शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

फलफूल पकाउन हानिकारक विषादीको प्रयोग गर्ने जुस सेन्टरलाई कारबाही

images
बिहीबार , जेठ १८ २०८०
images
images
फलफूल पकाउन हानिकारक विषादीको प्रयोग गर्ने जुस सेन्टरलाई कारबाही

उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ।

images
images

भरतपुर- भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ।

images
images
images

क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ। बुधबार महानगरपालिकाले विभिन्न पसलमा अनुगमन गरेको थियो। उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ। भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐनअनुसार नै कारबाही गर्ने तयारी गरेको छ।

images
images

मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर-१० का वडाध्यक्ष परमेश्वर खनालले बताए। उक्त पसललाई खाद्य ऐनअनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए। बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो।

images
images
images

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफूल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताए। अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐनअनुसार कारबाही हुने उनले बताए।

यस्तै भरतपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्न जस्तो संवेदनशील वस्तुको व्यवस्थापनमा लापरबाही गरेको अनुगमनमा भेटिएको छ। अनुगमनका क्रममा बिग्रिएको निउरो र साग फेला परेको वडाध्यक्ष खनालले बताए। बिग्रिएको एक/एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो।

त्यस्तै भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ। नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको खनालको भनाइ छ।

अनुगमन टोलीले भाटभटेनीको गोदाम कक्षको पनि निरीक्षण गरेको थियो। गोदाममा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको तथा अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताए। 'खाने चिज अत्यन्तै अव्यवस्थित र केही कुहिएको पनि भेटियो', उनले भने, 'अर्कोतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर बिक्री गरेको पायौँ।'

यस्तै अनुगमनका क्रममा केही मासु पसलमा एक महिना अघिसम्मको मासु बिक्रीका लागि भेटिएको थियो भने अस्पताल अगाडिका चमेनागृहमा फोहर र खानेकुरा नछोपी राखेको तथा मूल्य सूचीसमेत नराखेको पाइएपछि सचेत गराइएको छ। अनुगमनमा महानगरको अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेल, पशुसेवा शाखाका अधिकृत शिव अर्याल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाललगायतको सहभागिता थियो। रासस 


प्रकाशित : बिहीबार , जेठ १८ २०८००८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend