बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्की आरोही नेल्सन मृत फेला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १२ २०७९
स्की आरोही नेल्सन मृत फेला
सांकेतिक तस्बिर।

गोरखा- उत्तरी गोरखाको मनासलु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन्। अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन्।  

नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिए। 'आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ', उनले भने।

काठमाडौँको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका छन्।

हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन्। नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गरेका थिए।

आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ। अमेरिकाको सियाटलमा जन्मिनुभएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो। सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन्। रासस


प्रकाशित : बुधबार, असोज १२ २०७९१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend