बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वास्तविक सञ्चित घाटा लुकाएर दुई वर्षदेखि गलत वासेल रिपोर्ट बुझाइरहेको हिमालयन बैंक

राष्ट्र बैंकको मौन स्वीकृति

शुक्रबार, जेठ ९ २०८२
वास्तविक सञ्चित घाटा लुकाएर दुई वर्षदेखि गलत वासेल रिपोर्ट बुझाइरहेको हिमालयन बैंक

करिब एक अर्ब रुपैयाँबराबरको एफपीओ ल्याउन सक्ने सुविधा बैंकसँग भएपनि यसले पुँजीकोषको सम्पूर्ण समस्या समाधान गर्न नसक्ने बुझाइ बैंकका सञ्चालकहरूमा देखिन्छ।

काठमाडौं- हिमालयन बैंकले विगत दुई आर्थिक वर्षयता 'क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५' को मर्मविपरीत वासेल रिपोर्ट सार्वजनिक गर्दासमेत राष्ट्र बैंक मौन छ। सिभिल बैंकलाई एक्वायर गरेपछि निरन्तररुपमा सञ्चित नोक्सानीमा रहेको हिमालयन बैंकले गलत वासेल रिपोर्ट राष्ट्र बैंकमा पठाउँदै आएको छ।

बैंकले प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र वासेल प्रतिवेदन राष्ट्र बैंकसमक्ष पठाउनुपर्ने व्यवस्था छ। कुनै पनि महिनामा प्राथमिक पुँजीकोष अनुपात वा पुँजीकोष पर्याप्त अनुपात अपुग भएमा राष्ट्र बैंकले नियामकीय कारबाही गर्न सक्छ। 

राष्ट्र बैंकले प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत र पूरक पुँजीकोष थप २.५ प्रतिशत गरी न्यूनतम पुँजीकोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। प्राथमिक पुँजीकोष अनुपात (टायरवान) निर्धारित ८.५ प्रतिशत अपुग भएमा राष्ट्र बैंकले लाभांश वितरण र कर्जा विस्तार रोकेर कर्जा असुली बढाइ पुँजी पुर्‍याउन दबाब दिने गर्दछ।

प्राथमिक पुँजीकोष अनुपात पुर्‍याउन नसक्ने अवस्था देखेपछि नियामकीय कारबाही र 'क्यापिटल चार्ज' बाट जोगिन प्राथमिक पुँजीकोषको अंगको रुपमा रहने बैंकको सञ्चित नाफा नोक्सानीमा हिमालयन बैंकले गम्भीर ढंगबाट तोडमोड गरेको पाइएको छ।

विगत दुई वर्षयता हिमालयन बैंकको खराब कर्जा उच्चरुपमा बढेको छ। खराब कर्जामा वृद्धि भइरहने तर कर्जा असुली नहुने समस्याका कारण बैंकको रेगुलेटरी रिजर्भ बढ्दै गएको छ। अर्कोतर्फ बैंकले खराब कर्जा नोक्सानीबापत ठूलो रकम खर्च छुट्याउनु परेकाले इम्पियरमेन्ट चार्ज बढ्दै गएको छ।

खराब कर्जासँगै गैरबैंकिङ सम्पत्ति बढ्ने तर गैरबैंकिङ सम्पत्ति बिक्री हुन नसकिरहेकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन बैंकको वितरणयोग्य घाटा बढेर ७ अर्ब ३६ करोड पुगेको छ। उक्त सबै वितरणयोग्य घाटालाई सञ्चित नोक्सानी मानेर वासेल रिपोर्टको प्राथमिक पुँजीकोषबाट घटाउनुपर्नेमा बैंकले त्यस्तो गरेको देखिँदैन।

क्यापिटल एड्युकेसी फ्रेमवर्कले टायरवान क्यापिटलअन्तर्गत सेयर लगानीकर्तालाई वितरण गर्न बाँकी रहेको नाफा राख्नुपर्ने उल्लेख गरेको छ। 

यस्तै चालु आर्थिक वर्षको लेखापरीक्षण नभएको नाफाबाट कर्मचारीको बोनस, करसहित सम्पूर्ण नियामनकारी कोषहरू समायोजन गरेर बाँकी हुन आउने नाफा/नोक्सानी खातालाई मात्रै पुँजीकोषमा राख्नुपर्ने प्रस्ट व्यवस्था छ। बैंकको कर्मचारीको बोनस, कर र नियामकीय कोषहरू समायोजन नगरिएको नाफालाई प्राथमिक पुँजीकोषको अंग बनाउन नमिल्ने प्रस्ट व्यवस्था उक्त फ्रेमवर्कले गरेको छ। नियामक राष्ट्र बैंकको यस व्यवस्थालाई हिमालयन बैंकले उल्लघंन गरेको देखिन्छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकले ५० करोड खुद नाफा गरेको छ। उक्त नाफाबाट सम्पूर्ण नियामकीय कोषहरू समायोजन गरी गत दोस्रो त्रैमाससम्म कायम रहेको सञ्चित नोक्सानी जोड्दा कुल ७ अर्ब ३६ करोड रुपैयाँ वितरणयोग्य घाटामा हिमालयन बैंक देखिन्छ। 

उक्त वितरणयोग्य घाटालाई हिमालयन बैंकले सेयर लगानीकर्ताहरूको इक्विटीमा भएको परिवर्तनमा सञ्चित नोक्सानीको रुपमा ७ अर्ब ३६ करोड रुपैयाँ नै देखाएको छ। तर वासेल प्रतिवेदन तयार पार्दा बैंकले यस त्रैमाससम्मको नाफा नोक्सानी खाता ५७ करोड २२ लाख रुपैयाँले ऋणात्मक भएको देखाएको छ। यस्तै सञ्चित नोक्सानीमा ५ अर्ब ९२ करोडमात्रै राखेर प्राथमिक पुँजीकोष अनुपात ८ प्रतिशत कायम गरेको छ। 

राष्ट्र बैंकको निर्देशनबमोजिम सञ्चित नोक्सानी ७ अर्ब ३६ करोड राखेर बैंकले वासेल रिपोर्ट तयार पार्ने हो भने बैंकको प्राथमिक पुँजीकोष २३ अर्ब ६३ करोडमा आउने देखिन्छ। जब कि बैंकले गलत सञ्चित नोक्सानी राखेर २४ अर्ब ५० करोड प्राथमिक पुँजीकोष देखाएको छ। 

वास्तविक सञ्चित नोक्सानीका आधारमा कायम हुने बैंकको प्राथमिक पुँजीकोष अनुपात २३ अर्ब ६३ करोडलाई बैंकको कुल सम्पत्तिको भारित जोखिमले भाग गर्ने हो भने वास्तविक पुँजीकोष अनुपात ७.७१ प्रतिशतमा आउँछ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो कर्जा औषत भारित जोखिम, सञ्चालकको भारित औषत जोखिम र बजारको भारित औषत जोखिम गरेर बैंकको कुल सम्पत्तिको औषत भारित जोखिम ३ खर्ब ६ अर्ब ४५ करोड रहेको छ। 

वास्तविक सञ्चित घाटालाई बैंकले वासेल रिपोर्टमा गणना गर्ने हो न्यूनतम पुँजीकोष पर्याप्तता अनुपात १०.८४ प्रतिशतभन्दा तल आउने देखिन्छ। यस त्रैमासमा बैंकले ११ प्रतिशत कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष पर्याप्तता अनुपात कायम गर्न सकेको देखिँदैन।
 
वास्तविक ७ अर्ब ३६ करोड सञ्चित घाटा राखेर बैंकले प्राथमिक पुँजीकोष निर्धारण गर्ने हो भने न्यूनतम पुँजीकोष पर्याप्तता अनुपात १०.५४ प्रतिशतमा आउँछ। वास्तविक सञ्चित घाटा समायोजन गरेर आउने प्राथमिक पुँजीकोष २३ अर्ब ६३ करोडमा पूरक पुँजीकोष ८ अर्ब ७१ करोड जोड्दा बैंकको न्यूनतम पुँजीकोष ३२ अर्ब ३३ करोड आउँछ। जब कि बैंकले यस्तो पुँजीकोष ३३ अर्ब ३१ करोड रुपैयाँ देखाएको छ। 

बैंकको न्यूनतम पुँजीकोष पर्याप्तता अनुपात घट्नासाथ राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थासम्बन्धी शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी नियमावली (पीसीए) सक्रिय हुने व्यवस्था छ। २५ प्रतिशतसम्मले न्यूनतम पुँजीकोष अनुपात घटेमा राष्ट्र बैंकले बैंकको उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रमका सम्बन्धमा छलफल गरी विषयवस्तुको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ।

यस्तै बैंक तथा वित्तीय संस्थासँग राष्ट्र बैंकले पुँजी योजना माग गर्नुका साथै नगद तथा बोनस लाभांश घोषणामा रोक लगाउने, नयाँ शाखा खोल्न रोक लगाउने र सम्बन्धित बैंक तथा वित्तीय संस्था सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धिमा रोक लगाउने व्यवस्था रहेको छ। हिमालयन बैंकले यसै कारबाहीबाट जोगिन गलत वासेल रिपोर्ट तयार गर्दै आएको छ। 

बैंक तथा वित्तीय संस्थासम्बनधी ऐनबमोजिम हिमालयन बैंकसँग एफपीओ ल्याउन सक्ने सुविधा भएपनि बैंकभित्रको आन्तरिक द्वन्द्वका कारण एफपीओ जारी गर्न सकेको छैन। करिब एक अर्ब रुपैयाँबराबरको एफपीओ ल्याउन सक्ने सुविधा बैंकसँग भएपनि यसले पुँजीकोषको सम्पूर्ण समस्या समाधान गर्न नसक्ने बुझाइ बैंकका सञ्चालकहरूमा देखिन्छ। 

हिमालयन बैंकले गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएकै प्रतिवेदनमा समेत गलत वासेल रिपोर्ट प्रस्तुत गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको सञ्चित घाटा ७ अर्ब ४४ करोड रुपैयाँ भएपनि वासेल रिपोर्ट तयार पार्दा बैंकले सञ्चित नोक्सानी ३ अर्ब २४ करोड रुपैयाँ र गत वर्षको नाफा तथा नोक्सानी खाता २ अर्ब ६७ करोडले ऋणात्मक देखाउँदै प्राथमिक पुँजीकोष अनुपात ८.५१ प्रतिशत रहेको देखाएको छ। तर वास्तविक सञ्चित नोक्सानी ७ अर्ब ४४ करोड रुपैयाँ प्राथमिक पुँजीकोषबाट समायोजन गर्ने हो भने बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.९८ प्रतिशतमा आउने देखिन्छ।

वास्तविक सञ्चित नोक्सानी राखेर पुँजीकोष गणना गर्ने हो भने बैंकको प्राथमिक पुँजीकोष २५ अर्ब नभइ २३ अर्ब ४७ करोड रुपैयाँमा आउने र त्यसलाई बैंकको कुल भारित जोखिमले भाग गर्ने हो भने पुँजीकोष ८ प्रतिशतभन्दा पनि कम आउने देखिन्छ। यस्तै ७ अर्ब ४४ करोड रुपैयाँ सञ्चित नोक्सानी जोडेर प्राथमिक पुँजीकोष गणना गर्दा बैंकको न्यूनतम पुँजीकोष अनुपात नै ११.१० प्रतिशतमा आउने देखिन्छ।

गत वर्ष बैंकले गलत सञ्चित नोक्सानी प्रविष्ट गरी न्यूनतम पुँजीकोष अनुपात ११.५४ प्रतिशत रहेको देखाएको छ। यस्तै त्रुटि बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासका साथै गत आर्थिक वर्षको चारवटै त्रैमासमा गरेको छ। वासेल रिपोर्टमा गलत विवरण राखी सुधारका लागि राष्ट्र बैंकले हिमालयन बैंकलाई अहिलेसम्म कुनै पनि कारबाही गरेको छैन। 

नाफा-नोक्सान बाँडफाँट खाताबाट प्राप्त हुने नाफालाई नै वासेल रिपोर्टमा सार्नुपर्ने एक वाणिज्य बैंकका सीईओ बताउँछन्। आफ्नो वासेल रिपोर्ट देखाउँदै उनले प्रत्येक त्रैमासमा प्राप्त हुने वितरणयोग्य घाटालाई नै सञ्चित नोक्सानीको रुपमा देखाउनुपर्ने बताए। 

'बैंकहरूले नाफा नोक्सान बाँडफाँट खाताबाट प्राप्त हुने वितरणयोग्य नाफा वा घाटालाई नै वासेल रिपोर्टमा समावेश गर्नुपर्छ। राष्ट्र बैंकले क्यापिटल एड्युकेसी फ्रेमवर्कमा प्रस्ट व्यवस्था गरेको छ। अधिकांश बैंकहरूले उक्त नियमलाई कार्यान्वयनमा ल्याएका छन्। केही बैंकले फरक तरिकाले वासेल रिपोर्ट तयार पारेका छन् भने त्यो त्रुटि हो', ती सीईओले बताए। 

सञ्चालक र सीईओको द्वन्द्वले हिमालयन बैंकको वित्तीय अवस्था खस्किँदो : पुँजीकोष १०.८४ प्रतिशत, एफपीओ निष्कासनमा अन्योल सञ्चालक र सीईओको द्वन्द्वले हिमालयन बैंकको वित्तीय अवस्था खस्किँदो : पुँजीकोष १०.८४ प्रतिशत, एफपीओ निष्कासनमा अन्योल


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend