बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ठमेलमा सञ्चालनमा आयो साढे दुई अर्ब लगानीको हेरिटेज होटल

बिहीबार , जेठ १ २०८२
ठमेलमा सञ्चालनमा आयो साढे दुई अर्ब लगानीको हेरिटेज होटल

करिब साढे दुई दशक जापानमा बसेका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाले होटल निर्माणमा करिब दुई अर्ब ५० करोड रुपैयाँ लगानी गरेका हुन्। एकल स्वामित्वमा निर्माण भएको यो होटलले पर्यटनको भीडभाड बीच पनि मौलिक नेपालीपनको अनुभव दिने लक्ष्य राखेको छ।

काठमाडौं- संस्कृति र वास्तुकलाको जीवित प्रदर्शन गर्ने उद्देश्यले ठमेलमा ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ। करिब साढे दुई दशक जापानमा बसेका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाले होटल निर्माणमा करिब दुई अर्ब ५० करोड रुपैयाँ लगानी गरेका हुन्। एकल स्वामित्वमा निर्माण भएको यो होटलले पर्यटनको भीडभाड बीच पनि मौलिक नेपालीपनको अनुभव दिने लक्ष्य राखेको छ।

सञ्चालक सिम्खडाले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले जापानमा सिकेको अनुशासन र मौलिकता जोगाउने प्रवृत्तिलाई नेपालमै प्रयोग गर्न चाहेको बताए। “जापानीहरू आफ्ना चिजप्रति गर्व गर्छन्, आफ्ना परम्परालाई जोगाउँछन्,” उनले भने, “त्यही संस्कार नेपालमा भित्र्याउने प्रयासस्वरूप यो होटल निर्माण गरेको हुँ।” उनको बुझाइमा ठमेल नेपाली पर्यटनको मुटु मात्र होइन, विदेशी पर्यटकलाई नेपाल चिनाउने पहिलो ढोका हो।

होटलको बनावट नै उसको आत्मा हो। मूल प्रवेशद्वारमा पुगेपछि नै नेपाली काष्ठकलाले स्वागत गर्छ। परम्परागत पोशाकमा सजिएका कर्मचारी, काष्ठका मयूर झ्याल र देशमरु झ्याल, नेवारी शैलीका टुँडाल र फाल्चाले अतिथिलाई समयमै फर्किएको अनुभूति दिलाउँछ। प्रत्येक कोठा र सभाकक्षमा परम्परागत शिल्प र आधुनिक सुविधाको संयोजन गरिएको छ। भक्तपुरबाट ल्याइएका तेलिया इँटाले कोठाको भुइँ छोपिएको छ भने काष्ठकलाबाट सजिएको फर्निचरले पुरातात्त्विक गन्ध छरिएको छ।

होटलमा ७२ वटा कोठा छन्। तीमध्ये ४१ वटा डिलक्स रुमलाई आधुनिक र परम्परागत शैलीमा विभाजन गरिएको छ। केही कोठाबाट स्वयम्भू महाचैत्य, धरहरा र सहरका दृश्य देखिन्छन्। १२औँ तलामा रहेको ‘सोरा’ रेष्टुरेन्टबाट शहरको आकासेखाल दृश्य अवलोकन गर्दै खाना खान सकिन्छ। त्यही तलामा रहेको ‘स्काईलाइन सोरा’ मा सिसामाथि हिँड्दै स्काई वाकको रोमाञ्चकता अनुभव गर्न सकिन्छ।

सिम्खडाका अनुसार विदेशी पाहुना नेपाल आउँदा हिमाल मात्रै होइन, नेपाली आत्मा बोकेको कला, संस्कृति र आतिथ्यको स्वाद पनि लिएर फर्कुन् भन्ने चाहना उनको होटलमार्फत अभिव्यक्त भएको छ। चिल्ला संरचना हेर्न त पर्यटक संसारभर जान सक्छन्, तर नेपाली शैलीको स्वाद भने यहीँ मात्र पाउँछन् भन्ने सोच उनले निर्माण अवधिभर बोकेका रहेछन्।

विदेशी चकचके सजावटभन्दा भिन्न, यो होटलले मौलिकताको आत्मा बचाउने प्रयास गरेको छ। यो प्रयास नेपाल फर्केका एक उद्यमशील नागरिकको सपना मात्र होइन, नेपाली पर्यटनको पहिचान पुनः परिभाषित गर्ने सम्भावना बोकेको नयाँ अध्याय पनि हो।


प्रकाशित : बिहीबार , जेठ १ २०८२०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend