बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै : ४६ युवा ठगिए

मंगलबार, माघ १६ २०८०
खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै : ४६ युवा ठगिए

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले एक करोड पाँच लाखभन्दा बढी ठगी गरेको उजुरी परेको जानकारी दिए।

खोटाङ- वैदेशिक रोजगारमा पठाउने बहानामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले एक करोड पाँच लाख १३ हजार रूपैयाँ ठगी गरेको उजुरी परेको जानकारी दिएका छन्।

'वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन्। पीडितको उजुरीमा २३ लाख ४० हजार पाँच सय ठगी भएको उल्लेख छ', उनले भने, 'विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन्। सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट १० लाख ६८ हजार रूपैयाँ रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकिएको छ।'

चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले एक लाख ५० हजार रूपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिएका छन्। वैदेशिक रोजगारीका सिलसिलाका रकम फिर्ता लिनका लागि एजेन्ट र म्यानपावर धाउँदाधाउँदा हैरान भएका पीडितले अन्तिम विकल्पका रूपमा आप्रवासी स्रोत केन्द्रलाई गुहार्ने गरेको जनाइएको छ।

वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेका पीडितसँग आवश्यक प्रमाण नहुनु, ठगी गर्ने अधिकांश जिल्ला बाहिरका हुनुजस्ता कारणले पीडित न्यायबाट वञ्चित भएको स्रोत केन्द्रले जनाएको छ। वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोबार सकेसम्म बैंकिंङ माध्यमबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुने संयोजक राईले जानकारी दिए।

ठगीका नयाँनयाँ शैली प्रयोग हुन थालेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। 'पछिल्लो समय नयाँनयाँ तरिका र प्रक्रियाबाट वैदेशिक रोजगारसम्बन्धी तथा विभिन्न बहानामा ठगीका घटना हुन थालेका छन्। ठगीका घटनालाई न्यूनीकरण गर्न हामीले पनि नागरिकलाई सचेत गराइरहेका छौँ', उनले भने, 'घटना भइसकेपछि मात्र प्रहरीमा जानकारी आउँछ। पीडितसँग आवश्यक प्रमाण नहुँदा समस्या हुने गरेको छ। यसप्रति सचेत हुन आवश्यक छ।'

खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ। वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो। आव २०८०/८१ को पछिल्लो पाँच महिना (मङ्सिरसम्म) मा खोटाङबाट तीन हजार तीन सय ४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

यसमा महिला तीन सय २२ रहेको श्रोत केन्द्रले जानकारी दिएको छ। दश स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार आठ सय ६ जना युवाले श्रम स्वीकृति लिएको पाइएको छ। यसमा आठ सय ३१ महिला छन्। रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend