मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

चिसो छल्न गाउँ छोडेर खलंगा झरेका तिंकरवासी ६ महिनापछि घर फर्किए

images
आइतबार, जेठ १८ २०८२
images
images
चिसो छल्न गाउँ छोडेर खलंगा झरेका तिंकरवासी ६ महिनापछि घर फर्किए

आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरे पनि समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ।

images
images

दार्चुला- दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिंकर गाउँमा स्थानीयहरु ६ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका ७० परिवार पुनः गाउँ फर्किएका हुन्।

images
images
images

गएको मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीयवासीहरू बैशाख अन्तिम सातामात्रै पुनः फर्किएका छन्। '६ महिनापछि फर्कँदा आफ्नो घरको ढोका देवीदेवता भरोसामा जस्ताकोतस्तै रहेछ', स्थानीय जसपाल तिंकरीले भने, 'छोडिएका घरका ताला खुलेका छन्।'

images
images

गाउँलेहरु घर फर्किएपछि अहिले गाउँमा चहलपहल बढेको छ। तिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन। 'स्थानीयहरू भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्,' वडा नं १ का सदस्य एवं तिंकरका स्थानीय हितेश बुढाथोकीले भने, 'आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ।'

images
images
images

आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरे पनि समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ।केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भरपर्नु परेको छ।

व्यास गाउँपालिका अध्यक्ष मंगलसिह धामी भन्छन्, 'व्यास गाउँपालिका-१ को छाङ्गरु तिंकर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन। तर नियमन निकायको अभाव भयो। बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन।' तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट गयो। २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी गर्‍यो। गत वर्ष पनि बाटो मर्मतसम्भारमा करोड खर्च भयो। तर बाटोको अवस्था उस्ताको उस्तै छ।

विगतमा केही ठाउँमा भारतीय सडक निर्माणका क्रममा नेपालतिरको बाटो अवरुद्ध भएको स्थानीयबासी बताउँछन्। ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक बनाउँदा बाँध बाँधिदिँदा नेपालतर्फको बाटो क्षति हुन पुगेको छ। केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भयो। तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरुपमा बाटो बन्द भएको वडाअध्यक्ष योगेश बोहरा बताउँछन्।

नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरु, बीओपी तिंकर तथा सीमा चौकी तिंकरी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ।

सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख रूपैयाँ बजेट पठाएको भए पनि बोलपत्रमा ढिलाइ हुँदा बाटो बन्न सकेन। निर्माण कम्पनी छनोटमा भएको ढिलाइले गाउँपालिकाले केही दिन अघिमात्रै निर्माण कम्पनी छनोट गरेको छ।

विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए। 'भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्‍यौँ', स्थानीय जसमल बुढाथोकीले सुनाए, 'अब चाँडै आफ्नै देश भएर आवतजावत गर्ने वातावरण बनोस्।'

यहाँका बासिन्दा वर्षको आधा समय खलंगामा र बाँकी समय तिंकरमा बस्ने गर्छन्। उनीहरुको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ। कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइँसराइ हो। समुद्र सतहबाट तीन हजार ३०० मिटर उचाइमा अवस्थित यस गाउँमा हिउँदको समयमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा बस्न सकिँदैन तिंकरी भन्छन्। चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलंगातिर सर्छन्।

चिसो मौसम भएका कारण ६ महिना गाउँ सुनसान हुन्छ। घरका ढोकामा चाबी लगाइएको हुन्छ। तिंकरीले थपे, 'अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन।' यहाँका बासिन्दाको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडीबुटी संकलन हो। यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ। उनीहरू गाई, चौँरी, खच्चड, घोडा, बाख्रा पाल्छन्। अहिले गाउँ पुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन्।

यहाँ स्वास्थ्यचौकी नहुँदा वर्षको करिब ६ महिना पनि उनीहरूलाई सामान्य रोग लाग्दा भारतमा पुग्नुपर्ने बाध्यता छ। धेरैले सिटामोल, दमलगायतका औषधि खलंगाबाटै आफूसँगै बोकेर लिने गर्छन्। व्यास-१ को छाङ्गरुमा स्वास्थ्यचौकी छ। तर तिंकर गाउँबाट छाङ्गरु आउनजाउन गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा नहुँदा कोही बिरामी परेमा बोक्ने मानिस पाउन पनि मुस्किल पर्छ।

'पहिले त कोही बिरामी हुँदा पनि चार/पाँच दिनपछि खबर पाउने अवस्था थियो', बुढाथोकीले भने, 'गत वर्षबाट ल्याण्डलाइन र नेपाल टेलिकमको टु जी फोन सञ्चालन भएपछि केही सहज भएको छ।'

यहाँको मौसम निकै चिसो हुने भएकाले चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ। वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा तीन-चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन। 'समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन्।'

चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे। पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ। नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ।

परम्परागत घरहरुले सुन्दरता दिएको छ। तिंकर प्राकृतिक रुपमा अत्यन्त सुन्दर छ। फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायतका हिम ऋङ्खलाहरु, सुदूर हिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ। सौका समुदायले आफ्नै भाषा ‘रङ’ बोल्छन्।

तिंकरमा प्रहरीको बसाइँ पनि ६ महिनामात्रै 

दार्चुलाको तिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ पनि अधिकतम ६ महिनासम्म मात्र हुने गरेको छ। चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीयजस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो।

स्थानीयको कुञ्चा गाउँ पुग्नेबेला सशस्त्र प्रहरी तिंकर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति लिलीबहादुर चन्दले बताए। अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट प्रहरीको टोली तिंकरमा खटिएको छ। उनीहरू भारतीय बाटो हुँदै तिंकरको छायालेक बीओपी पुगेका हुन्। 

दुई वर्षदेखि तिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो। व्यासकै छाङ्गरुमा गुल्म रहेको छ। चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो। छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन्। नेपाल प्रहरी पनि केही दिनअघि मात्रै तिंकर पुगिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताए। रासस


प्रकाशित : आइतबार, जेठ १८ २०८२१६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend