बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्वादको बेग्लै संस्कृति बनेको विश्वव्यापी पेय

आइतबार, असोज २७ २०८१
स्वादको बेग्लै संस्कृति बनेको विश्वव्यापी पेय

काठमाडौं- थकान, तनाव र दिक्दारीको पतन गराइ शीघ्र आनन्दानुभूति दिलाउने। दिनहुँको भागदौडले लस्त शरीरमा ताजगी भरेर तन्तु-तन्तु जुझारु बनाउने। जीवनका उतारचढावको साक्षी, एक्लोपनको सारथी। हेर्नुस् त, चिया एक काम अनेक!

तपाइँ चिया पारखी हुनुहुन्छ भने यति त पक्कै स्वीकार्नुहुन्छ - चिया एक सामान्य पेयमात्रै होइन, भावना हो। ऊर्जा हो। नयाँ-नयाँ विचार प्रस्फुटन गराउने तत्व हो। मित्रताको कडी अनि मानसिक आघातबाट तत्काल राहत दिलाउने ‘जादुको छडी’!

यसको अर्को खासियत पनि छ - जाडो होस् या गर्मी अनि झरी होस् या खडेरी, सदाकाल प्रिय।

चियामा विविधता थपिएसँगै पछिल्लो समय अझ बढेको छ यसको लोकप्रियता। संसारमा पानीपछि दोस्रो सर्वाधिक खपत हुने पेय चियाको उत्पत्ति, विकास र विस्तार कसरी भयो त?

‘भीभीआईपी’ बाट ‘भीआईपी’ हुँदै आज कुनाकन्दरासम्म पुगेर ‘आम’ बनेको चियाको कथा पनि चियाजत्तिकै रोमाञ्चक छ। 

चियाको परिभाषाबाट सुरु गरौँ- नेपाली शब्दकोशका अनुसार प्रायः गरम मुलुकहरूमा उमारिने एकथरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुनाबाट तयार पारिएको पत्ती वा धुलो। सो पत्ती वा धुलो राखी तातोपानीमा इच्छाअनुसार चिनी, दूध मिलाइ वा नमिलाइ खाइने एक प्रसिद्ध पेय। 

अथवा यसरी बुझौँ, चियाका बिरुवाका सुकेका पातहरूको धुलो उमालिएको पानीमा मिसाएर बनाइएको एक तातो पेय।

आज जीवनपद्धतिको एक महत्वपूर्ण हिस्सा हुँदै संस्कार र संस्कृतिको पर्याय बनेको चिया लामो खोज तथा अनुसन्धानबाट पत्ता लागेको होइन, यो त अचानक थाहा लागेको चिज हो जसको श्रेय चिनियाँ प्राचीन सम्राट शेनङलाई दिइएको छ।

देशैपिच्छे यसको सुरुवातको कथा फरकफरक हुन सक्ला तर मूल उत्पत्तिको कथा भने सम्राट शेनङकै अपनाइएको छ। चीनमा प्रचलित किंवदन्तीअनुसार करिब पाँच हजार वर्षपहिले जडीबुटीको राम्रो ज्ञान राख्ने शेनङ जसले आफैमा प्रयोग गरेर सयौँ जडीबुटीको पहिचान गरे, उनी स्वाथ्यप्रति सचेत थिए र आफूलाई स्वस्थ राख्न बिहानीको सुरुवात तातोपानीबाट गर्थे।

चिनियाँ चिकित्सा र औषधि विज्ञानका पितासमेत भनेर चिनिने प्रकृतिप्रेमी सम्राट शेनङ एकदिन रुखको छहारीमा बसिरहेका थिए भने अर्कोतिर उनका सेवक पानी उमाल्दै थिए। उम्लिरहेको पानीमा रुखका केही पातहरू खस्छन् अनि पानीको रंग परिवर्तन हुन्छ र त्यसबाट मीठो सुगन्ध फैलन्छ। विषालु हुन सक्ने भन्दै सेवकले नपिउन भनेपनि उनी पिउँछन्। यसबाट उनलाई ताजगी महसुस हुन्छ। स्वादले मोहित बनाउँछ।

यो घटनालगत्तै शेनङ यसको खोजबिन र संरक्षणमा आफूसँगै अरुलाई पनि अग्रसर गराउँछन् र दिनहुँ यही पेय बनाएर दिन सेवकलाई अह्राउँछन्। त्यसपछि शेनङ साम्राज्यमा प्रख्यात बन्दै यो पेय बिस्तारै सम्पूर्ण चिनियाँमाझ लोकप्रिय बन्न पुग्छ।

चीन आफ्नो देशमा आउने विदेशी पाहुनाको स्वागत पनि यही पेयले गर्थ्यो। यद्यपि यो पेय-विधि कसैलाई नखुलाउन भनिएको थियो। यही कारण पनि लामो समयसम्म चिया-तथ्य चीनभित्रै सीमित रह्यो अनि विश्व अनभिज्ञ।

यो पेय प्राकृतिक भएका कारण बिस्तारै त्यहाँका बौद्ध भिक्षुले पनि सेवन गर्न थाले। यसबाट उनीहरूलाई ताजगी महसुस हुन्थ्यो। निद्रा हराउँथ्यो र उनीहरू लामो समयसम्म ध्यानमा मग्न हुन पाउँथे। उनीहरू जहाँ जान्थे त्यहाँ चियाका पात पनि साथै लगेर पेय बनाएर पिउँथे। आफू आसपासका मानिसलाई पनि पिलाउँथे। यसैगरी विदेशसम्म बिस्तारै फैलिँदै गएको कथन छ।

चीनमा ईसापूर्व- २००० देखि नै औषधीय उद्देश्यका लागि प्रयोग हुँदै आएको मानिन्छ चिया। यसअघिसम्म धेरै ठाउँमा चिया पानजसरी चपाएर खाने गरिन्थ्यो। शरीरको घाउचोट निको बनाउने औषधिको रुपमा यसको प्रयोग हुन्थ्यो। यसलाई पानीमा मिसाएर पिउँदा कयौँ शारीरिक समस्याबाट छुट्कारा मिल्थ्यो। तुरुन्तै निद्रा भगाउने, शरीरका इन्द्रियहरूलाई जगाउने हुँदा त्यतिबेला कैयन् ध्यानीहरूले समेत चियाको पात चपाएर खाने गर्थे भनिन्छ।

चीनमा उत्पादित चिया पहिलोपटक इंग्ल्याण्डमा प्रयोग भएको थियो। ११९१ को आसपास, जापानी जेन पुजारीहरूले चीनमा अध्ययनबाट फर्किँदा चियाको बीउ ल्याए र जापानको दक्षिणी भागमा खेती गर्न थाले।

नवौँ शताब्दीको सुरुमा चिया-पेय संस्कृति चीनबाहिर पहिले जापान र कोरिया, त्यसपछि मध्यपूर्वमा फैलिएको मानिन्छ। ११०० को प्रारम्भमा जापानमा चिया यसको स्वास्थ्य लाभका दृष्टिले मूल्यवान थियो। यो समयसम्म आइपुग्दा चिया विलासिता, जीवनदैनिकी र संस्कृतिको अभिन्न हुँदै अत्यावश्यक बनेको छ। जापानीहरूमाझ ‘माचा ग्रीन टी’ लोकप्रिय छ। 

अफ्रिकामा पहिलो चिया १६८७ मा केपमा रोपिएको थियो तर १९औँ शताब्दीको उत्तरार्धसम्म प्रगति हुन सकेन। २०औँ शताब्दीमा अफ्रिकामा चियाको विस्तार भएको देखिएको छ, विशेषगरी केन्या, मलावी र तान्जानियामा।

शताब्दीयौँसम्म चीन विश्वको एक मात्र चिया निर्यात गर्ने देश थियो। १९औँ शताब्दीको सुरुमा, भारत र सिलोन (श्रीलंका) ले चिया उत्पादन गर्न थालेपछि भने कडा प्रतिस्पर्धा भयो। आज पनि चीन गुणस्तरीय चियाको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो।

चीनमा सर्वप्रथम पहिचान भएको भएता पनि अहिले विभिन्न देशहरूले समग्र चिया उत्पादनमा योगदान पुर्‍याएका छन्। 

रूसमा ‘ग्रेट टी रोड’ अर्थात दुई शताब्दीदेखि चीन र रूसलाई जोडेको १३ हजार किलोमिटर लामो व्यापार मार्ग हुँदै चिनियाँ चिया भित्र्याइएको थियो। त्यतिबेला चिया किफायती थिएन, त्यसकारण धनीहरूमा मात्रै यसको पहुँच थियो। बिस्तारै यो सस्तियो, फैलियो र रसियनको जीवनशैलीमा अभिन्न बन्यो। रूसीहरू प्रायः दूध नहालेको चिया पिउने गर्छन्। 

काराभान मार्ग हुँदै, युरोप पुग्नुअघि नै चिया सबै मंगोल भूमिहरू, मुस्लिम देशहरू र रूसमा प्रवेश गरिसकेको थियो। अरबी मुलुकहरूमा चियाले शताब्दीयौँदेखि नै लोकप्रियता कमाएको छ।

मोरक्कोमा आगन्तुकहरूको स्वागतमा चिया अपरिहार्य मानिन्छ, यहाँ धेरै परिष्कृत तरिकाले चियामार्फत स्वागत गरिन्छ। यहाँ पिलाइने चिया ‘हट मिन्ट टी’ हो जुन ग्रीन टीमा पुदिना र चिनी हालेर बनाइएको हुन्छ। 

भनिन्छ - पहिलो फ्रान्सेली चिया पारखी राजा लुइस चौधौँ थिए, जसले नियमित रूपमा चिया पिउँथे, तर स्वास्थ्यका कारण। अपच, बाथ र कार्डियक निवारकका रुपमा उनलाई चिया पिउन सुझाइएको थियो। फ्रान्सेली क्रान्तिपछि यसले लोकप्रियता गुमायो र उन्नाइसौँ शताब्दीको मध्यसम्म मात्र यसको सामान्य प्रयोग देखियो। तर अहिले भने लोकप्रियता चुलिएको छ।

सत्रौँ शताब्दीमा प्रसिद्ध डच इस्ट इन्डिया कम्पनीमार्फत चीनबाट पश्चिमी विश्व तथा युरोपमा चियाको प्रवेश गराइएको थियो। झन्डै दुईसय वर्षयतादेखि ‘चिया समय’, ‘चिया ब्रेक’ एक परम्परा नै बनिसकेको छ।

अमेरिकाको कुरा गर्दा त्यहाँ १७औँ शताब्दीमा डच व्यापारीहरूले चियाको परिचय गराएका थिए। प्रारम्भिक वर्षहरूमा, त्यहाँ ग्रीन टी उपभोग गर्ने संस्कृति थियो। दोस्रो विश्वयुद्धसम्म अमेरिकामा चिया सबैभन्दा व्यापकरुपमा खपत हुने तातो पेय थियो। खासगरी अमेरिकामा आइस्ड चिया लोकप्रिय छ।

भारतमा चियाको पहिचान र विस्तारको श्रेय अंग्रेजलाई दिइएको छ। चिनियाँ उत्पादनको एकाधिकार तोड्न १९औँ शताब्दीमा अंग्रेजले भारतमा चिया भित्र्याएका थिए। त्यतिबेला कुनै खजानाभन्दा कम थिएन चिया। सन् १८०० को मध्यतिर दार्जिलिङ सहर वरपरको पहाडी क्षेत्रमा पहिलोपटक चियाका बिरूवा रोपिएको थियो। 

हिन्द महासागर क्षेत्रमा व्यापारका लागि भारतमा इस्ट इण्डिया कम्पनी स्थापनापछि नै चियाखेतीको सुरुवात एवं विस्तार गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कामको थालनी भएको हो। इतिहासकै सबैभन्दा शक्तिशाली मानिने कम्पनी इस्ट इण्डियाले युरोप, दक्षिण एसिया र सुदूरपूर्वबीचको विश्वव्यापी व्यापारमा प्रभुत्व जमायो। यो हिन्द महासागर क्षेत्रमा व्यापार गर्न गठन गरिएको थियो। विदेशबाट यसको माग बढ्न थालेपछि उनीहरूले चियाको विस्तार अझ फैलाए।

भारतमा अहिले धेरै प्रकारका चिया उत्पादन गरिन्छ। दक्षिणी भारतको निलगिरि पहाडी भूमि राम्रो, सुगन्धित चियाका लागि परिचित छ। आसाम चिया पनि उत्तिकै विख्यात र लोकप्रिय छ। आसाममा चिया उत्पादन सुरु भएपछि १८३९ मा पहिलो भारतीय चिया लन्डनमा बिक्री गरिएको थियो। आसाममा अहिले ठूलो संख्यामा चिया बगानको विस्तार भएको छ। विश्वमा ठूलो परिमाणमा चिया निर्यात गर्ने आसामलाई ‘चियाको देश’ पनि भनिन्छ भने दार्जिलिङ ‘टी च्याम्पियन’ का रुपमा परिचित छ।

टी बोर्डको गठनपश्चात् भारतीय चिया अन्य देशमा निर्यात गर्न अझ सहज भयो। साथै मजदुरका लागि नयाँ रोजगारीको अवसर पनि खुल्यो। पर्यटनबाहेक, चिया अहिले भारतको सबैभन्दा ठूलो औद्योगिक गतिविधि बनेको छ।

विश्वको सहस्राब्दी लामो चियापान संस्कृति र खेतीको तुलनामा नेपालको चिया इतिहास भने निकै युवा छ। यद्यपि अर्गानिक, गुणस्तरीय अनि अद्वितीय सुगन्ध र स्वादका कारण नेपाली चियाले विश्वबजारमा छोटो समयमै सुकीर्तिको यात्रा तय गर्‍यो।

१२औँ शताब्दीतिर यसलाई बौद्ध ग्रन्थहरूमा एक औषधीय बोटबिरुवाका रूपमा उल्लेख गरिएको थियो। १९औँ र २०औँ शताब्दीमा नेपालमा चिया उत्पादन उल्लेखनीयरुपमा विस्तार भयो र अहिले उच्च गुणस्तरको चिया उत्पादन तथा विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेको छ।  

नेपालमा चियाखेतीको सुरुवात तथा इतिहास सम्झँदै गर्दा बिर्सनै नहुने नाम हो तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा, जसले नेपालमा पहिलोपटक चियाको बीजारोपण गरेका थिए। भनिन्छ, बिसौँ शताब्दीमा जंगबहादुरले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिइ नेपाल भित्र्याएका थिए।

उक्त चियाको बीउ रोप्ने जिम्मेवारी इलामका तत्कालीन बडाहाकिम तथा उनका ज्वाइँ गजराजसिंह थापालाई दिइएको थियो। जंगबहादुरको आदेशपश्चात दार्जिलिङबाट समेत केही बिरुवा ल्याएर थापाले विसं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना गरेका हुन्।

दार्जिलिङमा सुरु भएकै दशक नेपालमा पनि चियाखेतीको सुरुवात भएको भए तापनि दार्जिलिङले व्यापकरुपमा बजार र खेती विस्तार गरिरहँदा यहाँको प्रारम्भिक चिया उद्योगको भने अपेक्षित विकास हुन सकेन। जसको कारण थियो, राजनीतिक उथलपुथल र अनुदार आर्थिक नीतिहरू।

यसरी शैशवकालमै मृतप्रायः भएको नेपालको चिया उद्योगलाई विसं.२००७ सालको प्रजातन्त्रपछि सिर्जित लगानी र उद्योगमैत्री वातावरणले पुनर्जीवित गराएपछि बल्ल यसले हुर्किने, फल्ने र फुल्ने अवसर पाएको हो।

नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गएपछि नै विसं. २०१६ सालमा झापाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भयो। 

सुरुवाती दिनहरूमा नेपालमा प्रशोधन कारखाना नहुँदा दार्जिलिङमा चियाका हरिया पातहरू बेच्नुपर्ने अवस्था थियो। नेपाली चिया क्षेत्रलाई उकास्न स्थापित नेपाल चिया विकास निगमको स्थापनाको १२ वर्षपछि अर्थात् विसं. २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलोपटक चिया प्रशोधन कारखाना स्थापना गरियो।

विसं. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चियाक्षेत्र घोषणा गर्‍यो। 

बिस्तारै बिस्तारै नेपाली चियाको वृद्धिविकासलाई मध्यनजर गरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत सरकारी तथा गैरसरकारी संस्थाहरू खुल्न थाले, चिया उद्योग पनि फस्टाउँदै गयो।

नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ- आसामी, कम्बोडियाली र चिनियाँ। आसामी र कम्बोडियाली प्रजातिको चिया सीटीसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनियाँ प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ। 

विश्वउपभोक्ता कतिपयले नेपाली चियाको स्वाद पनि विश्वप्रसिद्ध दार्जिलिङकै जस्तो भन्ने गर्छन् भने कतिले दार्जिलिङको भन्दा पनि उत्कृष्ट र स्वादिलो रहेको भन्दै तारिफ गर्ने गर्छन्। नेपाली चियाको अस्तित्व विश्वबजारमा छायामा पर्नुको एक कारकका रुपमा पनि यसलाई कतिले व्याख्या गर्ने गरेको पाइन्छ।

नेपालमा चियाखेतीको सुरुवात सन् १८०० को दशकको उत्तरार्धतिर सुरु भए तापनि त्यसभन्दा अघि नेपालमा स्थानीयकृत चियाखेती तथा संस्कृतिको सुरुवात त्यसअगावै धेरै पहिलेदेखि नै थालनी भएको कथन छ।

भनिन्छ कि, आधुनिक चियाखेतीभन्दा पहिले चिया संस्कृति चीन हुँदै सिल्क रोड (प्राचीन व्यापारिक मार्ग) मार्फत संसारभर फैलिएको थियो, त्यसरी नै नेपालमा पनि यसको सुरुवात भयो। 

नेपाल हुँदै जाने ट्रान्स हिमालय व्यापार मार्ग यहाँका पुराना व्यापारिक मार्ग हुन् जुन सातौँ शताब्दीदेखि प्रचलित थिए। यसबाहेक, दक्षिणपश्चिम चीनको सिल्क रोडकोरुपमा चिनिने प्राचीन टी एण्ड हर्स काराभानमा रोडले दुई सञ्जालमार्फत नेपाललाई चीनको चिया उत्पादक क्षेत्रहरूसँग जोडेको छ। तीमध्ये एउटा चीनको युनान प्रान्तको मौलिक ‘पुअर टी’ उत्पादन गर्ने क्षेत्र जुन तिब्बतको ल्हासा हुँदै नेपाल र भारतसँग जोडिएको थियो।

शताब्दीऔँदेखि नेपाली व्यापारीहरूले तिब्बतसँग व्यापारिक सम्बन्ध निरन्तर कायम राख्दै आएका थिए। ल्हासामा काठमाडौंका नेवा व्यापारीहरूको आवतजावत अझ बढी हुन्थ्यो। यी व्यापारिक मार्ग हुँदै कला संस्कृतिसँगै चिया संस्कृति पनि भित्रिएको मानिन्छ। हिमाली क्षेत्रका चियाखेती, पाकशैली र स्वाद अनि विशेषगरी शेर्पा समुदायहरूमा प्रचलित ‘पुअर टी’ (जसमा प्राय नुन र घ्यूसमेत मिश्रित हुन्छ) ले पनि यसमा बल पुग्छ।

डब्लूडब्लूएफ नेपालका अनुसार नेपालमा चिया खेतीको सुरुवात करिब डेढसय वर्षअघि भएको भए तापनि कृषिस्तरमा भने यसको खेती विसं २०३५ सालदेखि भएको हो। पूर्वीक्षेत्रबाट व्यावसायिक चियाखेतीको थालनी भएकामा अहिले प्रायः सबै क्षेत्रमा चियाखेती फैलिँदै गएको छ, जहाँबाट विभिन्न प्रकारका उच्च गुणस्तरका ‘लुज लिफ टी’ उत्पादन हुन्छ।

देशको पूर्वी भागमा अवस्थित इलाम जिल्ला गुणस्तरीय चिया उत्पादन गर्ने नेपालको सबैभन्दा प्रसिद्ध क्षेत्र हो। यहाँ चिसो, ओसिलो हावापानी र समृद्ध माटो छ जुन चिया उत्पादनका लागि उपयुक्त मानिन्छ। यहाँ उत्पादित चिया उच्च गुणस्तर, अर्गानिक, विशिष्ट स्वाद र सुगन्धले विश्वमा परिचित छ। 

एक साधारण पेय मात्रै नभइ मानव जीवनको दैनिकी र संस्कृतिको एक महत्वपूर्ण एवं अभिन्न बनिसकेको चिया जहाँबाट जसरी भित्रिएको भएपनि सबै देशहरूले आ-आफ्नो शैली र स्वादमा ढालेका छन्। चीनमा ग्रीन टी, ब्लाक टी, ओलङ टी, ह्वाइट टी, एल्लो टी र डार्क टीलगायत थुप्रै प्रकारका चिया प्रचलित छन्।

भारतमा मात्रै चियाका पचासभन्दा ज्यादा प्रकार छन्। दर्जनौँ पाकविधि छन्। चिया भारतको सबैभन्दा लोकप्रिय पेयमध्ये एक हो। यहाँ मिल्क टी र ब्लाक टी औधी रुचाइन्छ। विशेषगरी ल्वाङ, सुकुमेल, अदुवा, मरिच, दालचिनी मिश्रित चिया यहाँ पाइन्छ।

थाइल्यान्ड स्वादिष्ट थाई आइस्ड टी एवं ‘चा-येन’ का लागि परिचित छ। मोराक्कोमा ‘हट मिन्ट टी’ र टुअरेग चिया लोकप्रिय छ भने जापानमा ‘माचा’ चर्चित छ। नेपालमा लुज लिफ टी, ब्लाक टी, ग्रीन टी, ओलङ टी र मिल्क टी लोकप्रिय छ।

चिया पेयको रुपमा चलनचल्तीमा छाएको धेरै वर्षपछि टी ब्यागको निर्माण भयो। टी ब्यागको पहिलोपटक निर्माण १९०१ मा अमेरिकी दुई महिला रोबर्टा सी लसन र मेरी म्याक्लारेनले गरेका थिए। उनीहरूले कटनको कपडाको सानोसानो थैलो बनाए र यसमा चियाको धुलो राखेर सिलाए। यसरी उनीहरूले ‘टी लिफ होल्डर’ का नामले पेटेन्ट दर्ता गराएका थिए।

सन् १९०८ मा न्यूयोर्कका चिया व्यापारी थोमस सुलिवानले आफ्ना ग्राहकहरूलाई सानो सिलिकन झोलामा चियाका नमूनाहरू पठाउन थाले। अहिलेको जस्तै पेपर टी ब्याग भने पहिलोपटक बोस्टनको कागज उद्योगमा काम गर्ने विलियम हर्मनसनले आविष्कार गरेका थिए। ती फाइबरबाट बनाइएका थिए जुन उच्च तापमान प्रतिरोधी थिए।

चिया केन्द्रित पहिलो पुस्तक ८औँ शताब्दीतिर चिनियाँ लेखक लु युद्वारा लिखित ‘दि क्लासिक अफ टी’ हो।

विश्वमा चियाको उत्पादन, उपभोग र निर्यातमा चीन सबैभन्दा अगाडि छ। यस्तै चियाको सबैभन्दा ठूलो उपभोक्ता टर्की हो। टर्कीका प्रत्येक नागरिकले वार्षिक लगभग १३ हजार कप (३.१६ केजी) चिया उपभोग गर्छन्।

विश्वमा सबैभन्दा महँगो चिया ‘दा होङ पाओ’ हो। यो एक किलोकै १.२ मिलियन डलर र प्रतिकप २४ सय डलर पर्छ।

आसामको जोरहाट 'टी क्यापिटल अफ दि वर्ल्ड' का रुपमा परिचित छ। यहाँ व्यापक टी गार्डेनहरू छन्।

चिया, पानीपछि मानिसले उपभोग गर्ने सबैभन्दा सस्तो पेय मानिन्छ।

प्राचीन समयमा चिया पिउने बानीलाई स्वस्थकर मानिन्थ्यो। आधुनिक चिकित्सा अनुसन्धानले पनि यो विश्वासलाई वैज्ञानिक आधार प्रदान गरेको पाइन्छ। नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार परापूर्वकालमा चियाको बिरुवा क्यामेलिया सिनेन्सिस औषधिका रुपमा प्रयोग हुँदै आएको थियो।

विश्वको दुईतिहाइ जनसंख्याले उपभोग गर्ने विश्वभर लोकप्रिय पेय चियाको औषधीय फाइदाहरू विभिन्न अनुसन्धानबाट पनि सिद्ध भइरहेको बताइन्छ। स्वास्थ्य अनुसन्धानले पछिल्लो समय चियालाई नयाँ महत्व दिएको छ।

पछिल्लो समय कस्मेटिक्स, अत्तर एवं छाला हेरचाहसम्बन्धी उत्पादनका निर्माताहरूले पनि चियाको प्रयोगबाट नयाँ उत्पादनहरू विकास गरिरहेको बताइन्छ।


प्रकाशित : आइतबार, असोज २७ २०८१०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend