बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६ सयभन्दा बढीबाट करोडौँ ठगी गर्ने पक्राउ

बिहीबार , माघ १८ २०८०
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६ सयभन्दा बढीबाट करोडौँ ठगी गर्ने पक्राउ

ठगी गरेको रकमबाट उनले चार करोड रूपैयाँ व्यक्तिगत ऋण तिरेको, हुण्डाईको क्रेटा गाडीसमेत खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ६ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका-४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ। पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो। 

निजलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। उनले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सय जनाभन्दा बढी व्यक्तिहरुबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

निजले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ। साथै २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० बैशाखमा आफूलाई विकाश वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ। 

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैले हस्ताक्षर गरी बैंक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

उनले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडाका लागि १८ लाख रूपैयाँ, माल्टाका लागि आठ लाख रूपैयाँ, पोल्याण्डका लागि सात लाख रूपैयाँ र क्रोएसियाका लागि छ लाख ५० हजार रूपैयाँका दरले ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनका अनुसार पक्राउ परेका उनले छ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि पाँच लाख रूपैयाँसम्म रकम लिएको देखिएको छ।

उनले ठगी गरेको रकमबाट चार करोड रूपैयाँ व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, बसुन्धारामा ५० प्रतिशत सेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा १५ लाख ५० हजार रूपैयाँ जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख रूपैयाँ ऋण तिरेको तथा ५ लाख रूपैयाँको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , माघ १८ २०८०१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend