहरी, विराटनगर र काठमाडौं पुग्न सकिन्छ।

dharan bus terminal.jpg

धरानको व्यापारिक चाप कमजोर बन्दै गइरहेको बेला अत्याधुनिक बसपार्क सञ्चालनमा आउने भएको छ। धरानको मुख्य बजारदेखि एक किलोमिटर दुरीमा बसपार्क निर्माण भएको छ।

२०५९ सालमा तत्कालीन मेयर मनोज मेन्याङ्बोले ‘तीनकुने सुन्दर बस्ती विकास आयोजना’ को रूपमा बसपार्कको योजना अगाडि सारे। २३ वर्षअगाडि धरान चलायमान हुँदाका बखत देखेको सपना बल्ल पूरा भएको छ।

buspark dharan DPR.jpg

२०७५ सालमा ४३ लाख खर्च गरेर धरान उपमहानगरपालिकाले डीपीआर तयार पार्‍यो। सरकारले २०६२ भदौ २७ गते राजपत्रमा प्रकाशित गरेको आयोजनामा स्मार्ट पार्किङसहितको बसपार्क ३ तलाको निर्माण भएको छ।

buspark dharan DPR .jpg

बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ। संघीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भएको हो।

‘बिकोइ गीताञ्जली जेभी’ले २३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो। २०८१ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि कानूनी झमेलाले एक वर्ष ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ।

dharan naya buspark1.jpg

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ। विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भइसकेको छ। बाह्य सडक, मार्बल, फल्स, सिलिङको काम सकिएको दुई महिना भयो। भुइँतलामा करिब तीनसय यात्रु बस्न मिल्ने प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभी र सुरक्षा कक्ष हुनेगरी व्यवस्थापन भएको छ।

सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट पनि टर्मिनल भवनमै हुने भएको छ। भवनको पहिलो तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्षहरू हुनेछन्।

तीन तलाको बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) मा पर्याप्त गाडी पार्क गर्न सकिने भएको छ। हाल भानु चोकमा अवस्थित बसपार्कलाई सार्ने तयारी भइरहेको धरान उपमहानगरपालिकाका इन्जिनियर सरोज श्रेष्ठले जानकारी दिए।

बसपार्क सञ्चालन मोडालिटीबारे समिति नै बनाएर अध्ययन गर्ने तयारी भइरहेको उनको भनाइ छ। निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिँदा कुन सर्तमा र कहिलेसम्मको लागि दिने भन्ने विषयमा त्यही समितिले निर्णय गर्ने इन्जिनियर श्रेष्ठले प्रस्ट पारे।

dharan - haal ko buspark - purano.jpg
हालको धरान बसपार्क

केही असन्तुष्ट जग्गाधनीहरूले आफूहरूको सहमतिबिना आयोजना र बसपार्कको काम अघि बढेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। उच्च अदालत विराटनगरले २०८१ साउन २८ गते बसपार्कविरुद्धको रिट खारेज गरेसँगै निर्माण कार्य पनि सुरु भएको छ।

मुद्दाका कारण निर्माण कार्यमा अवरोध नपुगेको भए निर्माण सम्पन्न गर्ने अवधिभन्दा ६ महिनाअघि नै काम सक्ने लक्ष्य राखिएको बिकोई गीताञ्जली जेभीका इन्जिनियर सरोज यादवले बताए। १० प्रतिशतमात्र काम सक्न बाँकी हुँदा मुद्दा परेको र थोरै कामको लागि धेरै समय पर्खनुपरेको उनको भनाइ छ।

स्थानीय मणिराज राईले पुनः जिल्ला अदालतमा जग्गा पाउँ भन्दै निवेदन दिएका छन्। जिल्ला अदालत सुनसरीले धरान उपमहानगरपालिकालाई त्यस विषयमा पत्रसमेत पठाइसकेको छ। जसले गर्दा बसपार्क सञ्चालनमा समस्या आए पनि असार ३२ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाँकी काम थाती राखेर बसपार्क सञ्चालन गर्ने निर्णय गरेको छ। 


प्रकाशित : सोमबार, साउन ५ २०८२१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend