बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदिशक रोजगारमा समस्यामा परेका १९२ जनालाई क्षतिपूर्ति, ६ हजार बढीलाई परामर्श

शनिबार, चैत २४ २०८०
वैदिशक रोजगारमा समस्यामा परेका १९२ जनालाई क्षतिपूर्ति, ६ हजार बढीलाई परामर्श

कार्यक्रममार्फत हालसम्म छ हजार छ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ। वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रुपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ।

दमौली- वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाख रूपैयाँभन्दा बढी राहत वितरण गरिएको छ। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन्।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन्।

उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार रूपैयाँ, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार रूपैयाँ, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख रूपैयाँ, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार रूपैयाँ, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार रूपैयाँ, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख रूपैयाँ, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख रूपैयाँ, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार रूपैयाँ, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति पाएका छन्।

तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख रूपैयाँ क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लंघन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए। 

रानाले भनिन्, 'आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो।' सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ।

छ हजार बढीलाई परामर्श

कार्यक्रममार्फत हालसम्म छ हजार छ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ। वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रुपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ।

रानाका अनुसार व्यासका एक हजार चार सय ५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका पाँच सय १७, भिमादका छ सय ७१, बन्दीपुरका तीन सय ९९, देवघाटका तीन सय चार, घिरिङका तीन सय ८३, ऋषिङका पाँच सय ५४ र आँबुखैरेनी गाउँपालिकाका तीन सय २० जनालाई परामर्श सेवा दिइएको छ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ। जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ।

सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनले भने, 'सामी कार्यक्रमलाई अबको आर्थिक वर्षदेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ। यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छाैँ।'

गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए। उनका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या १३ हजार नौ सय ५१ छ। त्यसमध्ये महिलाको सङ्ख्या एक हजार तीन सय ९० छ। 

उनले भने, 'गरिबी र वैदेशिक रोजगारमा आकर्षणले विदेश जानेको सङ्ख्या बढ्दो छ। यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ। नत्रभने पछि समस्या आउन सक्छ।' रासस


प्रकाशित : शनिबार, चैत २४ २०८०१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend