काठमाडौं- सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ। सुदूरपश्चिमको महत्वपूर्ण मानिएको आयोजनामा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सम्झौता भएको हो।
सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारीपत्र साटासाट गरे। तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी महत्वपूर्ण सम्झौता भएको छ।
नेपालले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनसमेत सकिसकेको उक्त परियोजना कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा निर्माण हुनेछ।
सरकारले सुदूरपश्चिम प्रदेशको दोधारा चाँदनी नगरपालिका, कञ्चनपुरमा दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँचचौकी निर्माणको कामका लागि प्रक्रिया अगाडि बढाएको छ। वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भएसँगै आयोजनाको निर्माणको प्रक्रिया अघि बढेको हो।
सरकारले सुदूरपश्चिम प्रदेश र भारतबीचको व्यापार र यातायात पूर्वाधार विकासका लागि सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण प्रस्ताव गरेको थियो। नेपाल इन्टरमोडल यातायात समिति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रस्तावक रहेर तयार पारिएको वातावरणीय रिपोर्ट वन तथा वातावरण मन्त्रालयमार्फत स्वीकृत भएको हो।
दोधारा चाँदनी सुक्खा बन्दरगाहरएकीकृत जाँचचौकीको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। नेपाल भारत अन्तरदेशीय व्यापारमा काँकरभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्जजस्तै सुदूरपश्चिम प्रदेशमा यो पहिलो आयोजना तथा व्यापार केन्द्र हुनेछ।
समितिले सुक्खा बन्दरगाह महत्वपूर्ण विकास आयोजना बन्ने सम्भावना रहेको बताएको छ। दोधारा चाँदनी सुक्खा बन्दरगाहरएकीकृत जाँचचौकी आयोजनादेखि दिल्लीसम्मको दुरी लगभग २४५ किमि रहेको छ।
त्यसैगरी गुजरात करिब १२०० किमि रहेको छ। यस सुक्खा बन्दरगाहले भारतका पश्चिमी राज्यहरू दिल्ली, राजस्थान, गुजरात, उत्तराखण्ड, पञ्चाब, हरियाणा आदि राज्यको नजिक र सहज व्यापार सुविधामा वृद्धि हुने समितिको भनाइ छ। दोधारा चाँदनी सुक्खा बन्दरगाहरएकीकृत जाँचचौकी निर्माण आयोजनाले नेपालको पश्चिमी नाकालाई जोड्ने छ।