शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ

सोमबार, वैशाख २९ २०८२
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ

प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानून रहन नसक्ने उल्लेख गर्दै उनले सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने स्पष्ट पारे।

सुर्खेत- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिए।

प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानून रहन नसक्ने उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने स्पष्ट पारे। 'हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ', उनले भने, 'अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ। ऐन बनिसकेपछि संघीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुन्छ।'

देश संघीय गणतन्त्रमा पूरानो ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने बताउँदै उनले भने, 'कानून छ राजा महेन्द्रको पालाको अनि हामीले परिवर्तनको अपेक्षा गरेर हुन्छ र? यतिका वर्षसम्म कति सरकार परिवर्तन भए, कानून बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको?'

अहिले भ्रामक सूचनाले समाज भाँडिरहेको भन्दै मन्त्री गुरुङले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चारसम्बन्धीको विधेयक छिट्टै कानूनका रूपमा ल्याउने जानकारी गराए।

विकासका काम अध्ययन नगरीकन गरिँदै आएको उल्लेख गर्दै मन्त्री गुरुङले देशको खर्बौँ रकम खेर गइरहेको बताए। 'बसाइँसराइ सहर केन्द्रित हुँदैछ, प्रविधिको विकास तीव्र रूपमा अगाडि बढिरहेको छ, तर सनकको भरमा अध्ययन नगरी विकासका कामहरू गर्ने प्रवित्तिले राज्यको खर्बौँ रकम नोक्सान भएको छ। विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने हो, तर त्यसो भएको छैन, यसलाई बदल्नुपर्छ।'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि माग गरिएका सबै विषयलाई सम्बोधन गर्न प्रयास गरिने बताइन्।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्यायलगायतले नवनिर्मित भवनसँगै सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिए।

कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गर्ने विभिन्न निकाय तथा व्यक्तिहरूलाई सम्मानितसमेत गरिएको थियो। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend