शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मोदीको सम्बोधन : 'अपरेशन सिन्दूर' भारतको आतंकवादविरुद्धको नयाँ नीति

मंगलबार, वैशाख ३० २०८२
मोदीको सम्बोधन : 'अपरेशन सिन्दूर' भारतको आतंकवादविरुद्धको नयाँ नीति

उनले भगवान बुद्धको शान्तिको मार्ग सम्झाउँदै भने, 'शान्तिको बाटो शक्ति हुँदै जान्छ। भारतको समृद्धि र सुरक्षाका लागि शक्तिशाली भारत अनिवार्य छ। आवश्यक पर्दा, हामी शक्ति प्रयोग गर्न पछि पर्ने छैनौं।'

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै हालै पाकिस्तानमा भारतीय सेनाले सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ लाई भारतको आतङ्कवादविरुद्धको नयाँ नीति घोषणा गरेका छन्। अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको प्रत्युत्तरस्वरूप भारतीय सेनाले कारबाही थालेको स्पष्ट पार्दै प्रधानमन्त्री मोदीले देशका सैनिक, सुरक्षा निकाय र वैज्ञानिकप्रति श्रद्धा प्रकट गरे।

प्रधानमन्त्री मोदीले पहलगामको आक्रमणलाई 'निर्दोष नागरिकहरूमाथिको नृशंस हत्या' भन्दै यसले भारतको संयमता परीक्षण गरेको उल्लेख गरे। 'हाम्रा दिदीबहिनी र छोरीहरूको सिन्दूर मेटाउने आतङ्ककारीहरुलाई भारतले जवाफस्वरूप उनीहरूको अखडाहरु ध्वस्त पारेको छ,' प्रधानमन्त्री मोदीले भने।

उनका अनुसार ‘अपरेशन सिन्दूर’ को क्रममा पाकिस्तानभित्र रहेका दर्जनौँ आतङ्कवादी लुक्ने ठाउँ तथा तालिम केन्द्रहरूमा सटीक हवाई तथा ड्रोन आक्रमण गरियो। 'भारतको मिसाइल र ड्रोन आक्रमणबाट पाकिस्तानका आतङ्कवादी संगठनहरूको मनोबल चकनाचुर भएको छ,' उनले दाबी गरे।

प्रधानमन्त्रीले पाकिस्तानका बिभिन्न स्थानमा रहेका, विश्व आतङ्कवादका आधारशिला मानिएका बहावलपुर र मुरीदकेजस्ता अड्डाहरूमा भारतीय सेनाले आक्रमण गरी १०० भन्दा बढी आतङ्ककारी मारिएको बताएका छन्।

पाकिस्तानी सेनाले जवाफस्वरूप भारतमा आक्रमणको प्रयास गरे पनि भारतको वायु रक्षा प्रणालीले ती सबै प्रयास निष्फल पारेको दाबी प्रधानमन्त्री मोदीले गरे। 'पाकिस्तानले सीमामा आक्रमण गर्ने तयारी गरिरहेको थियो, भारतले भने उसकै मुटुमा प्रहार गर्‍यो,' उनले भने ।

प्रधानमन्त्री मोदीले पाकिस्तानले भारी क्षति बेहोरेपछि अन्ततः भारतसँग वार्ताको प्रस्ताव ल्याएको र आतङ्कवाद तथा सैन्य दुस्साहसमा संलग्न नहुने वाचा गरेपछि भारतीय कारबाही हाललाई स्थगित गरिएको जानकारी पनि दिए।

प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूर’ लाई भारतको नयाँ सैन्य सिद्धान्तको रूपमा स्थापित भएको घोषणा गर्दै तीनवटै सेनाका बलहरुको तयारी र एकतालाई उच्च प्रशंसा गरे। उनले भारत अब कुनैपनि आतङ्कवादी आक्रमणको जवाफ आक्रमणद्वारा दिने स्पष्ट नीति अवलम्बन गर्ने बताए। साथै, 'आतङ्क र वार्ता, आतङ्क र व्यापार, पानी र रगत एकसाथ बग्न सक्दैनन्,' भन्ने कडा सन्देश पाकिस्तानलाई दिए।

विश्व समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र पाकिस्तानबीच कुनै वार्ता भएमा त्यो केवल आतङ्कवाद वा पाकिस्तान अधीकृत कश्मीर (पीओके) सम्बन्धी हुने स्पष्ट पारे।

सम्बोधनको अन्त्यमा उनले भगवान बुद्धको शान्तिको मार्ग सम्झाउँदै भने, 'शान्तिको बाटो शक्ति हुँदै जान्छ। भारतको समृद्धि र सुरक्षाका लागि शक्तिशाली भारत अनिवार्य छ। आवश्यक पर्दा, हामी शक्ति प्रयोग गर्न पछि पर्ने छैनौं।'


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend