सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

मंगलबार, असार १० २०८२
बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भने सिम कार्ड ल्याउने अनुमति दूरसञ्चार कम्पनी र स्याटेलाइट अपरेटरले मात्र पाउने बताउँछन्।

काठमाडौं- सवारीसाधन आयात गर्ने कम्पनीले सिम कार्ड आयात गरेको सन्देहपूर्ण काम देखिएको छ। चिनियाँ सवारी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले दर्जनौँ सिम कार्ड आयात गरेको तथ्य फेला परेको हो। 

दूरसञ्चार सेवाप्रदायक कम्पनीले मात्र सिम कार्ड ल्याउन पाउने कानूनी व्यवस्था र अभ्यास रहेकोमा सवारीसाधन बिक्री गर्ने कम्पनी साइमेक्स इंकले किन र कसरी सिमकार्ड ल्यायो भन्ने प्रश्न सघन देखिएको छ। बिजनेस न्युजले अध्ययन गरेका कागजातमा साइमेक्स इंकले चीनबाट ५० वटा सिम कार्ड आयात गरेको देखिन्छ। 

साइमेक्सले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा खरिद गरेको बीवाईडी (एचके) लिमिटेडले २०२५ अप्रिल २९ मा साइमेक्स इंक प्रालिका नाममा काटेको बिलबीजकमा उल्लेख छ। यसअघि नेपालमा आयात भएको कुनैपनि सिम कार्डको मूल्य यति धेरै रहेको पाइएको छैन।

सामान्यत: सिम कार्डको आयात मूल्य (करसमेत) औषतमा ६० देखि ७० रुपैयाँ रहने गरेको भन्सारको तथ्यांकले देखाएको छ। तर साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा नेपाल भित्रँदा प्रतिसिम कार्ड ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ।

साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको देखिन्छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ। 

गाडी आयातकर्ताले किन र केका लागि सिम कार्ड आयात गर्‍यो? भन्ने गम्भीर प्रश्न उठेको छ। गाडी आयात गर्ने कम्पनीले सिम आयात गर्न पाइने वा नपाइने भन्ने विषयमा सरकारी निकायहरूबीच मतैक्य छैन। दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकले मात्र सिम कार्ड आयात गर्न पाइने बताएको छ। यता भन्सारले भने त्यसबारेमा केही स्पष्ट नभएको बताएको छ। 

भन्सार कार्यालय रसुवाले साइमेक्स इंकले नेपाल दूरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक (नेपाल टेलिकम र एलसेल) कुनै पनि निकायबाट सिम कार्डको अनुमति लिएको कागजात पेश नगरेको जनाएको छ।

भन्सारका एक अधिकारीले भने, ‘उनीहरूले सिम कार्ड भनेर ल्याएका छन्, आयातको अनुमति लिनुपर्ने वा नपर्नेमा हामी पनि र उनीहरू पनि दोधारमा थियौँ,’ ती अधिकारीले भने, ‘हामीले आफ्नै हिसाबले टेलिमक कम्पनीहरूसँग बुझ्दा सिम कार्ड अरु कम्पनीले ल्याउन पाउने वा नपाउने कुरा स्पष्ट नभएको पाइएपछि सिम कार्डकै भन्सार उपशीर्षकमा जाँचपास गरेका हौँ।’ 

यता दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भने सिम कार्ड ल्याउने अनुमति दूरसञ्चार कम्पनी र स्याटेलाइट अपरेटरले मात्र पाउने बताउँछन्। 

'नेपालमा दूरसञ्चार कम्पनी र स्याटेलाइट अपरेटर रहेका छन्। हाम्रो नियमनले सिम कार्ड ल्याउने अनुमति पाउने भनेका यी अपरेटरमात्र हुन्। यसबाहेक अरु कुनै माध्यम र च्यानल रहेको छैन। रोमिङका लागि व्यक्तिगत रुपमा आउने सिम कार्डको कुरा अपरेटर आफैले हेर्ने कुरा भयो’ उनले भने। 

साइमेक्स इंकले कुन प्रयोजनका लागि किन सिम कार्ड आयात गरेको हो भन्ने विषयमा भन्सार कार्यालयमा कुनै विवरण बुझाएको छैन। भन्सार कार्यालयले पनि सामान्य सोधखोज गर्दा गाडी कम्पनीले आयात गर्न मिल्ने वा नमिल्ने नखुलेकाले जाँचपास गरिदिएको जनाएको छ। साइमेक्स इंकले सिम कार्ड आयात गर्न कहीँ कतैबाट अनुमति लिएकोसमेत देखिँदैन। 

बीवाईडीका केही गाडीमा सब्सक्राइबर आइडेन्टिटी मोड्युल (सिम) कार्डको प्रयोग भइरहेको भए पनि अहिले आयात भएको कार्ड त्यही प्रयोजनका लागि हो या अन्य प्रयोजन हो भन्ने पनि खुलेको छैन। इन्टरनेट कनेक्टिभिटी र रिमोर्ट भेहिकल म्यानेजमेन्टका लागि त्यसको प्रयोग हुने गरेको देखिन्छ। जसमा एपमार्फत रिमोट कन्ट्रोल, ओभर-द-एयर अपडेट, चार्जिङको अवस्थाजस्ता विषय हुन्छन्। 

साइमेक्सले ल्याएको सिम कार्ड त्यसरी आयात गर्न पाइने वा नपाइने? पाइने हो भने कसरी र के प्रयोजनमा प्रयोग हुने? रोमिङ लिएर चलाउने हो भने कति समयसम्म रोमिङ भनेरै चलाउन पाउने? व्यक्तिगत प्रयोजनमा प्रयोग हुने रोमिङ एउटा कम्पनीले ल्याएर व्यापार गर्न पाउने वा नपाउने? रोमिङको शुल्कमा लाग्ने कर सिम कार्डमा लागेको अन्तःशुल्क र भ्याटबराबर नै हुने वा धेरै लाग्ने? रोमिङका रुपमा वर्षौँ विदेशी सिम कार्ड चलाउँदा डेटा सुरक्षा कसरी हुने? उक्त सिम कार्ड टेलिकम्युनिकेसनमै प्रयोग भएको हो वा जीपीएस चलाउन प्रयोग भएको हो? भन्नेजस्ता प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ।

यसका साथै साइमेक्स इंक टेलिकम सेवाप्रदायक पनि हो कि गाडीको आधिकारिक बिक्रेता? चीनबाट सिम कार्ड नै आयात गर्दा साइमेक्स चिनियाँ टेलिकमको डिलर हो? भन्नेजस्ता गम्भीर प्रश्नहरू पनि उठेका छन्। 

साइमेक्सले सिम कार्ड भनेर अर्को कुनै डिभाइस ल्याएको हो भने यसले झनै ठूलो जटिलता निम्त्याउन सक्छ। अर्को डिभाइसको भन्सार, अन्तःशुल्कलगायत करका दरहरू पनि फरक छन्। 

बीवाईडी (एचके) कम्पनी लिमिटेडले साइमेक्सका नाममा जारी गरेको कमर्सियल इन्भोइसअनुसारको विवरण - 

५० वटा सिम कार्ड प्रतिगोटा २ हजार ३ सय युआन

सिम कार्डको कुल मूल्य १ लाख १५ हजार युआन

भन्सारयोग्य रकम रुपैयाँमा २३ लाख ५६ हजार ६ सय ७७

भन्सार महसुल शून्य

अन्तःशुल्क १० प्रतिशत लाग्दा २ लाख ३५ हजार ६ सय ६८ रुपैयाँ

भ्याट १३ प्रतिशत लाग्दा ३ लाख ३७ हजार ५ रुपैयाँ 

सरकारलाई तिरेको कुल कर ५ लाख ७२ हजार ६ सय ७३ रुपैयाँ 

प्रतिसिम कार्ड भन्सार जाँचपासपछिको ल्यान्डिङ कस्ट ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : मंगलबार, असार १० २०८२१७:०५
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend