बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अवतार ब्रान्डको व्यवस्थापन अब एमएडब्लू समूहले गर्ने

आइतबार, असार १ २०८२
अवतार ब्रान्डको व्यवस्थापन अब एमएडब्लू समूहले गर्ने

अवतार ११ को सुरुवाती मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ। अवतार ११ मा ९० किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ भने यो विद्युतीय कारमा २ सय ३० किलोवाटको मोटर छ।

काठमाडौं- अवतार ब्रान्डको व्यवस्थापन अब एमएडब्लू समूहले गर्ने भएको छ। चौधरी समूह र एमएडब्लू समूहले अवतार ब्रान्ड संयुक्तरुपमा नेपाल भित्र्याएका थिए। ब्रान्ड ल्याएपछि सीजी मोटर्सले व्यवस्थापन सम्हालेको थियो। 

दुई समूहले समान हिस्सेदारीमा रहेको कम्पनीमार्फत अवतार ब्रान्ड ल्याएका थिए। दुई समूहकै समझदारीमा अब अवतार ब्रान्डको बिक्री, मार्केटिङलगायतका प्रत्यक्ष काम एमएडब्लू समूहले गर्ने तय भएको हो। 

२०८१ बैशाखमा एमएडब्लू र चौधरी समूहले अवतार ब्रान्ड ल्याउने सम्झौता भएको थियो। त्यसयता ४४ वटा अवतार ११ नेपाली बजारमा भित्रिएका छन्। अहिले एमएडब्लू समूह र चौधरी समूहबीच अवतार ब्रान्डलाई नयाँ ढंगले अघि बढाउनेगरी व्यवस्थापन हेरफेरमात्र भएको हो। 

विद्युतीय कार व्यापारमा दुई प्रतिस्पर्धी व्यावसायिक घराना एकै ठाउँमा उभिएर अवतार ब्रान्ड नेपाल ल्याएका थिए। चिनियाँ सवारी उत्पादक कम्पनी चाङगनको धेरै स्वामित्व भएको अवतार टेक्नोलोजीका प्रिमियम विद्युतीय कार संयुक्त रुपमा उपस्थिति जनाउँदा यसले नयाँ उदाहरणसमेत प्रस्तु गरेको थियो। 

चौधरी समूह र एमएडब्लू समूहबीच समान हिस्सेदारीमा आयात भइरहेको अवतार टेक्नोलोजीले उत्पादन गरेको प्रिमियम विद्युतीय कार एमएडब्लू राइड्स प्रालिमार्फ आयात भइरहेको छ। 

अवतार ब्रान्डका लागि एमएडब्लू समूहले अस्थायी तथा स्थायी शोरुमको खोजीसमेत तीव्र बनाएको छ। सीजी मोटर्सबाट अवतारका सबै व्यवस्थापकीय कुराहरु हस्तारन्तरण हुने क्रममा रहेको र अबको केही समयभित्र एमएडब्लू समूहले औपचारिक रुपमा जानकारी गराउने तयारी गरेको स्रोतको भनाइ छ। 

हाल अवतार ११ बिक्री हुँदै आएको र कम्पनीले आगामी दिनमा अवतारले उत्पादन गरेका अवतार १२ लगायत अन्य विद्युतीय कारसमेत आयात गर्दै जानेछ। अवतार सेभेन बजारमा आइसकेको छ भने अवतार सिक्स लाइनअपमा रहेको छ। 

अवतार ११ को सुरुवाती मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ। अवतार ११ मा ९० किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ भने यो विद्युतीय कारमा २ सय ३० किलोवाटको मोटर छ। एक पटकको फुल चार्जमा अवतार ११ ले ७ सय ३० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ।

Avatr Logo.jpg 

अवतार टेक्नोलोजी 

अवतार टेक्नोलोजी कम्पनी लिमिटेड सन् २०१८ मा स्थापना भएको हो। सुरुमा चाङगन र नियोबीच समान ५०/५० प्रतिशत हिस्सेदारी रहनेगरी संयुक्त कम्पनी बनेको थियो। तर त्यसको दुई वर्षपछि सो कम्पनीबाट नियोले हात झिक्यो। त्यसपछि चाङगनले ४०.९९ प्रतिशत हिस्सा आफूसँग राखेर सीएटीएललगायत विभिन्न सरकारी तथा अन्य कम्पनीलाई सेयर बिक्री गरेको थियो।

अवतारमा सीएटीएलको १४.१ प्रतिशत हिस्सेदारी रहेको छ। सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी हो। अवतार टेक्नोलोजीले चिनियाँ प्रविधि जायन्ट हुवावेसँग पनि सहकार्य गरेको छ। हुवावे अवतारको संस्थापकमध्येको एक कम्पनीसमेत हो। 

२०२२ मा अवतारको पहिलो विद्युतीय कार ‘अवतार ११’ सार्वजनिक भएको थियो। मिडसाइज एसयूभी सेगमेन्टको यो कार निकै आकर्षक रहेको छ। यही मोडल अहिले नेपाली बजारमा उपलब्ध रहेको छ। 

त्यस्तै सेडान सेगमेन्टमा अवतारको दोस्रो कार ‘अवतार १२’ २०२३ मा सार्वजनिक भएको थियो। २०२५ सम्ममा अवतार टेक्नोलोजीले ४ नयाँ मोडल बजारमा ल्याउने जनाएको थियो। अवतार सेभेन बजारमा आइसकेको छ भने अवतार सिक्स आउने क्रममा रहेको छ। 

चाङगन अटोमोबाइल, हुवावे र सीएटीएल मिलेर अवतार ब्रान्डका लागि ‘सीएचएन’ प्लेटफर्म विकास गरेका छन्। यो प्लेटफर्ममा ६ तहको मेकानिकल लेयर, इनर्जी लेयर, इलेक्ट्रोनिक एन्ड इलेक्ट्रिकल आर्किटेक्चर लेयर, भेहिकल अप्रेटिङ सिस्टम लेयर, भेहिकल फङसन एप्लिकेसन लेयर र क्लाउड बिग लेयर रहेको छ। 

हाल केही सुस्तजस्तो देखिएको अवतारको यात्रा अब जुरमुराउने अनुमान गरिएको छ। 

ईभीमा प्रतिस्पर्धी घराना चौधरी र एमएडब्लू समूहबीच सहकार्य, संयुक्त रुपमा प्रिमियम ब्रान्ड ल्याउन सम्झौता ईभीमा प्रतिस्पर्धी घराना चौधरी र एमएडब्लू समूहबीच सहकार्य, संयुक्त रुपमा प्रिमियम ब्रान्ड ल्याउन सम्झौता


प्रकाशित : आइतबार, असार १ २०८२१४:२२
  • सम्बन्धित विषय:

  • # avatr
  • # biznessnews
  • # avatr11
  • # evnepal
  • # maw


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend