काठमाडौं- नेपाल र भारतबीचमा अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणमा क्रस बोर्डर डिजिटल भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
दुई देशमा अनुमति प्राप्त डिजिटल वालेटहरूले एक अर्को देशमा निर्वाध सञ्चालनका लागि सम्झौता भएको हो। हालको व्यवस्थाअनुसार क्रसबोर्डर भुक्तानीमा वालेट तथा क्यूआर भुक्तानीलाई मान्यता दिइएको छैन।
भारतीयहरू नेपाल आउँदा आफ्नो त्यहीको वालेटबाट सिधै नेपालमा क्यूआर गरेर भुक्तानी गर्न सक्ने र त्यस्तै नेपाली वालेट प्रयोगकर्ताहरूले पनि भारतमा गएर सिधै त्यसैगरि भुक्तानी गसक्ने व्यवस्थासहितको सम्झौतामा आज हस्ताक्षर भएको हो।
योसँगै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहज हुने भएको छ। अहिले नेपालमा ठूला दरका नोट नचल्ने र साना दरका नोट धेरै बोक्न झन्झट रहेको छ।
बैंकिङ तथा कार्डका उपकरण पनि झन्झटरहित छैनन्। भारतीय वालेटबाट सिधै नेपाली मर्चेन्टमा भुक्तानी गर्नसक्ने अवस्था भएमा भारतीय पर्यटकलाई नेपालमा खर्च गर्न सहज हुनेछ।
भारतको एनपीसीआई इन्टरनेसनल तथा नेपालको नेपाल क्लियरिङ हाउसबीचमा सम्झौता भएको हो। यो सम्झौतासँगै यी दुई कम्पनीले एक अर्को देशमा काम गर्नेछन्।