काठमाडौं- केई नेपालले आकर्षक अफर घोषणा गरेको छ। केईको एक्सथ्री प्रो विद्युतीय एसयूभी बीवाईडीको डलफिनभन्दा कम मूल्यमा पाइने भएको छ। तर केई एक्सथ्री प्रो भने बीवाईडीकै एटो थ्री सरहकै आकारमा छ। तर मोटर पावरमा एटो थ्रीभन्दा एक्सथ्री प्रो नै अब्बल छ।
यही बैशाख २६ देखि काठमाडौंको थापाथलीमा आयोजना हुन गइरहेको ‘केई एक्सचेन्ज कार्निभल’मा आएर गाडी सट्टापट्टा गर्ने वा नयाँ किन्ने ग्राहकले ६ लाख रूपैयाँसम्मको फाइदा लिन पाउने भएका छन्। केईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले आकर्षक अफर दिने घोषणा गरेका हुन्।
यी दुई कम्पनीले संयुक्तरुपमा आयोजना गरेको एक्सचेन्ज कार्निभलमा आफ्नो एसयूभी मोडल एक्सथ्री प्रोमा ६ लाख रूपैयाँसम्मको फाइदा पाउने स्कीम ल्याइएको हो।
कम्पनीले अहिले केई एक्सथ्री प्रो मोडलको मूल्य ४५ लाख ९६ हजार रूपैयाँ तोकेर बिक्री गरिरहेको छ। उक्त मूल्यमा ६ लाख ५ हजार रूपैयाँ बराबरको फाइदा उपभोक्ताले पाउने छन्। उपभोक्ताले सो लाभ पाउँदा एक्सथ्री प्रो बीवाईडीको डलफिनभन्दा कम मूल्यमा र नामीको बक्सभन्दा केहीमात्रै बढी मूल्यमा विद्युतीय एसयूभी खरिद गर्न सकिनेछ। अहिले बीवाईडी डलफिन ४१ लाख १५ हजार रूपैयाँमा बिक्री गइरहेको छ।
केई एक्सथ्री प्रोमा ४५ लाख ९६ हजारमा बिक्री भइरहेकोमा एक्सचेन्ज कार्निभलमा ६ लाख ५ हजार फाइदा पाउँदा ३९ लाख ९१ हजार रूपैयाँ अर्थात ४१ लाख १५ हजार रूपैयाँको डलफिनभन्दा सस्तो मूल्यमा पाउने छन्।
कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छुट, पूर्णबीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोसको वासिङ मेसिनसम्म दिने जनाएको छ। समग्रमा गाडी किन्ने ग्राहकले ६ लाख ५ हजार रूपैयाँ बराबरको फाइदा पाउने छन्।
केई एक्सथ्री प्रोको लम्बाई ४४ सय ४३ एमएम, चौडाई १८ सय ३१ एमएम र उचाई १६ सय ४६ एमएम छ। एसयूभीको साइजमा उपलब्ध एक्सथ्री प्रोको ह्वीलबेस २६ सय ३२ एमएम छ। सोही कारण एक्सथ्री प्रो बीवाईडी एटो थ्री कै आकारको विद्युतीय एसयूभी भएको हो।
एक्सथ्री प्रो एसयूभीमा १ सय ८२ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३ सय ६० लिटरको बुट स्पेस रहेको विद्युतीय कारमा क्याबिन निकै विलासी अनुभूत हुन्छ।
कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। डब्लूएलटीपीका अनुसार नै यसले सिंगल चार्जमा ३ सय ३० किलोमिटर रेन्ज दिन्छ। एक्सथ्री प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जरलगायत विशेषता छन्।
सुरक्षाको लागि ४ एयरब्याग उपलब्ध एक्सथ्री प्रो एसयूभीमा टायर प्रेसर मोनिटरीङ सिस्टम, ईएसपी, ईएबी, ईबीडी, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा, पार्किङ सेन्सर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्डलगायतका सुरक्षा विशेषता छन्।
बीवाईडी एटो थ्रीकोभन्दा निकै सस्तोमा पाइन्छ एक्सथ्री प्रोको पार्टस्
जीओ अटोमोबाइलले केईको एक्सथ्री प्रो ईभीमा लाग्ने मुख्य पार्टसहरुको मूल्य सार्वजनिक गरिसकेको छ। केईले भनेको छ, ‘हामीलाई थाहा छ धेरै मानिसलाई लागि रहेको कुरा विद्युतीय कारको मर्मत र स्पेयर पार्टसको मूल्य महँगो छ। तर त्यस्तो होइन हामी यहाँ आम बुझाइमा रहेको त्यो कुरा परिवर्तन गर्न आएका छौँ।’
केईले उच्च गुणस्तरीय, विश्वसनीय र तुलनात्मकरुपमा कम मूल्यमा स्पेयर पार्टस उपलब्ध गराउने जनाएको छ। केईले प्रतिस्पर्धी मूल्यमा केई एक्सथ्री प्रो ईभीको मर्मत गरिदिने बताइसकेको छ। उक्त अफर ल्याउँदै कम्पनीले अब उक्त अफर आएसँगै उपभोक्ताले चिन्ता गर्नुपर्ने समय सकिएको दाबी गरेको छ।
केईको एक्सथ्री प्रो ईभीमा लाग्ने मुख्य ११ पार्टसको मूल्य नै सार्वजनिक गरेको छ। जुन यसअघि सामान्य दुर्घटनामा परेर मर्मत गर्न कोटेसन बनाएर उल्लेख गरिएको बीवाईडी एटो थ्रीको पाट्र्सको मूल्यभन्दा निकै कम रहेको छ।
केई एक्सथ्री प्रो ईभीको फ्रन्ट बम्पर अपरको मूल्य २२ हजार ८७ रूपैयाँ, फ्रन्ट बम्पर लोवरको १७ हजार ४ सय ३८, रेयर बम्पर अपर बडी(आरपीएससहित)को ३७ हजार ७ सय १६ रूपैयाँ, रेयर बम्पर लोवर बडीको ९ हजार ५ सय ९२ रूपैयाँ र ब्रेक प्याड(सेट)को १२ हजार ७ सय ८७ रूपैयाँमा बिक्री गर्ने छ।
त्यस्तै जीओ अटोमोबाइलले केई एक्सथ्री प्रोको हेड ल्याम्प एसेम्ब्लीको ७२ हजार ८ सय ९२ रूपैयाँ तोकेको छ। बीवाईडीले एटो थ्रीको यही पार्टसको मूल्य ९२ हजार रूपैयाँ तोकेर उपभोक्तासँग असुल गरिरहेको छ।
एक्सथ्री प्रोको ब्रेक डिस्कको १० हजार ८ सय २८ रूपैयाँ, साइड मिररको २१ हजार १ सय ३० रूपैयाँ, ब्याक डोर ग्लास एसेम्ब्लीको २४ हजार ९ सय ४ रूपैयाँ, फ्रन्ट विन्डसिल्ड एसेम्ब्लीको २२ हजार ९ सयस ३६ रूपैयाँ र साइड मिरर विथ क्यामेराको ४४ हजार १ सय ६६ रूपैयाँ मूल्य निर्धारण गरेको छ।
जीओ अटोमोबाइलले आफ्ना केई एक्सथ्री प्रो ईभी चढ्ने ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा स्पेयर पार्टस उपलब्ध गराएर आरामदायी र झन्झटरहित यात्रा गराउने उद्देश्यले पार्ट्सको मूल्य सार्वजनिक गरेको जनाएको छ।