आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

रोकिएन जंगली हात्तीको विध्वंश, चन्द्रपुरका स्थानीयको घर र कृषिबालीमा क्षति

शुक्रबार, वैशाख २६ २०८२
रोकिएन जंगली हात्तीको विध्वंश, चन्द्रपुरका स्थानीयको घर र कृषिबालीमा क्षति

हात्तीको आतंकले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गरे। पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उनले सुनाए।

रौतहट- खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जंगली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे। दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो। त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ। गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका-२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ। कृषिबालीमा क्षति पुर्‍याइरहेको छ।

जुडिबेलाका सुनिप पोखरेल पहिला मर्ला भन्ने डरले स्याहार गरिएको हात्तीले हाल कतिबेला पो मार्ने हो भन्ने उत्पन्न भएको बताउँछन्। 'यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल गर्‍यौँ, उपचार पनि भयो। खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो। त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो। घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ। अब त मान्छेलाइ नै कतिबेला मार्ने हो भन्ने डर बढेको छ', उनले भने। 

हात्तीले गत मंगलबार चन्द्रपुर-२ जोगिटोलका एकल महिला फुलमाया कुँवरको उठिबास लगाएको छ। हात्तीले पूरै घर ध्वस्त बनाएको, पकाउने ग्यासदेखि खाने चामलसमेत नष्ट गरेको उनले गुनासो गरिन्। 'बिरामी हुँदा हात्तीलाई खाना खुवाइयो, उपचारमा हाम्रो पनि चिन्ता थियो। हाल आफ्नै बास उजाडिदियो', कुँवरले भनिन्।

नगर प्रमुख सञ्जयकुमार काफ्लेले कुँवरको घर बनाउन स्थानीय युवाहरूले सहयोग जुटाउने र त्यसमा आफ्नो पनि केही आर्थिक सहयोग र सहजीकरण रहने बताए। यसैगरी सोही टोलकी मैया गिरी आलेले हात्तीले आफ्नो पनि घर भत्काएको र चामल, दाललगायत खाद्यान्न लगेको बताइन्।

सोही दिन स्थानीय मुक्तिनारायण चौधरीको घर पनि भत्काइदिएको थियो। हात्तीको आतंकले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गरे। पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उनले सुनाए। हात्ती आतंकका कारण केही समयदेखि स्थानीय जंगलमा घाँस दाउरा जानसमेत नसकिएको खड्काले बताए।

गत कात्तिकयता हात्तीले जुडिबेलामा मात्रै दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको वडाअध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए। पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयका सचिवलाई समेत हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराइए पनि समस्या समाधान नभएको उनले गुनासो गरे। 'यहाँ हात्तीले विध्वंश मच्चाएको सरोकार भएकाहरू सबैलाई थाहा छ। पटकपटक ध्यानाकर्षण गराएका छौँ तर पनि कसैले वास्ता गरेका छैनन्', वडाअध्यक्ष थिङले भने।

हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बम्जन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, खिक, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतको घर भत्काइसकेको छ।

यसैगरी, चन्द्रपुर-३ गैडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन्। वडाअध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर भत्काएको बताएका छन्।

यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर-११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend