बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
वर्ष २०८०

वैदेशिक रोजगारीका लागि बाहिरिए ७ लाख ८ हजार युवा, ११ प्रतिशत महिला कामदार

म्यानपावरमार्फत ३ लाख ३५ हजार बाहिरिँदा बिदामा आएर फर्कनेको संख्या साढे २ लाख

आइतबार, वैशाख ९ २०८१
वैदेशिक रोजगारीका लागि बाहिरिए ७ लाख ८ हजार युवा, ११ प्रतिशत महिला कामदार

खाडी तथा मलेसिया जाने कामदारका लागि फ्रि भिसा तथा टिकटको नियम भएपनि कार्यान्वयन हुन सकेको छैन।

काठमाडौं-  वर्ष २०८० मा नेपालबाट विश्वका विभिन्न देशमा रोजगारीका लागि ७ लाखभन्दा बढी युवा बाहिरिएका छन्। देशमै रोजगारीको सम्भावना र अवसर नपाएपछि युवाको रोजाइमा वैदेशिक रोजगारी परेको छ।

नेपालबाट खाडी तथा मलेसियाको रोजगारीमा जाने युवाको संख्या ९० प्रतिशतभन्दा बढी रहेको छ।

वैदेशिक रोजगारीमा जाने युवाले भनेअनुसारको सेवा सुविधा पाउँदैनन्। केहीले मात्रै म्यानपावर कम्पनीले भनेअनुसारको सेवा सुविधा पाउँछन्।

खाडी तथा मलेसिया जाने कामदारका लागि फ्रि भिसा तथा टिकटको नियम भएपनि कार्यान्वयन हुन सकेको छैन।

मलेसिया जाने कामदारले तीन लाख रुपैयाँसम्म तिरिरहेका छन् भने खाडी जानेले पनि साढे २ लाख भन्दा बढी रकम म्यानपावर कम्पनीलाई बुझाइरहेका छन्। 

त्यसमाथि पनि वैदेशिक रोजगारीमा जाने कामदारका लागि भन्दै विभिन्न नामको संस्था खडा गरेर आर्थिक भार थप्ने काम रोकिएको छैन।

पछिल्लो सयम २०२४ को जनवरीबाट मात्रै साउदी अरब जाने कामदारमाथि फिंगर प्रिन्टका नाममा ७ सय २० रुपैयाँ आर्थिक भार थप्ने काम भएको छ।  तर देशमा रोजगारीको अवसर नपाएर बाध्य भएर युवा विदेशी भूमीमा पसिना बगाइरहेका छन्।  

वैदेशिक रोजगार विभागका अनुसार वर्ष २०८० मा नेपालबाट वैदेशिक रोजगारीका लागि ७ लाख ८ हजार २ सय ४६ युवा बाहिरिएका छन्।

यो संख्यामा महिला कामदारको संख्या १०.९५ प्रतिशत रहेको छ। वर्ष २०८० मा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिएका महिला कामदारको संख्या ७७ हजार ६ सय ४ जना रहेको छ। 

विभागका अनुसार वर्ष २०८० को चैतमा सबैभन्दा बढी कामदार विदेश गएका छन्। चैतमा मात्रै ७० हजार ९ सय ३३ युवाले वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश जाने गरी अन्तिम श्रम स्वीकृति लिएका छन्।

वर्ष २०८० मा सबैभन्दा कम कात्तिक रहेको थियो। कात्तिकमा ४३ हजार ६ सय २२ जना युवा विदेश गएका थियो। यो महिना दसैँ तथा तिहार पर्व परेको थियो।

नयाँ कामका लागि मात्रै विदेशिए ३ लाख ३५

वर्ष २०८० मा नयाँ कामका लागि म्यानपावरमार्फत ३ लाख ३५ हजार ५६ जना कामदार विश्वका विभिन्न देश पुगेका छन्।  

यसैगरी बिदामा नेपाल आइ पुन: रोजगारीका लागि फर्कनेको संख्या २ लाख २९ हजार ७ सय ३९ जना रहेको छ।

विभागका अनुसार व्यक्तिगत तथा जीटूजीमार्फत रोजगारीका लागि बाहिरिने कामदारको संख्या भने १ लाख २३ हजार ४ सय ५१ जना रहेको छ।

 


प्रकाशित : आइतबार, वैशाख ९ २०८१०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend