आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

रोजगारीलाई सीपसँग जोड्न सके आन्तरिक रोजगार प्रवर्द्धन हुन्छ : श्रममन्त्री भण्डारी

बुधबार, वैशाख २४ २०८२
रोजगारीलाई सीपसँग जोड्न सके आन्तरिक रोजगार प्रवर्द्धन हुन्छ : श्रममन्त्री भण्डारी

'बजारको माग अनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने? रोजगारको लागि मुख्य विषय सीपयुक्त श्रमशक्ति हो।'

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

आज यहाँ नेपाल ट्रेड युनियन कांग्रेस र जापान इन्टरनेसनल लेबर फाउन्डेसनद्वारा संयुक्तरुपमा ललितपुरमा आयोजित ‘औद्योगिक सम्बन्ध र श्रम नीतिसम्बन्धी’ गोष्ठीमा उनले रोजगारीलाई सीपसँग जोड्न सके आन्तरिक रोजगार प्रवर्द्धन हुने बताए।

मन्त्री भण्डारीले बजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्ने मन्त्रालयको प्रयाससँगै निजी क्षेत्रको अग्रसरताबारे चर्चा गरे। उनले श्रम क्षेत्रमा देखिएको चुनौतीसँग मिलेर सामना गर्नुपर्नेमा जोड दिए। उनले भने, 'बजारको माग अनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने? रोजगारको लागि मुख्य विषय सीपयुक्त श्रमशक्ति हो।'

सरकारसँगै ट्रेड युनियन र निजी क्षेत्रले सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायतका विषयमा सहमतिका साथ अघि बढ्न उनले आह्वान गरे। सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक ऐन, कानून संशोधन गरिने जानकारी दिए।

'सरकारले ल्याएको यस नीति औपचारिक र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकको हकमा लागु हुनेछ। त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ', मन्त्री भण्डारीले भने। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend