शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

images
शनिबार, जेठ १३ २०८०
images
images
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ।

images
images

पोखरा- पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।

images
images
images

बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए।

images
images

उनका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ। फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताए।

images
images
images

कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा संकट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उनको भनाइ छ। बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले फेवा माथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन सोका लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे। यसअघि फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि बढिरहेकाले त्यसलाई रोकेर सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले रोक्न माग गरेको थियो। रासस


प्रकाशित : शनिबार, जेठ १३ २०८००५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend