काठमाडौं- चीनबाट आयात हुने विद्युतीय माइक्रोबसलाई मिनिबस वर्गमा देखाएर आयात गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसरी माइक्रोबसलाई मिनिबसका रुपमा देखाएर ल्याउँदा राज्यले करोडौँ राजस्व गुमाएको छ। कानूनी व्यवस्थाको उपहास भइरहेको छ।
यसबारेमा भन्सार विभाग तथा कार्यालयहरूले चनाखो भएर काम गरिरहेका छन्। चीनबाट विद्युतीय माइक्रोबस तथा भ्यान आयात गरिरहेका कम्पनीहरूले तल्लो वर्गको कर तिरेर जाँचपास गराउन फोल्डिङ सिटलाई पूर्णसिट गणना गर्ने र माइक्रोबसलाई १५ सिट देखाएर मिनिबस वर्गमा जाँचपास गराउने प्रवृत्ति बढ्दै गइरहेको छ।
पछिल्लो समय भन्सार कार्यालयहरूले नेपाल भित्रने सबै नाकामा माइक्रोबस तथा मिनिबस र भ्यानसमेतमा रहेका सिटहरू इन्चिटेप लिएरै नापजाँच गरेर मात्रै जाँचपासमा लागेका छन्।
गत आर्थिक वर्षमा आयात हुँदा विद्युतीय माइक्रोबस हुनुपर्नेमा एक सिट धेरै देखाएर मिनिबसमा छुटाएको विषय महालेखा परीक्षकले उठाएको छ।
महालेखाको ६२औँ प्रतिवेदनमा हाइगर ब्रान्डका विद्युतीय बस मिनिबस वर्गमा आउँदा भन्सारले करोडौँ कर छुटाएकाले उठाउन भनिएको छ। हाइगर ब्रान्डको विद्युतीय बस शशिला मोटर्स प्रालिले आयात गर्दै आएको छ।
शशिला मोटर्सले आर्थिक वर्ष २०८०/८१ मा आयात गरेको माइक्रोबसलाई मिनिबस देखाएर भन्सार जाँचपास गर्दा २ करोड ८३ लाख ६० हजार ९ सय ८४ रुपैयाँ ६९ पैसा छुट हुने गएको महालेखाको ठहर छ। शशिला मोटर्सले माइक्रोबसलाई मिनिबस बनाएर एक वर्षमा ६५ वटा हाइगरका विद्युतीय सवारी आयात गरेको थियो।
यी माइक्रोबस एम १६२७, एम २०७३, एम २७३८, एम २७३८, एम २०६०, एम ४५३३ र एम ४६२६ नम्बरका प्रज्ञापन पत्रमा जाँचपास भएका थिए। यी प्रज्ञापन पत्रमा आएका विद्युतीय माइक्रोबस मिनिबस भनेर छुटाउँदा राज्यको २ करोड ८३ लाख ६० हजार रुपैयाँभन्दा बढी कर छुट्न गएको हो।
हाइगरका माइक्रो मिनिबस हुन नसक्ने आधार
जसरी चीनबाट आयात भएका विद्युतीय बसहरू मिनिबसका रुपमा जाँचपास भएका छन् त्यो मिनिबस वर्गीकरण गर्ने आधार नरहेको महालेखाले उल्लेख गरेको छ।
आर्थिक ऐन २०८० को दफा २ (१) सँग सम्बन्धित अनुसूची १ को दफा १२ (५) बमोजिम शीर्षक ८७.०२ को प्रयोजनका लागि सिट संख्या गणना गर्नुपर्दा नियमित सिट संख्या र ड्राइभर सिट गणना गरिने तर कन्डक्टर सिट एवं अन्य अतिरिक्त सिट तथा फोल्डिङ सिटलाई गणना नगरिने व्यवस्था रहेको छ।
साथै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४ अनुसार ४ टनदेखि १० टनसम्म वजन भएका मिनिबसलगायतका मझौला सवारीमा र सोही ऐनको दफा ५ अनुसार ४ टनभन्दा कम्ती वजन भएका कार, जीप भ्यानलगायतलाई सानो सवारीमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।
यात्रीबाहक मिनिबसका लागि एनेको दफा ६ को उपलफा ४ को प्रयोजनको लागि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १८(१)घ बमोजिम सिटको लम्बाई, चौडाई र उचाइ कम्तिमा १५ इन्च, पिठ्यूँको उचाइ कम्तिमा २२ इन्च र पंक्ति बढीमा २/२ हुने, सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तिमा १४ इन्च र सिटको पंक्तिबाट लेग प्लेसको दुरी १३ इन्च, मिनिबसभित्रको उचाइ ६४ इन्च र बसमा स्केप ह्याचसहितको संकटकालिन निकासको व्यवस्था हुनुपर्ने उल्लेख छ।
शशिला मोटर्स प्रालिले चीनबाट निर्यातक हाइगर बस को लिमिटेड, चीनबाट बिजनकबमोजिम प्रतिगाडी २३.६२ घनमिटर (५३८०*१८८०*२३३५ एमएम) आयतन तथा प्रतिगाडी कुल तौल ३४९५ किलोग्राम रहेको १६ सिट (१५ प्लस १) देखाइ सवारी मोडल केएलक्यू ६५४० ईभी एनवानआर को ९० किलोवाट पीएमपी शक्तिको ६५ थान हाइगर भ्यान विभिन्न ६ प्रपनंबाट र सोही मोडलको गाडी कन्टिनेन्टल ट्रेडिङ प्रालिले प्रपनं ७३१८ बाट दुई थान पैठारी गरेको विद्युतीय गाडीलाई सवारी तथा यातायात ऐन बमोजिमको वर्गीकरण र सोको नियमावली बमोजिम मिनिबसको आन्तरिक उचाइलगायत निर्धारित स्तर बमोजिम सिट र संकटकालिन निकासको व्यवस्था बारे परख नगरी मिनिबस शीर्षकको एचएस कोड ८७०२.४०.२० मा वर्गीकरण गरेको पाइएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५९ बमोजिम यातायात व्यवस्था विभागले बस बडी बिल्डिङ २०७४ जारी गरेअनुसार चालकको वर्क एरिया रहनुपर्ने र सोको नजिक राखिएको अतिरिक्त सिट गणना गर्न नमिल्ने तथा सवारी साधनमा यात्रु चढ्ने र ओर्लन प्रयोग गर्ने ढोकानिर राखिएको अतिरिक्त वा फोल्डिङ सिटलाई तथा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १८(१)घ मा तोकिएको आधारसँग बेमेल हुने सिटको व्यवस्थालाई भन्सार प्रयोजन र सवारीसाधन दर्ता गर्ने प्रयोजनका लागि मान्य नहुनेमा पनि उल्लेखित हाइगरका गाडीलाई प्राविधिक पुष्टिबेगर मिनिबस शीर्षक राखि जाँचपास गरेको पाइएको छ।
मिनिबसको लागि चाहिने भित्री उचाइ ६४ इन्च ती गाडीमा रहेको छैन। साथै शशिला मोटर्स प्रालिले चीनबाट पैठारी गरेको हाइगर गाडीलाई बिजन, बीबीनीफा, प्याकिङ लिस्ट र प्रज्ञापनपत्रलगायतमा भ्यान भनि उल्लेख गरेतापनि मिनिबसमा वर्गीकरण गर्न मिल्ने प्राविधिक स्पेसिफिकेसनबाट पुष्टि भएको छैन।
आर्थिक ऐन २०८० को दफा १२ (५) र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १८ (१) 'घ' बमोजिम मिनिबसका लागि आवश्यक पर्ने सिट, उचाइ र संकटकालिन निकासको व्यवस्था बमोजिम ती गाडी रहेको प्रमाणित नभइ मिनिबस शीर्षकमा वर्गीकरण गर्न मिल्ने नदेखिँदा सो सम्बन्धमा कार्यालयले छानबिन गरी थी सवारी साधनलाई माइक्रोबसको शीर्षक ८७०२.४०.३० मा हुने वर्गीकरणअनुसार छुट हुने महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि करसमेत शशिला मोटर्स र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिबाट छुट भएको कर असुल गर्न भनिएको छ।