सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ

बिहीबार , माघ १० २०८१
सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ

दुर्घटनामा परेर कुच्चिएको उक्त बीवाईडी एटो थ्रीको १ सय ४२ वटा पार्टपूर्जा फेर्नुपर्ने कोटेसनमा भनिएको छ। कयौँ पार्टपूर्जा दुईवटा लाग्नेगरी कोटेसन तयार पारिएको पाइएको छ।

काठमाडौं- विद्युतीय कार आयातमा करछली गरेको बीवाईडी बिक्रेताले सर्भिसमा समेत मनोमानी गरेको पाइएको छ।

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि हो। यही कम्पनीले सामान्य रुपमा ठोक्किएको गाडी मर्मतमा करिब गाडीकै मूल्यबराबर रकम असुल गरेको पाइएको हो। 

२०८१ असोज ४ गते शुक्रबार कोटेसन दिइएको बीवाईडी एटो थ्रीको मर्मत खर्च भ्याटसहित ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा तोकिएको छ। उक्त मितिभन्दा केही दिनअघि बीवाईडीको एटो थ्री विद्युतीय कार दुर्घटनामा परेको थियो। सामान्य दुर्घटनामा परेको उक्त विद्युतीय कारको मर्मत खर्च देखेर उपभोक्ता चकित परेका छन्। 

गाडी ठोक्किएको अवस्था र त्यसको ग्र्याभिटी हेर्ने हो भने ५/७ लाख रुपैयाँमा मर्मत हुने देखिन्छ। विद्युतीय सवारी भएकाले त्यसको स्पेयर पार्ट्स पर्यात रुपमा उपलब्ध नभएको र नयाँ प्रविधि भएकाले केही महँगो हुनु स्वभाविक हो। नयाँ प्रविधिकै हुँदा पनि उक्त गाडी मर्मत गर्न १०/१५ लाख रुपैयाँभन्दा बढी नपर्ने सर्भिस इन्जिनियरहरूको भनाइ छ। 

ठोक्किएको बीवाईडी एटो थ्रीको तस्बिर हेर्दा पनि थाहा हुन्छ कि त्यो ठोक्काइ सामान्य हो र मर्मत गर्न खासै धेरै खर्च नआउनु पर्ने हो। तर सामान्य ठोक्किएको देखिने उक्त गाडीको मर्मत गर्न ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लाग्ने कोटेसन दिइएको छ। 

यसका साथै दुर्घटनामा परेर कुच्चिएको उक्त बीवाईडी एटो थ्रीको १ सय ४२ वटा पार्टपूर्जा फेर्नुपर्ने कोटेसनमा भनिएको छ। कयौँ पार्टपूर्जा दुईवटा लाग्नेगरी कोटेसन तयार पारिएको पाइएको छ। 

१ सय ४२ आइटम फेर्नुपर्ने भनिएको दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मतका लागि भ्याटबाहेक ४४ लाख ७६ हजार ८ सय ३४ रुपैयाँ ६० पैसा छ भने उक्त रकममा ५ लाख ८१ हजार ९ सय ८८ रुपैयाँ ५० पैसा भ्याट लाग्ने तय गरिएको छ। सबै गरेर ठोक्किएको एटो थ्री बनाउन कुल ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लागत लाग्ने बिल उपभोक्तालाई थमाइएको छ। 

बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको र चलाउने क्रममा ठोक्किएको बीवाईडी एटो थ्रीको कोटेसन बिल सुपेरियर मोटर्सले बनाएको थियो। बीवाईडीको एटो थ्री नेपाली बजारमा दुई अप्सनमा उपलब्ध रहेको छ। दुर्घटनामा परेको बीवाईडी एटो थ्री एडभान्स्ड भर्सनको हो भने त्यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ पर्छ भने एटो थ्री सुपेरियर भर्सनको हो भने त्यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ मूल्य तय भएको छ। 

उक्त कोटेसन बिलमा सबैभन्दा कम लागतको पार्ट्स ५ सय ७७ रुपैयाँ ५० पैसादेखि सबैभन्दा महँगोमा २१ लाख ९५ हजार रुपैयाँसम्म लगाइएको छ। यसरी चर्को शुल्क लाग्ने देखाएर बीवाईडी बिक्रेताले सर्भिसबाट ब्रम्हलुट मच्चाउने योजना बनाएको देखिन्छ। 

byd accident.jpg
दुर्घटनामा परेको बीवाईडी एटो थ्री।

विद्युतीय सवारीको स्वीकार्यता बढ्दै गइरहेको सन्दर्भमा नेपाली बजारमा दोस्रो धेरै विद्युतीय कार बिक्री गर्ने कम्पनीले यसरी सर्भिसलाई अस्वभाविक महँगो बनाउँदा ईभी प्रति उपभोक्तामा नकारात्मक प्रभाव गर्ने देखिन्छ। सवारी बिक्री तथा बिक्रीपछिको सेवाका बारेमा सरकारले नियामकीय व्यवस्था गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ। 

बीवाईडी बिक्रेता साइमेन्स इंकले तोकेकै मूल्यका आधारमा पार्टपूर्जाको मूल्य निर्धारण गरेर सोहीअनुसार दुर्घटनामा परेको, मर्मत गर्नुपर्ने र बिग्रिएका सामानको मूल्य निर्धारण गरेर सर्भिस सेन्टरले आफ्नो शुल्क तय गरेर लिने गरेका छन्। दुर्घटनामा परेको उक्त एटो थ्रीको मर्मतमा त्यति ठूलो बिल आउनुमा आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिको पनि संलग्नता नभइ यो हुन सम्भव छैन। 

साइमेक्स इंकले गाडी बिक्री गरेको संख्याका आधारमा सर्भिस सेन्टर विस्तार नगर्दा उपभोक्ताले दुःख पाइरहेको गुनासोसमेत आइरहेको छ।

त्यस्तै गएको असोजमा आएको बाढीका कारण बिग्रिएका विद्युतीय कारको मर्मत गर्न चाहिने पार्ट्स नल्याउँदा उपभोक्ताले सर्भिस सेन्टरबाट आफ्नो बीवाईडी कार फिर्ता पाउन सकेका छैनन्। यस्तो गुनासो अधिकांश सर्भिस सेन्टरबाट आइरहेका छन्। बाढीका कारण कयौँ उपभोक्ताको कार भने ‘टोटल लस्ट’ गरेर बीमा दाबीमार्फत नयाँ कार उपलब्ध गराएको पाइएको छ। 

दुर्घटनामा परेको उक्त बीवाईडी एटो थ्रीमा के-के सामान फेरियो, ती पार्टपूर्जाको मूल्य कति लिइएको छ, यसमा आयातकर्ताको मात्रै मनोमानी हो वा बीमा कम्पनीसँगको साँठगाँठमा बीमादाबी लिन गरिएको हो? सामान्य ठोक्किएको गाडीको हाइभोल्टेज ब्याट्री नै किन फेर्नुपर्ने गरी कोटेसन बनाइयो? यी प्रश्नले बीवाईडी बिक्रेता साइमेक्स इंकको सर्भिसबारे उपभोक्ता थप चनाखो भएका छन्।

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : बिहीबार , माघ १० २०८१०८:२९
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend