सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

करछली गरेको पुष्टि भएसँगै २२ लाखको ई सिक्समा उपभोक्ताबाट असुलेको २८ लाख नाफाबारे के हुन्छ?

सोमबार, मंसिर २५ २०८०
करछली गरेको पुष्टि भएसँगै २२ लाखको ई सिक्समा उपभोक्ताबाट असुलेको २८ लाख नाफाबारे के हुन्छ?

साइमेक्सले काठमाडौं बाँसबारीका एक उपभोक्तालाई सीआईपीएल-एसबी-७९/८०-२८ नम्बरको बिल जारी गरी हरियो र सेतो रंगको ई सिक्स ४५ लाख रुपैयाँमा बिक्री गरेको थियो।

काठमाडौं- चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२१/२२ मा आयात गरेको २० वटा ई सिक्समा करछली गरेको पुष्टि भएको छ। भन्सार जाँचपास परीक्षण कार्यालयले साइमेक्सलाई थप कर निर्धारण गरी जरिबानासमेत लगाएर पत्र पठाइसकेको छ। 

बदनियतपूर्ण ढंगले करछली गर्ने र उपभोक्तासँग अधिक नाफा लिएर कार बिक्री गर्ने साइमेक्स इंकमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विगतमा सुरु गरेको अनुसन्धान पुनः गर्ने भएको छ। कर पुष्टिसँगै साइमेक्सले उपभोक्तासँग चर्को नाफा लिएको विषय छानबीन गर्न विगभालाई थप दबाब परेको हो। 

सरकारले विद्युतीय सवारीमा दिएको कर छुटको सुविधामाथि मजाक गर्दै साइमेक्सले ईभीमै करछली गरेको हो। विगतमा मात्र होइन पछिल्लो समय आयात भइरहेका बीवाईडीका एटो थ्री र डलफिन आयातमा समेत साइमेक्सले बदनियत राखेकोबारे बिजनेस न्युजले समाचार प्रकाशित गरिसकेको छ। यसबारे समेत भन्सार प्रशासनले अनुसन्धान सुरु गरिसकेको छ। 

करछली गरेको पुष्टि भएसँगै साइमेक्सले सन् २०१५ मै बनेका पुराना ई सिक्स कारमा अत्याधिक मूल्य राखेर असुलेको अकुत नाफाबारे वाणिज्य विभागले अध्ययन गरेर कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ। 

उपभोक्तासँग लिएको अधिक नाफा

साइमेक्स इंकले एउटै सवारीमा अस्वाभाविक नाफा लिएको पाइएको हो। कम्पनीले भन्सार जाँचपास गरिसक्दा करिब २२ लाख रुपैयाँ परेको विद्युतीय कारको बिक्री मूल्य ५० लाख रुपैयाँ कायम गरेर ५ लाख रुपैयाँ छुट दिँदै ४५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको हो। 

साइमेक्सले एमआरपीमा एउटै कारमा २८ लाख र छुटपछिको मूल्यमा २३ लाख रुपैयाँ नाफा राखेर बिक्री गरेको थियो। साइमेक्सले बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडबाट बीवाईडी ई सिक्स विद्युतीय कार सन् २०२१ सेप्टेम्बर २ तारिखमा १० हजार अमेरिकी डलरमा खरिद गरेको थियो। 

साइमेक्सले ल्याएको बीवाईडी ई सिक्स भन्सार जाँचपास भएर नेपाल प्रवेश गर्दा प्रतिकारको मूल्य २२ लाख २६ हजार ४ सय ५५ रुपैयाँ लागत परेको छ। तर साइमेक्सले सो गाडीको ५० लाख रुपैयाँ बिक्री मूल्य राखेको थियो।

साइमेक्सले सरकारी कार्यालयमा पेस गरेको विवरणमा पनि बीवाईडी ई सिक्सको कुल बिक्री मूल्य ५० लाख रुपैयाँ नै राखेको थियो। यो मूल्यलाई आधार मान्ने हो भने साइमेक्सले बीवाईडी ई सिक्समा २८ लाख रुपैयाँ नाफा राखेको देखिन्छ।  

बिजनेस न्युजलाई प्राप्त एक बिजकका अनुसार साइमेक्सले सो गाडी ५ लाख रुपैयाँ छुट दिएर ४५ लाख रुपैयाँमा बिक्री गरेको थियो। यो आधारमा साइमेक्सले प्रतिगाडी पलर मूल्यका हिसाबमा २३ लाख रुपैयाँ नाफा राखेर बिक्री गरेको देखिन्छ।

अधिक नाफा खान देखाइएको हुँदै नभएको खर्च

साइमेक्स इंकले चीनबाट आयात गरेको ई सिक्स विद्युतीय कारको मूल्य निर्धारण गर्दा हुँदै नहुने खर्चका शीर्षक र हुनेमा दोबरभन्दा बढी खर्च देखाएको पाइएको थियो। 

कार खरिद गरेको सक्कली बिजक पेश गरेपछि भाडा, बीमालगायतका खर्चको विवरण भने आयातकर्ताले जति देखायो त्यति नै (स्वघोषणा)कायम हुने गरेको छ। यसको न त भन्सारले बिजक माग्छ न त पेश गरेको खर्चबारे कार्यालयले क्रसचेक नै गर्छ।

बीवाईडी आयातकर्ता साइमेक्सले सस्तो मूल्यमा कार किनेर भाडा, बीमालगायतबाटै खर्च बढाएको पाइएको थियो।

यी हुन् हुँदै नहुने तर साइमेक्सले देखाएको खर्च विवरण 

- ‘प्रोभिजन फर एक्सचेन्ज रेट फ्लक्चुएसन’ शीर्षकमा १ लाख २० हजार रुपैयाँ

- वायरहाउस चार्ज (ल्हासा) शीर्षकमा २ लाख २० हजार रुपैयाँ

- फ्रि एक्सेसरिज/होमचार्जर शीर्षकमा ७ लाख रुपैयाँ

खर्च हुने तर अत्याधिक खर्च देखाइएका शीर्षक

- रोड फ्रेट तथा बीमा ४ लाख ८५ हजार (लाग्ने औषत २ लाख रुपैयाँ) 

- रसुवा क्लियरेन्स र रसुवा-केटीएम भाडा र बीमा १ लाख ५० हजार रुपैयाँ (लाग्ने अधिकतम २५/५० हजार रुपैयाँ)

- डिलर कमिसन ५ लाख रुपैयाँ (आधिकारिक बिक्रेता साइमेक्सले नै बिजक जारी गरेको तर कमिसन देखाइएको)

- बैंकको ब्याजदर २४० दिनका लागि १२ प्रतिशत बापत १ लाख ६४ हजार ८ सय १ रुपैयाँ

- पीडीआई आफ्टर सेल्स, सर्भर, वारेन्टी र मर्मत खर्च १ लाख २५ हजार रुपैयाँ 

- डेस्टुफिङ एन्ड अनलोडिङ कस्ट ५० हजार रुपैयाँ

कहाँ रोकियो वाणिज्यको अनुसन्धान?

बीवाईडीले अधिक नाफा राखेकोबारे तथ्यसहित समाचार बाहिरिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान सुरु गरेको थियो तर वाणिज्यले भन्सारबाट करछलीको पुष्टि भएको र अन्य केही प्रमाण नजुटेको भन्दै अनुसन्धानलाई थाँती राखेको थियो। 

अब भने भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले साइलेक्सले बीवाईडी ई सिक्स आयात गर्दा करछली भएको पुष्टि गर्दै थप कर निर्धारण गरेर जरिबानासमेत तिर्नुपर्ने निर्णय गरेर साइमेक्सलाई पत्र पठाइसकेको छ। तत्कालीन समयमा बहाना बनाएर अनुसन्धान थाँती राखेको वाणिज्य विभाग भन्सारले साइमेक्सलाई कारबाही गरेपछि आफ्नो क्षेत्राधिकारको विषय अधिक नाफा राखेको बारेमा समेत साइमेक्सलाई कारबाही गर्नुपर्ने दबाबमा परेको छ। 

भन्सारबाट साइमेक्सलाई थप कर निर्धारण गरी जरिबानासहितको कारबाही गरेकाले अब यो विषयमा विभागले पनि अध्ययन गरेर कारबाही गर्न काम थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग स्रोतले जनाएको छ। भन्सार जाँचपास परीक्षण कार्यालयबाट कारबाहीको पत्र मगाएर यसबारे अनुसन्धान सुरु गर्ने विभागको भनाइ छ। 

यता बीवाईडी बिक्रेता साइमेक्सले भने २०१५ बनेको ई सिक्स १० हजार डलरमा ल्याएर उपभोक्तालाई बिक्री नगरेको जिकिर गर्दै आएको छ। तर साइमेक्सले उक्त ई सिक्स उपभोक्तालाई बिक्री गरेको बिजक बिजनेस न्युजसँग छ। साइमेक्सले काठमाडौं बाँसबारीका एक उपभोक्तालाई सीआईपीएल-एसबी-७९/८०-२८ नम्बरको बिल जारी गरी हरियो र सेतो रंगको ई सिक्स ४५ लाख रुपैयाँमा बिक्री गरेको थियो। 

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१७:२१
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend