शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध करछलीमा मुद्दा, एक अर्ब २० करोड रकम मागदाबी

सोमबार, वैशाख २९ २०८२
ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध करछलीमा मुद्दा, एक अर्ब २० करोड रकम मागदाबी

काठमाडौं- राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २० करोड बढी रकम असुलउपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ।

राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्। देवमाथि एक अर्ब २० करोड बढी रूपैयाँ राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उनले बताइन्।

काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरस्थित ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिदबिक्री कारोबार गर्ने उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको तथा बीजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको आरोप छ।

यस्तै, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागको आरोप छ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएकाले प्रतिवादी देवलाई सोही ऐनको को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४ सय ३४ रूपैयाँ र आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८ सय २४ रूपैयाँ बिगो बराबरको राजस्व छली गरेको प्रवक्ता श्रेष्ठले बताए।

सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी एक अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रूपैयाँ  असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदाबी लिइ अभियोगपत्र दायर गरिएको उनले बताए। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend