आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्रै अवरोध, पार्टी बैठकमा देउवाले भने - छिटै समाधान हुन्छ

शुक्रबार, वैशाख २६ २०८२
गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्रै अवरोध, पार्टी बैठकमा देउवाले भने - छिटै समाधान हुन्छ

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममा पनि गभर्नर नियुक्तिमा देखिएको कठिनाइ प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकभित्रै समस्या देखिएको बताएका थिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न सहमति भइसकेको बताइए पनि प्रक्रिया अघि बढ्न नसक्दा सत्ता गठबन्धनमा असामञ्जस्य बढेको छ।

शुक्रबार बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा उत्पन्न समस्याबारे जानकारी गराउँदै प्राविधिक कारणले प्रक्रिया ढिलाइ भएको बताएका छन्।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिसकेको जनाउँदै सभापति देउवाले 'छिटै पार लगाउने' प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि गभर्नर नियुक्तिमा ढिलाइको मूल कारण भने राष्ट्र बैंकभित्रैको व्यवस्थापकीय असहयोग रहेको पार्टी बैठकमा देउवाले ब्रिफिङ गरेका हुन्। डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सरकारको तयारी भइसक्दा राष्ट्र बैंकभित्रैबाट अवरोध देखिएको छ। 

सत्ता साझेदार दुई दलको सहमतिमा गभर्नर बन्ने पक्का भएसँगै भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा समेत दिइसकेका छन्। तर उनले राजीनामा बुझाएको २१ दिन भइसक्दा पनि कायममुकायम गभर्नर निलम ढुंगानाले स्वीकृत गरेकी छैनन्। ढुंगानाले प्रशासनिक प्रक्रिया अघि नबढाएकाले नियुक्तिको ढोका अझै खुल्न सकेको छैन।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार र प्रमुख सत्ता साझेदार कांग्रेसबीच भट्टलाई गभर्नर बनाउने सहमति बनिसकेको छ। तर कायममुकायम गभर्नर ढुंगानाको भूमिकाले उक्त सहमतिलाई व्यवहारमा लागु गर्न कठिनाइ भइरहेको कांग्रेस सभापति देउवाले बताएका हुन्।

यसअघि कांग्रेस सभापति देउवाले एक सार्वजनिक कार्यक्रममा पनि गभर्नर नियुक्तिमा देखिएको कठिनाइ प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकभित्रै समस्या देखिएको बताएका थिए।

भट्टको नियुक्ति अघि बढाउन प्रधानमन्त्री सचिवालय र अर्थ मन्त्रालय सक्रिय रहेको भए पनि अन्तिम निर्णय कार्यान्वयन हुन नसक्दा मौद्रिक नीतिको तयारीलगायत महत्त्वपूर्ण नीतिगत काममा असर पर्ने देखिएको छ।

राष्ट्र बैंकभित्र देखिएको यो ‘प्रशासनिक अड्चन’ समाधान गर्न प्रधानमन्त्री ओली र सभापति देउवाबीच थप छलफल भइरहेको र छिटै गभर्नर नियुक्तिको काम टुंग्याउने तयारी भइरहेकोसमेत कांग्रेस प्रवक्ता महतले जानकारी दिए।

कर्मचारीको अवरोधले राज्य सञ्चालनमा बढ्दो बेमेल : जनमतभन्दा माथि हुन् कामु गभर्नर निलम ढुंगाना? कर्मचारीको अवरोधले राज्य सञ्चालनमा बढ्दो बेमेल : जनमतभन्दा माथि हुन् कामु गभर्नर निलम ढुंगाना?


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend