आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

शुक्रबार, वैशाख २६ २०८२
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ। चापागाउँ दोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ।

ललितपुर- ललितपुर महानगरपालिका-१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ। वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ। अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ।

चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका-१४ का वडाध्यक्ष अमृत महत बताउँछन्। उनी भन्छन्, 'हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ। यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ।'

एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ। चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन्। चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ। यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ।

आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए। उनले भने, 'जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ। दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन्। हामी यसलाई अझै व्यवस्थित गर्छौँ।'

बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ। चापागाउँ दोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ। 

वसन्तऋतुमा एकै रंगमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउँछन्। ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौं उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौं झन् सुन्दर देखिने उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend