आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा सांसदको जोड

बिहीबार , वैशाख २५ २०८२
दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा सांसदको जोड

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।

काठमाडौं- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुलुकमा केही भएन भनेर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई खण्डन गर्न सकेको बताए।

नीति तथा कार्यक्रम जनता केन्द्रित रहेको भन्दै उनले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्ने उल्लेख गरे। उनले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा जोड दिए।

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए।

आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा रहेको पर्यटन क्षेत्रको थप विकासका लागि सहज हवाई यातायातको प्रबन्ध गर्नुपर्नेमा सांसद कार्कीले जोड दिए। ठूलाठूला भवन बनाएर मात्रै शैक्षिक क्षेत्रको विकास हुन नसक्ने धारणा राख्दै उनले शिक्षा र स्वास्थ्यका लागि ठोस पहलकदमी लिन ढिलाइ गर्न नहुने बताए। नाराले नभइ सकारात्मक र सार्थक नीति लिएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ।

सांसद सुनिता बरालले सरकारको नीति तथा कार्यक्रमको सफलता र सार्थक कार्यान्वयनको कामना गर्दै आर्थिक कुटनीतिका विशेष योजना अगाडि बढाउन जरुरी रहेको बताइन्। उनले नीति तथा कार्यक्रममा समावेश गरिएको युवा केन्द्रित स्टार्टअप उद्यमलाई यथेष्ट बजेटको प्रबन्ध गरी सहज कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरिन्।

मानव विकास र भौतिक विकासलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिँदै सांसद बरालले अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको क्षमता स्तरोन्नति गर्नेतर्फ पहल गर्नुपर्ने धारणा राखिन्। उनले नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई बजेटमार्फत कार्यान्वयनका लागि थप पहलकदमी लिनुपर्नेमा जोड दिइन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend