बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आरन चलाएर गुजारा

आइतबार, असोज २३ २०७९
आरन चलाएर गुजारा
फाइल तस्बिर

उनलाई आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ। उनका  बुबा पनि आरनकै काम गर्दथे।

बेदकोट- कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ।  झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन्। कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन्। तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त-६ का ६६ वर्षीय विष्णु लुहार।

उनले आरनको काम गर्छन्। उनले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन्। उनी घरबाट बिहानै आरनमा आउछन् र बेलुका राति मात्रै घर फर्किन्छन्। आरनमा उनलाई  काम गर्न भ्याइनभ्याई छ। यही पेसाबाट उनले छोरा-बुहारी, नातिनातिनासहित १० जना परिवार पालेका छन्। 'आरन चलाएर परिवार पालेको छुँ, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ', उनले भने, 'घरखर्च पनि राम्रै चलेको छ।'

उनलाई आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ। उनका  बुबा पनि आरनकै काम गर्दथे। सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिक्नुभयो, उनले भने। अहिले त्यही सीपको उपयोग गर्दै विष्णुले पनि आफ्नो परिवार सुखका साथ पालिरहेका छन्।

विष्णुका बुबा विसं २०२४ मा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए। बचालमा आरन चलाउने उनीहरुले तराई (बनगाउँ) मा पनि त्यही काम थाले। बुबालाई आरनमा सघाउने उनले पहाडमै काम सिकिरहेका थिए। तराईमा बुबासँग काम गर्दा उन झनै काममा निपुण भए। 

विष्णुले सानै उमेरमा बुबालाई गुमाउँदा परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो। त्यसका लागि उनले पनि आरनलाई नै निरन्तरता दिए। 'अरू काम गर्नका लागि पढेको थिएन। कि त भारत नै जानु पर्थ्यो। तर म भारत गइनँ', उनले भने, 'बुबाको कामलाई नै निरन्तरता दिए। काम गर्दै जाँदा कृषकहरुले पनि काम मन पराए।' बुबासँग आरनमा लडिबडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने स्रोत बन्यो। त्यसैले उनले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नु परेन।  

उनीसँगैका साथीहरु कामका लागि अहिले पनि भारतमा छन्। उन स्वदेशमा नै पौरख गरिररहेका छन्। उनी भन्छन्, 'भारतमा गएर मैले पनि १३ दिन काम गरेँ। तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन, त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छुँ।' फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरुलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उनले बताए। भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इन्जिनियर बनेको हेर्ने चाहना छ, विष्णुको। 

आरनबाट हुने कमाईमा उनी सन्तुष्ट छन्। 'कहिले दिनमा एक/दुई हजार। कहिले पाँच/छ सय कमाई हुन्छ। कृषकहरुले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्', उनी बताउँछन्। उनले छोराहरुलाई पनि रोजगारीमा लगाएका छन्। एक छोराका लागि अटो किनिदिएका छन् भने अर्का छोरालाई खेतीपातीको काममा लगाएका छन्। विष्णुले कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गर्छन्। 

आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरु आउने गरेको उनी सुनाउँछन्। 'टाढाटाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउनुहुन्छ', उनले भने, 'आउने ग्राहकलाई खुसी बनाएका कारण ज्यालाभन्दा बढी पैसा दिएर जानुहुन्छ।' काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ।

जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ। 'धेरै काम आइरहेको छ। तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,' उनले भने, 'जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन।' रासस


प्रकाशित : आइतबार, असोज २३ २०७९०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend