शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

images
शुक्रबार, वैशाख २६ २०८२
images
नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

नेपाल लाइफले पाँच अर्ब रूपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो।

images
images

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्तरूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन्।

images
images
images

नेपाल लाइफले पाँच अर्ब रूपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो। बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो।

images
images

उद्घाटन कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५औँ वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको दाबी गरे।

images
images

नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनीकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए। 'लगानी विविधीकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौँ,' उनले स्पष्ट पारे।

संघईले नियामक निकायका नियमहरूअनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे।

नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधीकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताए। उनले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे।

उनले भने, 'मेहनत, पसिना बगाएर वा व्यापार व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बीमा कोषमा जम्मा हुन्छ। त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो।'

उनले एकै ठाउँमा पुँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधीकरण अपरिहार्य भएको बताए। 'एउटै ‘बास्केट’मा सबै पैसा राख्दा जोखिम बढ्छ। विभिन्न बास्केटमार्फत जोखिम न्यूनीकरण गर्नु नै विविधीकरण हो, जुन नेपाल लाइफले आज आत्मसात् गरेको छ,' सुवेदीले उल्लेख गरे।

नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रूपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, 'यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ। यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ। मार्केट लिडर बन्न सजिलो छैन, तर तपाईँहरूको हरेक कदम अरूका लागि उदाहरण बन्न सक्छ । तपाईँहरूले सुरु गर्नुभएको यो नवीन प्रयासको म उच्च प्रशंसा गर्छु।'

कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पुर्‍याएको बताए।

उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रूपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ। कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन्। कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रूपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए।

उनले भने, 'बीमा अब केवल सुरक्षा मात्रै नभइ लगानीको प्रतिफल दिने माध्यम पनि बनेको छ। बीमितलाई दीर्घकालीन उच्च प्रतिफल दिने लक्ष्यसहित हामीले यो कम्पनी खोल्न लागेको हौँ।' नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ।

नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केबलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागतरुपमा लगानी विविधीकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रष्ट पारे।

पराजुलीका अनुसार यो कदम नेपाल लाइफको संरचनात्मक डिपार्चर हो, जसले कम्पनीको कोर भ्यालु बढाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने छ। 'बीमा ऐनले लगानी विविधीकरणलाई नीतिगत रुपमा स्पष्ट पारेपछि हामीले पनि त्यसै अनुसार लगानीको दायरा फराकिलो बनाउँदै लगिरहेका छौँ। नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापनाले यो नीतिलाई मूर्तरुप दिन यस्तो कार्यको सुरुवात गरेको हो,' पराजुलीले भने।

उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ। त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो।

नेपाल लाइफको हेटौँडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए। यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको प्राथमिक उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित गर्दै उच्च प्रतिफल प्रदान गर्नु रहेको बताए। 'हामी आन्तरिक र बाह्य मूल्यांकनका आधारमा विवेकशील ढंगले प्रन्सीपलको प्रोटेक्सनलाई प्राथमिकता राखी राम्रो भ्यालु क्रिएसन गर्नेछौँ,' उनले भने।

नायब प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमितकुमार कयालले संसारका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनी स्थापना गरेर बीमा कोषको व्यवस्थापन गर्ने संस्कृति सुरु भएको बताए। 'ग्राहककै हितलाई केन्द्रमा राखेर लगानीको कार्य अघि बढाउनेछौँ। योजना, कार्यान्वयन र नियमनजस्ता तीन पक्ष सम्हाल्दै हामी विश्वसनीयता कायम राख्नेछौँ,' कयालले स्पष्ट पारे।


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend