आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चार वर्षदेखि भ्याट छल्दै धुलिखेलको स्काई गार्डेन रिसोर्ट, राजस्व न्यायाधिकरणमा हार्‍यो मुद्दा

बिहीबार , वैशाख २५ २०८२
चार वर्षदेखि भ्याट छल्दै धुलिखेलको स्काई गार्डेन रिसोर्ट, राजस्व न्यायाधिकरणमा हार्‍यो मुद्दा

रिसोर्टले २०८१ को असोजमा आन्तरिक राजस्व कार्यालय धुलिखेल र आन्तरिक राजस्व विभागको निर्णयविरुद्ध राजस्व न्यायाधिकरणमा रिट दर्ता गरेको थियो।

काठमाडौं- काभ्रेको पनौती नगरपालिका चौकोटमा सञ्चालित स्काइ गार्डेन रिसोर्ट प्रालिले चार वर्षसम्म निरन्तर भ्याट (मूल्य अभिवृद्धि कर) छली गरेको पाइएको छ। 

पहिले 'धुलिखेल अरनिको रिसोर्ट' नाम रहेको 'स्काइ गार्डेन रिसोर्ट'ले राजस्व न्यायाधिकरणमा मुद्दा हारेसँगै चार आर्थिक वर्षसम्म निरन्तररुपमा भ्याट छली गरेको पुष्टि भएको हो।

रिसोर्टले २०८१ को असोजमा आन्तरिक राजस्व कार्यालय धुलिखेल र आन्तरिक राजस्व विभागको निर्णयविरुद्ध राजस्व न्यायाधिकरणमा रिट दर्ता गरेको थियो।

राजस्व कार्यालय धुलिखेलले आर्थिक वर्ष २०७४/७५, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ मा गरी चार आर्थिक वर्ष कुल ६६ लाख २५ हजार ७ सय ९२ रूपैयाँ थप भ्याट तथा जरिवानाबापतको रकम तिर्नुपर्ने गरी कर निर्धारण गरेको थियो।

कार्यालयले २०८० असार २९ गते चार आर्थिक वर्षकै फाइलमा कैफियत देखाउँदा थप भ्याट रकम निर्धारणको आदेश भएको थियो।

कार्यालयको निर्णयउपर स्काइ गार्डेन रिसोर्ट आन्तरिक राजस्व विभागको प्रशासकीय पुनरावलोकनमा गएको थियो। विभागको प्रशासकीय पुनरावलोकनबाट समेत राजस्व कार्यालय धुलिखेलले गरेको निर्णय सही ठहर भएको थियो।

विभागको प्रशासकीय पुनरावलोकनको निर्णयविरुद्ध रिसोर्टले २०८१ असोज ८ गते राजस्व न्यायाधिकरणमा मुद्दा दायर गरेको थियो। रिसोर्टले दायर गरेको रिटउपर राजस्व न्यायाधिकरणले २०८१ चैतमा फैसला गर्दै भ्याट छली भएको ठहर गरेको हो।

रिसोर्टले २०७४/७५ मा ४ लाख ८७ हजार ५ सय रूपैयाँ, २०७५/०७६ मा ५ ला २६ हजार ४ सय ११, २०७६/०७७ मा ४४ लाख ६६ हजार १ सय ३३ र २०७७/०७८ मा ११ लाख ४५ हजार ७ सय ४८ रूपैयाँ (जरिवानासहित) भ्याट छली गरेको भन्दै थप भ्याट रकम निर्धारण गरेको थियो। 


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend