शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

घाँस खेतीबाटै राम्रो आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ३ २०७९
घाँस खेतीबाटै राम्रो आम्दानी

यसमा लागिरहेकाहरू दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घाँस खेती गर्न सुझाव दिन्छन्।

त्रिवेणी- गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गरेका उनले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन्। 

श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर उनले  व्यावसायिक घाँस खेती गर्दै आएका हुन्। गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उनले घाँस खेतीसहित उखु, गिठ्ठा लगाएका छन्।

व्यावसायिक घाँस खेतीमा लागेका उनले यस खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन्। वार्षिकरुपमा घाँस बिक्रीबाट २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ रहेको छ। कृषक भट्टले घाँससहित घाँसका बिरुवासमेत बिक्री गर्दै आएका छन्। 'घाँस खेतीबाट राम्रै आम्दानी छ, थोरैबाट यसतर्फ लागे अहिले क्षेत्र विस्तार गर्दै गएको छु', उनले भने, 'घाँससहित घाँसका बिरुवाको बिक्रीसमेत राम्रो नै छ।'

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिद गरी लैजाने गरेको उनले बताए। घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजाने गरेको कृषक भट्टले बताए। घाँस बिक्रीमा खासै समस्या नभएको उनको भनाइ रहेको छ। जिल्लाका पशुपालक कृषक घाँस लगाएको खेतमै आएर घाँस खरिद गरी लैजाने गरेको बताए। 

उनले  सुपर नेपियर, मलाटो, नेपियरलगायतका घाँस खेती गर्दै आउनुभएको छ। घाँस प्रतिकेजी ६ रुपैयाँ प्रतिकेजी र घाँसका बिरुवा प्रजाति हेरि प्रतिबिरुवा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको भट्टले बताए। हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिने गरेको उनको भनाइ रहेको छ। 

घाँस पशुपालक किसानका लागि  अतिआवश्यक भएकाले आफूले सबै जसो किसानलाई घाँसखेती गर्न उत्प्रेरित गर्ने गरेको उनले बताए। घाँस लगाउँदा पशुपालक किसानका लागि दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घाँस खेती गर्न सुझाव दिने गरेको किसान भट्टको भनाइ छ। परालभन्दा समेत सस्तो हुने र हरियो घाँसमा पोषक तत्वसमेत कायम रहने हुँदा यो पशुपालक किसानका लागि लाभदायक हुने उनले बताए। 'दाना तथा परालको विकल्प घाँस हुन्छ, यसले एकातर्फ पशुलाई पोषिलो आहारा प्राप्त हुन्छ, अर्कोतर्फ उत्पादन लागत घटेर, आम्दानी बढ्छ', उनले भने, 'यसकारण मैले पशुपालक किसानले घाँस खेती गरुन् भन्ने चाहन्छु।' 

कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले  कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गरे। धेरैभन्दा धेरै कृषिमा लाग्ने युवा तयार पारी उत्पादन वृद्धि गर्ने योजनाका साथ काम गर्नुपर्ने उनको धारणा रहेको छ।

उनले घाँस खेतीसहित पाँच बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आएका छन्। चार वर्षअघि १० लाख रुपैयाँको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताए। एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उनको भनाइ छ। जमिनमुनि र माथि लहरामा समेत फल्ने भएकाले उत्पादन राम्रो भएको कृषक भट्टले बताए। उत्पादित गिठ्ठा स्थानीय बजारसँगै, चितवन, पोखरा, काठमाडौँलगायतका सहरमा बिक्री हुँदै आएको उनले जानकारी दिए। रासस  


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend