बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

आइतबार, कात्तिक ११ २०८१
तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

थोरै भाँडा बनाउनेले पनि तिहारमा बाहिरबाट पनि माग हुने भएकाले एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुने स्थानीय प्रजापति बताउँछन्।

भक्तपुर- नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ। तिहारमा माटोका भाँडा र पालाको माग धेरै भएकाले कुमाले समुदायका परिवारलाई यतिखेर पाला बनाउन भ्याइनभ्याइ भएको हो।

आकर्षक माटोको भाँडा बनाउने भक्तपुर नगरपालिका-४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका अधिकांश परिवार तिहारका लागि आवश्यक पाला, धुपौरो, घैँटोलगायत अन्य सामग्री बनाउन व्यस्त देखिन्छन्। 

'तिहार आइसक्यो माटोका पाला, भिउँट, धुपौरोको माग बढी आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ। अहिले भ्याइनभ्याइ छ', पुर्खाले वर्षौँदेखि गर्दै आएको पेसालाई १७ वर्षदेखि अँगाल्दै आएका स्थानीय ३९ वर्षीय विनोदकुमार प्रजापतिले भने।

माटोका भाँडा बनाउने आधुनिक मेसिनले सहज बनाएको बताउँदै उनले यस वर्ष एक लाख पाला बिक्री गर्ने योजना रहेको जानकारी दिए। पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटोखुत्रुके, गमला बनाउन व्यस्त उनले यसवर्ष साना र ठूला दुवै प्रकारका पालाको माग आएको उल्लेख गरे।

माटोका भाँडा बनाउने पेसा गर्दै आएका ९९ प्रजापति परिवारको बसोबास रहेको यहाँ भूकम्प पछि कतिपयले भत्किएका घर छाडेर अन्यत्र बसाइँ सरेका छन्। अहिले करिब ४० घरमा यो समूदाय समिति भएको उनले जानकारी दिए।

भारतबाट आउने प्लाष्टिक तथा विद्युतीय पालाले माटोको पालाको माग पहिलाको तुलनामा घटेको बताउँदै विनोदकुमारले भक्तपुरमा माटो पाउन छोडेपछि अहिले साँखुबाट ल्याउनु परेको बताए।

यतिबेला पोटरी स्क्वायरका ४० परिवारमा कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका, कोही झिक्दै बाकसमा राख्दै गरेका देखिन्छन्।

स्थानीय विवेक प्रजापतिले १६ वर्षदेखि पुर्खाको पेसालाई अँगाल्दै आएको बताउँदै तिहारका लागि माग बढी भएकाले फुर्सद नभएको उल्लेख गरे। उनले भने, 'बजारमा माटाका सामग्रीको माग बढी छ। मानिस जन्मेदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण माटाको भाँडा बनाउँछौँ, यस वर्ष पनि तिहारका लागि एक लाख पालाको माग भएकाले सोही बनाउन व्यस्त छौँ।'

यहाँ बनेका पाला र भाँडा भक्तपुरका साथै अन्य जिल्ला र विदेशमा समेत माग हुने गरेको विवेकले जानकारी दिए। 'नेपालबाट मात्रै नभइ विदेशका लागि पनि सामानको माग आउने गर्दछ', उनले भने।

सँगै माटोको भाँडा बनाइरहेका साजन प्रजापतिले पछिल्ला केही वर्षयता भारतबाट आयातीत पाला र विद्युतीय बत्तीले माटोका सामग्रीको माग विगतको तुलनामा घटेको बताए। बीस वर्षदेखि माटोको भाँडा बनाउँदै आएका उनले यस वर्ष आफूले पाला नबनाएर तिहारका लागि अन्य आवश्यक सामगी मात्र बनाएको सुनाए।

विगत ३५ वर्षदेखि पुर्खाको पेसालाई निरन्तरता दिँदै आएका रोशन प्रजापतिले बजारमा अहिले पहिलाको जस्तो माटोका भाँडा र पालाको माग नभएको गुनासो गरे। उनले कोरोना महामारीदेखि व्यापार घटेको भन्दै आर्थिक मन्दीले यो पेसालाई निरन्तरता दिन समस्या भइरहेको उल्लेख गरे। उनले यस वर्ष ६० हजार पालाको मात्रै माग आएको बताए।

यहाँ उत्पादन भएका पाला भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायत ठाउँबाट माग भएकाले माग अनुसार पठाउने गरिएको स्थानीय दयाराम प्रजापतिले बताए।

तीन वर्ष अघिसम्म तिहारमा एकसय पालाको ९० देखि एकसय १० रूपैयाँसम्म बिक्री हुने भन्दै मेहनत, माटोको व्यवस्थापनलगायत कारणले ती सामग्रीको मूल्य पनि बढेको उनले जानकारी दिए। यसवर्ष व्यापारीलाई होलसेलमा प्रतिपाला दुई रूपैयाँमा र खुद्रा चार रूपैयाँमा बिक्री गरिने उनले बताए।

विनोद प्रजापतिले माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने धारणा राखे। यस वर्ष एउटा पाला होलसेलमा दुई रूपैयाँमा र खुद्रा चार रूपैयाँमा बिक्री भइरहेको उनले जानकारी दिए।

'माटोको अभाव छ। भक्तपुरमा माटो पाउन छाडेको नौ वर्ष भइसक्यो। साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि माग अनुसार आउँदैन, माटोको अभावले पेसा संकटमा पर्ने अवस्थामा आएको छ। एक मिनिट्रक माटोको व्यापारीले १२ हजार रूपैयाँ लिन्छन्', उनले भने।

अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चालगायत सामानको माग बढेकाले बनाउन व्यस्त रहेको बताएका छन्। थोरै भाँडा बनाउनेले पनि तिहारमा बाहिरबाट पनि माग हुने भएकाले एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुने स्थानीय प्रजापति बताउँछन्। रासस


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend