काठमाडौं- काठमाडौंबाट मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न पर्यटन व्यवसायीको विशेष टोली बिहीबार काठमाडौंबाट रारा प्रस्थान गरेको छ।
टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा गठन गरिएको टोलीले सम्भाव्य मार्ग, सडक पूर्वाधार र यात्राको समग्र अवस्थाबारे अध्ययन गर्ने उद्देश्य राखेको छ।
नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेको टोलीलाई बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बिदाइ गरे। बिदाइ समारोहमा बोल्दै ऐरले यस्तो अध्ययन भ्रमण पर्यटन प्रवर्द्धनको दृष्टिकोणले महत्वपूर्ण रहेको उल्लेख गरे। उनले भने, 'काठमाडौंबाट रारासम्म सडक यातायातमार्फत पर्यटक पुर्याउने अभियान सुरु हुनु उत्साहजनक विषय हो। यसले ‘अब रारा टाढा छैन’ भन्ने सन्देश दिनेछ।'
उनले थपे, 'कर्णाली प्रदेशलाई सुगम गन्तव्यका रूपमा चिनाउन यो भ्रमणले उल्लेखनीय योगदान दिनेछ।'
टीबानका अध्यक्ष भिष्म न्यौपानेले यात्राको सफल सुरुवात नेपाल पर्यटन बोर्डको सहकार्यकै परिणाम भएको उल्लेख गरे। 'सडक र पूर्वाधारको अवस्था सन्तोषजनक देखिएको छ,' उनले भने, 'हामी यात्राका क्रममा देखिने चुनौती र सम्भावनाको सुक्ष्म विश्लेषणपछि योजनाबद्ध रूपमा अगाडि बढ्नेछौँ।'
टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले यो यात्रा नेपाल पर्यटनको इतिहासमा विशेष महत्व राख्ने बताउँदै भने, 'काठमाडौंदेखि रारासम्म बस सेवा सम्भव छ भन्ने देखाउन यो सही समय हो। यदि यस सिजनमै सफलतापूर्वक यात्रु लैजान सक्यौँ भने, यसलाई व्यवस्थित प्याकेजमा रूपान्तरण गर्न सकिन्छ, जसले रारामा आन्तरिक तथा क्षेत्रीय पर्यटकको संख्या वृद्धि गर्नेछ।'
भ्रमण टोलीमा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको छ। अध्ययन भ्रमणपछि नियमित रूपमा पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी गरिएको टीबानले जनाएको छ।