न्यूयोर्क- संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ।
साथै राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको संकेतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ। डाउ जोन्स औद्योगिक सूचकांक ४४३.१३ अंकले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो।
एस एन्ड पी ५०० सूचकांक ६१.०६ अंकले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो। यस्तै नासडाक सूचकांक पनि २३१.५० अंकले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो।
रोजगारी प्रतिवेदनले आशा देखायो
अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ। जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो। बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ। यसले श्रम बजार अझै सशक्त रहेको संकेत दिएको छ।
यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ। बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार रोजगारीका तथ्यांकहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन्। त्यसैले संघीय रिजर्भ बैंक तत्काल ब्याजदर कटौती नगरी मूल्यांकन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ।
आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक
डोयच बैंकका अनुसार आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ। गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ। रासस