बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोरखाको बारपाक र लाप्राकमा योग शिविर

शनिबार, माघ २६ २०८१
गोरखाको बारपाक र लाप्राकमा योग शिविर

न्यु भिजन नेपाल र थर्ड रक एडभेन्चर्सको संयुक्त आयोजनामा लियो नारायणगढका ४० जना लियो सदस्यहरूले सहभागिता जनाएका थिए।

गोरखा- बारपाक सुलीकोट गाउँपालिका, बारपाक र धार्चे गाउँपालिकाको लाप्राकमा विशेष योग शिविर सम्पन्न भएको छ। न्यु भिजन नेपाल र थर्ड रक एडभेन्चर्सको संयुक्त आयोजनामा लियो नारायणगढका ४० जना लियो सदस्यहरूले सहभागिता जनाएका थिए।

स्वास्थ्य र मानसिक शान्तिको लागि योग महत्त्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आयोजित यो शिविरमा सहभागीहरूलाई योग तथा ध्यान अभ्यासको महत्वबारे जानकारी गराइएको थियो।

शिविरमा न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट र सचिव सबनम खड्गीले हठ योग प्रशिक्षण दिएका थिए। उनीहरूले शरीरलाई स्वस्थ राख्न सकिने विभिन्न योग मुद्राहरू श्वासप्रश्वास नियन्त्रणका प्रविधिहरू तथा ध्यान प्रविधि सिकाएका थिए।

yog.jpg

कार्यक्रमको उद्घाटन न्यु भिजन नेपालकी सचिव खड्गीले परम्परागत कुमारी नृत्य प्रस्तुत गरेर गरेकी थिइन्। शिविरमा विभिन्न चरणहरूमा योगका अभ्यासहरू गराइएका थिए।

सहभागीहरूले शारीरिक लचिलोपन बढाउने आसनहरू ध्यान केन्द्रित गर्ने प्रविधिहरू तथा मानसिक शान्ति प्रदान गर्ने सत्रहरूमा सहभागिता जनाए। विशेषगरी हठ योग र प्राणायाम विधिहरूमा विशेष ध्यान दिइएको थियो।

त्यसै गरी शिविरमा सिङ्गीबल हिलिङ्ग प्रविधिसमेत अपनाइयो। सिङ्गीबलबाट ऊर्जा उपचार (हिलिङ्ग) गरेर मानसिक र शारीरिक शिथिलता हटाउने प्रयास गरियो साथै सहभागीहरूलाई साउन्ड थेरापीको माध्यमबाट मानसिक स्थिरता र आत्मशुद्धीका उपायहरू पनि प्रदान गरिएको आयोजकले जनाएको छ।

बारपाक-लाप्राक क्षेत्र भूकम्पपछि पुनर्निर्माण हुँदै गएको क्षेत्र हो। भट्टले भने- ‘केबल शारीरिक स्वास्थ्य मात्रै नभइ मानसिक र आध्यात्मिक उन्नतिको लागि पनि यो शिविर आयोजना गरेका हौँ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ।’

योग शिविरले सहभागीहरूलाई मानसिक स्थिरता, शारीरिक स्वास्थ्य सुधार तथा आध्यात्मिक उन्नतिका लागि प्रेरित गरेको छ। 


प्रकाशित : शनिबार, माघ २६ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend