आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

'सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक'

बुधबार, वैशाख २४ २०८२
'सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक'

'नीति तथा कार्यक्रममा नयाँ नारा र घोषणाको चाङ देखिँदैन। फजुल खर्च रोक्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, कृषि उत्पादन प्रवर्द्धन, सगरमाथा संवादजस्ता विषय सकारात्मक छन्।'

काठमाडौं- सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख १९ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका लागि दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासलाई जोड दिएको बताए। उनले नीतिगत स्थायित्व, सुशासन, अर्थतन्त्रलाई अगाडि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादकत्व बढाउने, सामाजिक न्यायको प्रत्याभूति गर्दै मानवअधिकारको सम्मान तथा सङ्क्रमणकालीन न्यायको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउने जस्ता विषय सकारात्मक रहेको बताए।

एमालेकै हेमराज राईले देशमा राजनीतिक स्थिरता कायम गर्दै सुस्त अवस्थामा रहेको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनेखालका विषयवस्तु समेटिएको उल्लेख गरे। उनले भने, 'नेपालले राजनीतिक र नीतिगत स्थिरता खोजेको छ। आपसी संवाद र सहकार्यमार्फत राजनीतिक स्थायित्वलाई निरन्तरता दिनुपर्छ।'

एमालेकै ईश्वरी घर्तीले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम सटिक र कार्यान्वयनमुखी रहेको उल्लेख गरिन्। सरकारले नारा हैन सजिलै कार्यान्वयन गर्ने विषयलाई समेटेकाले गरिबी न्यूनीकरण, सामाजिक न्याय आदि विषयमा बजेटको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिइन्।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारको वार्षिक नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताए। उनले भने, 'नीति तथा कार्यक्रममा नयाँ नारा र घोषणाको चाङ देखिँदैन। फजुल खर्च रोक्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, कृषि उत्पादन प्रवर्द्धन, सगरमाथा संवादजस्ता विषय सकारात्मक छन्।'

कांग्रेसकै कुसुनदेवी थापाले नीति तथा कार्यक्रममा निवार्हमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायमुखी बनाउन जरुरी भएको उल्लेख गरिन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिएर कृषि उत्पादन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन्। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend