मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

images
शुक्रबार, जेठ २३ २०८२
images
images
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

किसान आफै मह उत्पादन गरेर बजार जान सक्दैनन्। सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ। हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन। त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन्।

images
images

काठमाडौं- नेपाल मौरीपालक महासंघका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ। गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो। तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो।

images
images
images

तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो। किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन्।

images
images

मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो। त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ। उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाडौंमा मह मेला आयोजना गरिएको बताए।

images
images
images

मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ। जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ। त्यसबाहेक मह १३/१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ। यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ।

'मह तताउँदा महको केही गुण नष्ट हुन्छ', श्रेष्ठले भने। उनका अनुसार महको सेवन औषधी मात्रै होइन यो पौष्टिक तत्वका लागि पनि लाभदायक हुन्छ। महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ।

नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन्। मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरु पलायन हुने अवस्थामा समेत पुगेको उनको भनाइ छ।

तत्कालीन समयमा सरकारलाई दबाब दिएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो। 'हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौँ, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ', उनले भने।

मह मेलामा भेटिएका चितवनन कालिका नगरपालिका शक्तिखोरका बी एण्ड बी मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउँछन्। उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन्।

'नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ', उनले भने। उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन्। नेपाली महको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ।

मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँका अनुसार गत वर्ष पाँच करोड रूपैयाँभन्दा बढीको नेपाली मह निर्यात भएको थियो। यसले नेपालमा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ। विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनले उल्लेख गरे।

मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ। विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन्। 

किसान आफै मह उत्पादन गरेर बजार जान सक्दैनन्। सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ। हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन। त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन्। 

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष जानुका थापा यी यावत् समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई संगठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछिन्।

भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ। मेलामा सातै प्रदेशका किसानको सहभागिता छ। त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ। 

मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ। उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रंग फरक हुन्छ। 

महासंघ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन्। नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको ५ हजार ५ सय गोला छ। सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासंघमा आबद्ध छन्। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend