बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हवाई उड्डयनसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

शुक्रबार, असोज ७ २०७९
हवाई उड्डयनसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

मिलको कुल क्षमता २० हजार टन वार्षिक रहेकाले हिउँदे धानमा करिब चार हजार बीघा तथा चैते धानमा एक हजार दुई सय बीघाका किसानलाई सहभागी गराउने लक्ष्य छ।

बेलबारी- नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुन् बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत। उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल छन्। अब उनी वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा देखिन्छन्।

१६ वटा निजी जहाजका मालिक बस्नेत हिजोआज कृषकसँगै खेतबारीमै भेटिन्छन्। मोरङको बेलबारी-९ मा बस्नेतले २०६९ सालमा नै ‘नेपाल कृषि कम्पनी स्थापना गरेका थिए। पछि २०७७ सालमा नाम परिवर्तन गरेर हाल नेपाल कृषि केयरमार्फत उनको कृषि फर्म सञ्चालनमा छ। 

फर्म क्षेत्रसँगै आरजु राइस मिल सञ्चालनमा आउने तयारीमा छ। अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै ५० करोड रुपैयाँ लगानी भइसकेको र उक्त धान मिल मङ्सिर महिनादेखि सञ्चालनमा आउने मिलका व्यवस्थापक विवेकानन्द झाले बताए। मिलले मोरङका विभिन्न ठाँउबाट कृषकले उत्पादन गरेको धानलाई कात्तिक महिनादेखि खरिद गर्न सुरु गर्ने झाले जानकारी दिए। 

उक्त मिलमा अहिले उपकरण जडानको कार्य अन्तिम चरणमा भइरहेको छ। मिलले कृषकसँग धान सिधै खरिद गर्नेछ। मिलले मोरङ र आसपास जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्ड दिएर नेपाली बजारमा पठाउने लक्ष्य राखेको व्यवस्थापक झा बताए। उनका अनुसार मिलको कुल क्षमता २० हजार टन वार्षिक रहेकाले हिउँदे धानमा करिब चार हजार बीघा तथा चैते धानमा एक हजार दुई सय बीघाका किसानलाई सहभागी गराउने लक्ष्य छ।

हाल उक्त फर्ममा दर्जनभन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ। बङ्गलादेशबाट ल्याइएको विआरआरआई ७५, विआरआरआई ८५, रबी धान, बिना धान, पाकिस्तानबाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पञ्जाब बासमती, भारतबाट ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पिआर १२८, मराठी जीरा, पिआरआई १२६ र  नेपाली धानमा पहाडे बासमती, हर्दिनाथ हाइब्रिड १, बहुगुणी १ आदि उन्नत जातका लगाइएको व्यवस्थापक झाले जानकारी दिए।

आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ। भण्डारण गर्ने ढवाङहरू साढे तीन हजार मेट्रिक टनका छन्। त्यहाँ सबैभन्दा ठूलो लगानी प्रविधिमा गरिएको छ। स्थानीयस्तरमा यति ठूलो लगानीमा राइस मिल खुलेकाले कृषक र स्थानीयवासी हर्षित रहेको बेलबारी-९ का वडाध्यक्ष शालिकराम बस्नेतले बताए। मिल खुलेसँगै कृषकले धानको उचित मूल्य पाउने भएपछि आफूलगायत सिङ्गो नगर हर्षित रहेको उनको भनाइ थियो। 


प्रकाशित : शुक्रबार, असोज ७ २०७९१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend