बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

असनमा मौलिक संस्कृतिको खोजी

बुधबार, असोज १२ २०७९
असनमा मौलिक संस्कृतिको खोजी

नयाँ पुस्ता परम्परागत काम छोडेर आधुनिकतातिर ढल्कँदा काठमाडौँ उपत्यकाको मुख्य सहरी क्षेत्र असन, इन्द्रचोकका नेवारको मौलिकता नै खतरामा परेको छ।

काठमाडौ‌ं- देवीदेवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ। पूजामा बस्दा लगाउने मौलिक कपडा पनि सिन्दुराकार जातिले बनाउँथे। शिलाकार थरका नेवार समुदायले ढुङ्गाबाट मूर्ति, चैत्यलगायत मौलिक सांस्कृतिक चीजबीज निर्माण गर्थे। शिलाकार समुदाय पनि अहिले अरू नै पेसा व्यवसायमा आकर्षित भएको उदाय् समाजका महासचिव रजनी ताम्राकारले राससलाई जानकारी दिए।

उदाय् समाजमा नेवार समुदायका नौ थर छन्। जसमा सिन्दुराकार, शिलाकार, तुलाधर, स्थापित, ताम्राकार, बनियाँ, सिलालिक, सिख्राकार र कंसाकार हुन्। स्वयम्भूमा १२/१२ वर्षमा आयोजना गरिने सम्यक् महादानमा उदाय् समाजका नौ थरले एक/एक जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ। तुलाधर समुदाय असन र नरदेवीमा छन्। 

पहिले ल्हासाबाट काठमाडौँमा गरिने व्यापार तुलाधर समुदायले गर्ने गरेका थिए। स्थापितले भने अहिले पनि काठको काम गरिरहेकै छन्। यद्यपि पहिलेका तुलनामा अहिले परम्परागत काम गर्ने स्थापित समुदाय कम हुँदै गएका छन्। मौलिक, सांस्कृतिक महत्वका परम्परागत काममा आकर्षण नहुँदा युवा पुस्ता अन्य काममा लाग्ने गरेको उदाय् युवा पुचः की कोषाध्यक्ष स्वस्तिहीरा सिख्राकार बताउँछिन्।

'युवालाई मौलिक कलाले भरिपूर्ण काममै फर्काएर संस्कृति संरक्षणका लागि तीन वर्षअघि युवा पुचः को स्थापना गरेर विभिन्न गतिविधिमा संलग्न भएका हौँ, मौलिकता युक्त हाम्रा कामबाट हाम्रो समुदाय बाहिरिनु हुन्न भनी युवा पुस्तामा चेतना एवं जागरण फैल्याउने काममा हामी लागेका छौँ', उनले भनिन्।

नौ थरमध्येको बनियाँले आयुर्वेदिक औषधि बनाउँथे। यो समुदायले पनि परम्परागत काम छोडेर अहिले व्यापार व्यवसायतिर आकर्षित भएका छन्। जसका कारण आयुर्वेदिक औषधि बनाउन यो समुदायले पुस्तौँदेखि प्राप्त गरेको अनुभव अन्त्य भएको छ। नयाँले बनाउँदा कति गुणस्तरीय आयुर्वेदिक औषधि बन्ला भन्ने प्रश्न खडा भएको छ।

सिलालिक समुदायले रोटी, मिठाई बनाउँथे। काठमाडौँको पुरानो सहरमा यिनै समुदायका मिठाई पसल हुन्थे। १२ वर्षमा स्वयम्भूमा गरिने सम्यक् दानमा पनि सिलालिक समुदायले नै रोटी, मिठाईलगायत सामग्री बनाउनुपर्ने नियम भने अहिले पनि यथावत् छ। अहिले सिलालिक थर लेख्ने समुदाय नै कम भइसकेको समाजका महासचिव ताम्राकार बताउँछन्।

'सिलालिक समुदायले रोटी, मिठाईमात्र बनाउन छोडेनन्, आफ्नो थर नै तुलाधर लेख्न थाले, जसका कारण अहिले सिलालिकको जनसङ्ख्या कम छ, अहिले धेरैमा ११ घर जतिले मात्र सिलालिक थर लेख्ने गरेका छन्', उनले भने।

नयाँ पुस्ता परम्परागत काम छोडेर आधुनिकतातिर ढल्कँदा काठमाडौँ उपत्यकाको मुख्य सहरी क्षेत्र असन, इन्द्रचोकका नेवारको मौलिकता नै खतरामा परेको छ। मौलिकता जोगाउने उद्देश्यले समाजले विभिन्न गतिविधि अघि बढाएको छ। उदाय् समाजले नौवटै जातिका परम्परागत पेसा र बनाउने गरेका मौलिक, सांस्कृतिक चीजबीज सङ्ग्रह गरेर सङ्ग्रहालयको स्थापना गरेको छ।

नौ थरी नेवारी समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि विसं २०७२ मा उदाय् सङ्ग्रहालय स्थापना भएको हो। नौ थरीका परम्परागत पेसा, व्यवसाय संरक्षणका लागि ३० वर्षअघि उदाय् समाज गठन गरिएको थियो। अहिले असन क्षेत्रको मौलिक संस्कृतिको खोजी गर्न चाहनेहरु उदाय् समाजको कार्यालय पुग्ने गरेका छन्।

तामाको भाँडा बनाउने ताम्राकार समुदायमा पनि अहिले यो पेसा गर्ने कमै भेटिन्छन्। यो समुदायले १२ वर्षमा स्वयम्भूमा हुने सम्यक् दान पर्वमा पयँता बाजा बजाउने गर्छन्। ताम्राकार समुदायबाट बाजा बजाउनेलाई समेटेर पयँता बाजा खल : गठन गरिएको हुन्छ। तिनले यो बाजा सम्यक् दानका समयमा मात्र बजाउँछन्। अरू समयमा यो बाजा बाहिर निकाल्न नहुने जनविश्वास रहेको छ।

मन्दिर, चैत्य एवं घर, भवनको गजुर तथा छाना निर्माण गर्ने सिख्राकार समुदायले पनि अहिले यो काम छोडिसकेका छन्। नौ थरी नेवार समुदायमध्येको कंसाकार समुदायले काँसका थाल, कचौरालगायत सामग्री बनाउँथे। यो समुदायले पनि अहिले परम्परागत काम छोडिकसकेको छ। काँसका भाँडा राम्रो मानिन्छ। अहिले सिलाबर र स्टिलका सामानले बजार पिटेको छ।

उदाय् समाजले सिख्राकार, कंसाकार, ताम्राकारलगायत नौ थरी नेवार समुदायलाई पुरानै पेसामा स्थापित गराएर मौलिक संस्कृति संरक्षण गर्ने जनाएको छ। यसका लागि नौ थरी समुदायमै जागरणका काम भइरहेका छन्। रासस


प्रकाशित : बुधबार, असोज १२ २०७९०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend