आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

पहिलोपटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

बुधबार, वैशाख २४ २०८२
पहिलोपटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री
फाइल तस्बिर

विसं २०७५ मा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो। बैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीयव हर्षित भएका छन्।

ढोरपाटन- बागलुङको निसीखोला गाउँपालिका-२ उपल्लोबेङ्ग्री गाउँमा पहिलोपटक मोटरेबल सडकको पहुँच पुगेको छ। भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडिएको हो।

विसं २०७५ मा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो। बैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीयव हर्षित भएका छन्। स्थानीयले यातायात र सामान ढुवानी गर्दा सास्ती खेप्दै आएका थिए। निसीखोला गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी ट्रयाक खोल्न सुरु गरेको थियो। ९१ लाख रूपैयाँ खर्च गरेर यसवर्ष उपल्लोबेङ्ग्री सडक विस्तार भएको वडा नम्बर २ का अध्यक्ष कुविर विकले बताए।

अग्लो पहाड नै सिरमा रहेको बस्तीमा सडक पुर्‍याउनका लागि धेरै प्रयास गरे पनि यसवर्ष मात्रै सफल भएको उनको भनाइ छ। गाउँपालिकाको केन्द्र जुग्जा खोलादेखि सिधा सडकले जोड्न खोजे पनि ठूलो पहराको कारण अर्नाकोट तिरबाट उपल्लोबेङ्ग्रीमा सडक पुर्‍याइएको अध्यक्ष विकले जानकारी दिए।

उनले भने, 'उपल्लो बेङ्ग्रीमा सडक पुर्‍याउनका लागि धेरै मेहनत गरियो, यसवर्ष मात्रै सफल भयौँ, तल्लो बेङ्ग्री, चौरबेङ्ग्री हुँदै उक्त गाउँमा सडक जोड्ने प्रयास गरेका थियौँ, तल बस्तीमाथि पहरा हुँदा त्यता पट्टबाट सकिएन, अहिले अर्नाकोटबाट जोड्न सफल भयौँ, सडकले अब यहाँका सयौँ नागरिकको दैनिक फेरिने अपेक्षा लिएका छौँ।'

उपल्लो बेङ्ग्रीमा ६५ परिवारमा २०० भन्दा नागरिक बसोबास गर्दै आएका छन्। उनीहरुलाई सहर बजार पुग्नका लागि पहिले निकै समस्या थियो। सडकले गाउँ जोडिएपछि गाउँमा थुप्रै सम्भावनाका ढोकाहरु खुलेको स्थानीय खुमबहादुर खत्रीले बताए।

'धेरै गाउँमा पहिले नै सडक पुग्यो, हाम्रो गाउँमा बल्ल आयो, सडकलाई अझ व्यवस्थित बनाउनुपर्छ, ढिलै भए गाउँमा सडक आउँदा धेरै खुसी लागेको छ', खत्रीले भने, 'अहिलेसम्म बजारबाट सामान मान्छेले नै बोकेर ल्याउने गर्थ्यौँ, अब गाडीले बोकेर ल्याउने छ, कोही बिरामी परेमा पहिलेको जस्तो ढोकोमा पुगेर लैजानुपर्ने छैन, एम्बुलेन्सले बोक्ने छ।' रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend