शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सडक, यातायातको सुविधासँगै सहज बन्यो मालिकाधुरी यात्रा

मंगलबार, वैशाख ३० २०८२
सडक, यातायातको सुविधासँगै सहज बन्यो मालिकाधुरी यात्रा

मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ।

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ।

मालिका-७ बिम नागीथला र रघुगंगा-६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो। 

समुद्री सतहबाट तीन हजार ३ सय मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (बैशाख पूर्णिमा), भाइटीका र बाला चतुर्दशीका दिन धार्मिक मेला लाग्ने गर्दछ। सडक र यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए।

'मालिकामा पूजाआजा, दर्शन र दृश्यावलोकन गर्न आउनेहरू अब पहिला यहाँ पुगेर टहरा, ओडारमा बास बस्नु पर्दैन', उनले भने, 'बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पूजा गरेर दिउँसै घर पुग्न सक्ने अवस्था बनेको छ।'

सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म चार हजार ५ सयभन्दा बढी भक्तजनले मालिकामा पूजा गरेका अध्यक्ष पाइजाले जानकारी दिए। उनका अनुसार यहाँ म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरू बढी आउने गर्दछन्। यसअघि मालिका दर्शनका लागि भक्तजनहरू अघिल्लो दिन नजिकै गएर जंगलको ओडार र टहरामा बास बस्ने गर्दथे।

दुई वर्षअघि मालिका दर्शनका लागि दुईदिन लगाएर पुगेकी बेनीकी सानु शर्माले यसपालीको चण्डी पूर्णिमामा बिहान ६ बजे बेनीबाट गएर दिउँसो ३ बजे पुनः बेनी फर्किएको बताइन्।

मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ। रघुगंगा गाउँपालिकाको ठाडाखानीतर्फबाट देउरालीसम्म सवारीसाधनमार्फत र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ।

यहाँबाट २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पशुपक्षीको अवलोकन गर्नुका साथै मालिकाधुरीमा पूवा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले जानकारी दिए। यी विशेषताका कारण यस क्षेत्रको धार्मिक महत्त्व रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मालिकाधुरी पर्ने गरेको उनले बताए।

'मालिकाधुरीमा मालिका, कालिका र जाल्पादेवीको मूर्ति छ। मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ। विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ', सचिव रोकाले भने।

चण्डी पूर्णिमामा आएका भक्तजनहरूबाट ९० हजार रूपैयाँ भेटी संकलन भएको जनाउँदै सबै खर्च कटाएर ६७ हजार रूपैयाँ बचत भएको समितिका अध्यक्ष पाइजाले जानकारी दिए। उनका अनुसार मालिकाधुरीमा रघुगंगा-६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गरेका छन्। मन्दिर निर्माणमा पाइजाले करिब ३४ लाख रूपैयाँ खर्चिएको उनले उल्लेख गरे। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend